नेपाली फिल्मको डामाडोल बजार: आफ्नैले गर्छन् घात, अन्तर्राष्ट्रिय बजारको के आश !

नेपाली फिल्मको डामाडोल बजार: आफ्नैले गर्छन् घात, अन्तर्राष्ट्रिय बजारको के आश !

काठमाडौं: कोरोनाको संक्रमणका कारण लामो समय बन्द भएका फिल्म हलहरुमा अचेल दर्शकको भीड बाक्लिँदै गएको छ। पछिल्लो समय रिलिज भएका केही विदेशी फिल्म हेर्न हलमा पुगेका दर्शकले उनीहरु हलमा आउन तयार रहेको सन्देश दिएका छन्। तर त्यही दृष्य नेपाली फिल्मका हकमा भने अझै देखिएको छैन।

युट्युबमा आएका नेपाली फिल्मको भ्युज हेर्ने हो भने नेपाली फिल्मप्रतिको क्रेज अझै छ है भन्ने देखिए पनि त्यही क्रेज हलमा भने देखिँदैन। युट्युबमा २०औँ लाख दर्शक पाएको फिल्म हलमा भने एक लाख पनि दर्शक नआइदिँदा व्यापार चौपट भएको छ।

कोरोनापछि रिलिज भएका आधा दर्जन फिल्मले पानी पनि भन्न पाएनन् हलमा। कुन फिल्म कहिले लागे अनि कहिले उत्रिए दर्शकले पत्तै पाएनन्। 

यस्तो किन भइरहेको होला? के नेपाली फिल्ममा दर्शकलाई हलसम्म तान्न सक्ने कन्टेन्ट नभएकै हो त? दर्शक नेपाली फिल्मबाट अघाएकै हुन् त? 

हलमा दर्शकको अवस्था हेर्ने हो भने माथिका तीनै प्रश्नको उत्तर 'हो' आउँछ। तर युट्युब क्रेज हेर्ने हो भने उत्तर आउँछ, 'हैन'। नि:शुल्क उपलब्ध हुने डिजिटल प्लेटफर्म र हलमा आउने दर्शकको संख्यामा यति ठूलो खाडल किन होला?

हलको अवस्था र सामाजिक सञ्जालको अवस्थामा किन यत्तिको भिन्नता त? हाम्रा मेकर र दर्शकबीच केले यत्रो खाडल बनायो?
'छक्का पञ्जा' टीम, 'कबड्डी' टीम, 'जात्रा' टीम, 'पशुपति प्रसाद' टीम लगायतका केही सीमित कलाकार, निर्देशक र निर्माताका सिनेमाले हलमा राम्रो संख्यामा दर्शक पाएका हुन्।

बलिउडपछि टलिउड र कलिउडको मार
धेरैजसो नेपाली युट्युबको ट्रेन्डिङमा रहेका फिल्महरु हेर्ने हो भने पछिल्लो समय दक्षिण भारतीय फिल्महरु देखिन्छन्। पछिल्लो समय टलिउडका अभिनेता अनि अभिनेत्रीको क्रेज बढ्दै छ फिल्मका पारखीहरुमा। 

युट्युब हुँदै दर्शकसम्म पुगेको दक्षिण भारतीय फिल्मको प्रभाव बढेर अब हिन्दीमा डब भएको फिल्म नेपालको हलमा रिलिज हुँदा बम्पर व्यापार गर्न थालेका छन्।

भाषाका कारण गुमनाम अभिनेताहरु नेपाली दर्शकको मुख-मुखमा झुण्डिसके। हिजो हाम्रा कलाकारहरुले सलमान खान, आमिर खान, रणवीर कपुर अनि रणवीर सिंह, करिना कपुर, कटरिना कैफ, आलिया भट्ट लगायतका भारतीय कलाकारसँग प्रतिस्पर्धा गर्नु परेको थियो।

अहिले पनि उनीहरुको क्रेज त छ नै। सँगै अब अल्लु अर्जुन, प्रभास, रामचरण, विजय अनि महेश बाबुसँग पनि प्रतिस्पर्धा गर्नुपर्ने दिन आएका छन्। नेपाली हलमा अब उनीहरुको नामैले फिल्म चल्न थालेका छन्। 

