अपरेशन नहुँदै ऋण गरेको पैसा सकिन लागेपछि चिन्तामा परे प्रदीपकुमार

अपरेशन नहुँदै ऋण गरेको पैसा सकिन लागेपछि चिन्तामा परे प्रदीपकुमार

इटहरी : सिराहा वसन्तपुरका प्रदीपकुमार राम एक महिनादेखि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा खुट्टाको अपरेसन गराउने पालो पर्खेर बसेका छन्।

मोटरसाइकल दुर्घटनामा खुट्टा भाँचिएर प्रतिष्ठान पुगेका उनी हाडजोर्नी वार्डको १३ नम्बर बेडमा छन्। तर, उनले अझै उपचार पाएका छैनन्। 

अपरेसन गर्ने खर्च सकिएला भनेर प्रदीपकुमारलाई निक्कै हतारो परेको छ। उनले उपचारका लागि सयकडा ३ रुपैयाँका दरले ऋणमा ल्याएको पैसाको बिटो पातलो हुँदै गएको छ। अपरेसनको शुल्क तिरे पनि स्टिल लगायत सामग्री महँगो पर्ने भएकाले ल्याएको पैसाले नपुग्ने हो कि भन्ने चिन्तामा छन् उनी।  

डाक्टरको समय नमिल्दा उनको अपरेसनको मिति लम्बिइरहेको छ। पछिल्लो समय अपरेसन अगाडि कोरोना परीक्षण गर्नुपर्ने नियम छ। अहिलेसम्म ३ पटक कोरोना परीक्षण गरेका उनको नेगेटिभ रिपोर्ट आइसक्यो। माघ ९ गते मिति तोकिए पनि पिसिआर परीक्षणको रिपोर्ट ढिला आएकाले उनको अपरेसन हुन सकेन।

सोमबारको मिति तोकिए पनि अझै ढुक्क छैनन् प्रदीपकुमार। यसअघि ३ पटक अन्तिम समयमा अपरेसन नभएको उनले सुनाए।  

‘डेढ लाख लिएर आएको ५० हजारको खाना मात्रै खाइयो। औषधीको कुरै छाडौँ। बुबा म र अर्को एउटा भाइ बसेका छौ। खाना र औषधी  धेरै महँगो पर्यो। के गर्ने के नगर्ने,’उनले भने,‘चाडै अपरेसन भएको भए ५० हजारमा सबै उपचार हुन्थ्यो।’

मोटरसाइकल दुर्घटनामा परेर प्रदीपकुमारको खुट्टा भाँचिएपछि उनको परिवारको आम्दानी गुमेको छ। समयमै अपरेसन भए चाडै कमाउन जाने हुटहुटीमा छन् प्रदीपकुमार। तर उनले सोचेजस्तो भएको छैन। अहिले खुट्टामा फलाम झुन्ड्याएका उनको काँधमा ऋणको भार बढ्दै गएको छ।

१० माघ, २०७८, ०८:३७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।