एक त सस्तोमा फिल्म ल्याउन सकिने अनि मज्जाले व्यापार पनि हुने भएपछि कोरोनाकालमा भएको आर्थिक क्षति पूरा गर्न प्रयासरत फिल्म वितरकहरु अहिले दक्षिण भारतीय फिल्मतिर लागेका छन्।

चलचित्र वितरक गोपालकाजी कायस्थ नेपाली सिनेमाले अबका दिनमा हलहरु पाउन मुस्किल भएको तर्क गर्छन्। कायस्थका अनुसार बलिउडका निश्चित कलाकारका सिनेमाको प्रभाव रहेको नेपाली बजारमा पछिल्लो समय टलिउड र कलिउडका फिल्मले बाजी मारिरहेको छ। नेपाली दर्शकमा मल्यालम, तमिल र तेलगु कलाकारको क्रेज बढ्दो छ।

‘टलिउडमा २०/२२ जना सुपरस्टार छन्। तिनका हरेक फिल्म नेपाली दर्शको रोजाइमा छन्’ कायस्थ भन्छन्, ‘यो खुला अर्थतन्त्र नीति भएको देश हो। कि सरकारले कोटा सिस्टम ल्याउनु पर्यो। होइन भने नेपाली सिनेमाले अब हल पाउन गाह्रो छ। हामीले बजार हेर्ने हो। बजार जे खोज्छ हामी त्यतै तानिने हो।’

कायस्थले कोटा सिस्टम लगाउनुपर्ने माग राखे पनि हाम्रो अर्थतन्त्र नीति सहज छैन।

‘कोटा सिस्टम भन्नाले वर्षमा निश्चित सिनेमा ल्याउने। त्यो पनि सरकारले तोकिदिएको मापदण्ड अनुसार। त्यसो गर्न सकियो भने कलिउड र टलिउडको प्रभाव रोक्न सकिएला। नत्र हाम्रो चलचित्र उद्योग खस्किँदै जानेमा दुई मत छैन,’ कायस्थले उकेरासँग भने।

अब नेपाली सिनेमा उद्योगलाई बचाउने हो भने अन्तर्राष्ट्रिय बजारसँग प्रतिस्पर्धा गर्नुको विकल्प नभएको उनको तर्क छ। राजेश हमाल, रेखा थापा, विराज भट्ट, निखिल उप्रेतीकै पाराका सिनेमा बनिरहेकाले पनि नेपाली सिनेमाले हल नपाइरहेको कायस्थको दावी छ।

‘समय अनुसार चल्न सक्नुपर्यो नि। अन्तर्राष्ट्रिय बजारलाई हेरेर सिनेमा बनउन पर्यो। हाम्रोमा विदेशी सिनेमाको बजार छ भने हाम्रो सिनेमाको बजार चाहिँ विदेशमा किन हुन सक्दैन?’ कायस्थ भन्छन्, ‘हाम्रा सिनेकर्मी आफ्नो क्षेत्रलाई माया नै गर्दैनन्। उनीहरुमा आफ्नो कामप्रति लगाव नै छैन। प्रेम नै छैन। मुर्गा बनाउन लागिपरेका छन् सबै एकअर्कालाई। यो नै हाम्रो समस्या हो।’

अन्तर्राष्ट्रिय बजारमा आश, भइहाल्नु पर्दैन निराश
विदेशमा बस्ने विभिन्न समुदायका नेपाली दर्शकलाई रोइकराई गरेर देखाई चलचित्रको लगानी उठाउनुपर्ने बाध्यात्मक परिस्थितिमा नेपाली सिनेमा अन्तर्राष्ट्रिय बजारमा जाने कुरा आफैंमा धेरै ठूलो कुरा हो।

कोरोनाको विषम अवस्थामा बनेका नेपाली चलचित्रहरुले विदेशी चलचित्रका कारण प्रदर्शन गर्न मिति नपाइरहको अवस्थामा 'प्रेमगीत ३' ले गरेको आँटले अन्तर्राष्ट्रिय बजारमा नेपाली फिल्मको व्यावसायिक परीक्षण हुने मौका पाएको छ। 

आफ्नै देशमा समेत हल नपाउने अवस्थामा पुगेको नेपाली चलचित्र उद्योगले विदेशी भाषामा फिल्म रिलिज गरेर बजार विस्तारको प्रयास गर्नु सकारात्मक हो। यसले विश्व बजारमा नयाँ स्वाद र नयाँ कथा खोज्ने दर्शकको ध्यान तान्न सकिन्छ। तर त्यसका लागि महत्वपूर्ण भनेको आफ्नै कथा र आफ्नै कथ्य शैली हुनु अनिवार्य हो।

तर, 'प्रेमगीत ३' ले बाटो खोल्ने प्रयास गरे पनि यात्रा त्यति सहज देखिँदैन। कारण हो बलिउडबाट प्रभावित हाम्रा कथा र कथ्य शैली।

‘अन्तर्राष्ट्रिय महोत्सव बाहेक व्यावसायिक रुपमा नै नेपाली चलचित्र अन्तर्राष्ट्रिय बजारमा अन्तर्राष्ट्रिय दर्शकका लागि हलमा नै उपलब्ध हुन लागेको सम्भवत प्रेमगीत नै होला,’ निर्देशक निश्चल बस्नेतले उकेरासँग भने, 'तर अन्तर्राष्ट्रिय बजारमा जाँदा सिनेमा जस्तै सिनेमा हामीले बनाउन सक्नुपर्यो।’

राम्रा फिल्म बनाउन सके जहाँसुकैका दर्शकका लागि पनि राम्रो हुने उनको तर्क छ। उनका अनुसार नेपाली सिनेमाले अन्तर्राष्ट्रिय सिनेमा जगतमा अंग्रेजी सब टाइटलबाट माथि उठेर डबमा जानु नै अहिलेको लागि सुखद कुरा हो।

‘सुरुवात हिन्दी भाषाबाट भएको छ। निर्माता निर्देशकले यो आँट गर्नु नै कुनै नेपाली सिनेमाको बजार विस्तारमा ठूलो कोशेढुंगा हुनसक्ने क्षण हो,’ बस्नेत भन्छन्, ‘नेपाली सिनेमा पनि कम छैन भनेर प्रमाणित गर्नका लागि सिनेमा जस्तै सिनेमा चाहिँ बनाउन हामीले कोसिस गर्नुपर्छ।’

निर्माता समेत रहेका बस्नेत नेपाली फिल्मको कन्टेन्ट र प्रस्तुतिमा जोड दिन्छन्। उनले पटक-पटक सिनेमा जस्तो सिनेमा बनाउनुपर्ने बताइरहे। 

बस्नेत भन्छन्, ‘राम्रा सिनेमा बनाउन सक्दा हाम्रा दर्शकले हेरेका छन्। राम्रो सिनेमा बनाउन ध्यान दिउँ। स्वदेशी दर्शक मात्र होइन, विदेशी दर्शकको पनि मन जित्न सकिन्छ। हामीले विदेशी सिनेमा हेरे जस्तै हाम्रा सिनेमा पनि विदेशीलाई हेराउन सकिन्छ।’

तर आफ्नैले लगाउँछन् अंकुश
पछिल्लो समय कोरोनापछि नेपाली सिनेमा रिलिजमा आफ्नै संस्थाहरुले अंकुश लगाउन थालेका छन्। फिल्म कहिले रिलिज गर्ने भन्ने निर्णय गर्ने अधिकार समेत छैन निर्माता र वितरकहरुमा।

सहजीकरणको बहानामा फिल्म रिलिजमा जबर्जस्ती कोटा प्रणाली कार्यान्वयनको प्रयास भइरहेको छ। तर यही विषय विदेशी चलचित्रको हकमा भने छैन।

बस्नेत यस्ता निर्णयले सिनेमा क्षेत्रलाई अप्ठ्यारो पारेको बताउँछन्। उनका अनुसार नेपाली सिनेमा रिलिज गर्दा हलवालालाई व्यापारमा घाटा छैन। राम्रो फिल्म छन् भने नेपाली दर्शक विदेशीभन्दा आफ्नै भाषका सिनेमा हेर्न चाहन्छन्। 

‘हाम्रा सिनेमा रिलिज हुन दिनुपर्यो। हाम्रो सिनेमाले विदेशी सिनेमालाई घाटा पार्दैन। जता राम्रो छ दर्शक त्यतै जान्छन्। हाम्रो सिनेमा राम्रो भए हाम्रोमा आउँछन्। अरुको राम्रो भए अरुकोमा जान्छन्,' उनले भने, 'कोरोनापछि प्रदर्शनमा सजिलो होस् भनेर चलचित्र नजुधाउने नियम अब फेर्नुपर्छ। त्यसले हाम्रो सिनेमा रिलिजमा बाधा भयो।’

विदेशी सिनेमाले गर्छ घात, अन्तर्राष्ट्रिय बजारको के आश !
आयातित सिनेमाका कारण पटक-पटक रिलिज डेट सार्नु परेको चलचित्र चपली हाइट ३ का निर्माता अर्जुनकुमार नेपाली फिल्म अन्तर्राष्ट्रिय बजारमा जाने कुरा नै कल्पना बाहिरको कुरा भएको तर्क गर्छन्। 

अर्जुन नेपाली फिल्मले नेपालमा नै स्थान पाउँदैन भने विदेशमा राम्रो गर्छ भन्ने आधार नै नभएको दावी गर्छन्।

‘मेरो सिनेमा धेरै दर्शकले प्रतीक्षा गरिरहेको सिनेमा हो। तर मैले प्रदर्शन गर्न पाइरहेको छैन,’ उनी भन्छन्, ‘राम्रा सिनेमालाई स्थान नदिने ठाँउबाट उठेर विदेशी बजारमा जाने कल्पना बाहिरको कुरा हो।’

आफ्ना दर्शकलाई बेवास्था गरेर विदेशी दशर्ककोमा पुग्नु मुर्ख काम भएको उनको तर्क छ। विदेशी सिनेमाका पछि लागेर देशमा बनेका राम्रा सिनेमालाई बजार उपलब्ध नगाराउने उद्योगले अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्छु भन्नु ख्रोक्रो धाक मात्र भएको उनको दावी छ।

‘नेपालमा ब्लक बास्टर भनिएका सिनेमा कति छन्? तीमध्ये एक चपली हाइट हो नि। यस्तो ब्लक बस्टर सिनेमालाई रिलिज गर्न नदिने अनि षड्यन्त्र गर्ने बजारले अन्तर्राष्ट्रिय बजार खोज्नु हास्यास्पद हो। पहिला स्वदेशको बजार उकास्नुपर्यो नि। अनि सोचौंला अन्तर्राष्ट्रिय बजार,’ उनले भने।

प्रस्तुति सुध्रिए कथामा प्रतिस्पर्धा गर्न सकिन्छ
सामाजिक सञ्जालको नेपाली सिनेमाको भ्युजलाई आधार मानेर हेर्ने हो भने दर्शकको उल्लेख्य उपस्थिति छ। त्यो उपस्थितिको कारण उनीहरुसँग विकल्प भएर पनि हो।  

उनीहरुसँग मन लागेको समयमा आफ्नो समय अनुकुल फास्ट, स्किप गरीगरी हेर्ने विकल्प छ। तीन घण्टाको चलचित्र २० मिनेटमा पनि हेर्न सक्छन्। हलमा जसरी जबर्जस्ती बाँधिनु पर्दैन। त्यही कारण नेपाली फिल्म सञ्जालमा हिट छन् तर हलमा फ्लप। 

नेपाली फिल्म कमजोर हुनुका पछाडि नेपाली दर्शकले लाउने गरेको आरोप कथा गतिलो भएन भन्ने मुख्य हो। तर सिनेमा लेखक तथा समीक्षक यज्ञशका अनुसार नेपाली सिनेमाका कथा दर्शकले भने जस्तो कमजोर छैन।

‘हाम्रो सिनेमाको कथा साह्रै कमजोर छैन,’ यज्ञश भन्छन्, ‘हाम्रो समस्या प्रस्तुतीकरणमा हो।’

दक्षिण भारतीय फिल्म होस् वा भारतीय वा हलिउडकै तिनमा कथाभन्दा माथि प्रस्तुति हुने गरको तर्क गर्छन् यज्ञश। उनका अनुसार नेपाली सिनेमामा दर्शक हलसम्म नतानिनुमा कमजोर प्रस्तुतीकरण नै प्रमुख कारण हो।

‘प्रस्तुतीकरण राम्रो भयो भने सिनेमा राम्रो बन्छ। कथा मात्र पनि सिनेमा होइन। सिनेमा त प्रस्तुतीकरण हो। कोरा साहित्य होइन नि। कथामा हामी कमजोर छैनौं। विदेशी सिनेमासँग प्रतिस्पर्धा गर्न सक्छौं,’ यज्ञश भन्छन्, ‘प्रस्तुतीकरण गतिलो गर्न सक्ने हो भने हामी देशमै पनि अन्तर्राष्ट्रिय सिनेमासँग खरो रुपमा उत्रिन सक्छौं। विदेशी बजारमा पनि हाम्रो प्रभुत्व जमाउन सक्छौं।’

तर, विदेशी बजारमा जादाँ सिनेमाको आफ्नै स्टाइल र क्राफ्ट भने बनाउन सक्नुपर्छ। हरेक फिल्म उद्योगको आफ्नो सिग्नेचर छ। नेपाली सिनेमा उद्योगले पनि आफ्नो सिग्नेचर स्टाइल र क्राफ्ट बनाउनुपर्छ। त्यसो गर्न सकेमा स्वदेशी र विदेशी बजारमा प्रभाव जमाउन सक्नेमा दुई मत नहुने यज्ञशको दावी छ।

चेपुवाका फुकाउने एकै माध्यम नेपाली सिनेकर्मीबीचको एकता 
नेपाली सिनेमाकर्मीबीच एकले अर्काको अस्तित्व नस्वीकार्ने प्रतिस्पर्धा नै देखिन्छ। यसले सिन्डिकेटमात्र ल्याउँदैन, समग्र चलचित्र क्षेत्रलाई नै प्रभाव पारिरहेको छ।

निर्माता, निर्देशक र कलाकारहरु धुव्रीकृत हुँदा संख्यात्मक रुपमा धेरै सिनेमा बन्न सक्ने भए पनि गुणस्तरीय सिनेमा बन्न सकेका छैनन्। त्यसको पछाडिको कारण लगानी हो।

नेपाली फिल्म उद्योगमा लगानी बढी छरिएको र त्यसले गुणस्तरमा समस्या ल्याएको बताउछन् वितरक कायस्थ।

‘निर्माताहरु दसतिर छरिएका छन्। निर्देशकहरु त्यस्तै। कलाकार त्यस्तै। यस्तो पाराले हामीलाई कही लग्दैन,’ उनी भन्छन्, ‘यदि हामी चेपुवाबाट उम्कने हो भने हाम्रो सिनेमामा लगानी बढाउनुपर्छ। चार/पाँच जना लगानीकर्ता मिलेर एउटा फिल्म बनाउनुपर्छ। अन्तर्राष्ट्रिय बजार खोज्नुपर्छ।’

कायस्थ अब नेपाली फिल्म २ करोडमा होइन ८/१० करोडमा बन्नुपर्ने बताउँछन्। विश्वमा चलचित्र छायांकनका लागि नेपालको माग बढ्दै जाँदा ८/१० करोड लगानीमा नेपाली सिनेमा विश्वस्तरको बन्न सक्ने उनको दावी छ।

‘नेपाली निर्माताले अन्तर्राष्ट्रिय ट्रेण्डलाई ध्यानमा राखेर नेपाली सिनेमा बनाउन सके नेपाली दर्शक पनि हलसम्म आउने र विदेशमा पनि नेपाली सिनेमाले बजार बनाउने कुरामा दुई मत छैन,’ कायस्थले भने, ‘प्रविधिगत रुपमा हामी सक्षम छौं। अब सिनेकर्मीबीच एकताको खाँचो छ। एकमुष्ठ लगानीको खाँचो छ। नक्कल होइन आफ्नो पाराको विकासको खाँचो छ। त्यसो गर्न सके नेपाली सिनेमालाई सबै हल दिन पनि सकिन्छ,' उनले भने।

१९ पुस, २०७८, ०८:३१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।