पारिलो घाम ताप्दै महाधिवेशन हेर्न आएका सोध्दै छन् : देउवाले जित्लान् त ?

पारिलो घाम ताप्दै महाधिवेशन हेर्न आएका सोध्दै छन् : देउवाले जित्लान् त ?
तस्बिर : कृष्पा श्रेष्ठ।

काठमाडौँ :  नेताहरू आ-आफ्नो समूहका उम्मेदवारहरू तय गर्न बैठकमा व्यस्त छन्। तर महाधिवेशन स्थलमा भने कार्यकर्ताहरू आइसकेका छन्। मञ्च सजाउने काम सक्किएको छ। कुर्सीहरू नेताको पर्खाइमा छन्।

पारिलो घाम लागेकाले कार्यकर्ता र काँग्रेसको १४ औँ महाधिवेशन हेर्न आएका आगन्तुकहरू कुर्सीमा बसेर पारिलो घाम ताप्दै अब काँग्रेसको नेता को होला भन्ने रोचक छलफलमा रमाइरहेका छन्।उता संस्थापन पक्ष र संस्थापनइतर पक्ष भने आफ्नो समूहका नेताको व्यवस्थापनमा व्यस्त छन्। सहमति नभए महाधिवेशनको उद्घाटन शत्रमै आउँदिन भनेर घुर्की लगाएर बोहोराटारमा बसेका नेता रामचन्द्र पौडेललाई एक समूहले फकाइरहेको छ भने अर्को समूह अनुपम फुडल्याण्डमा बसेर कसरी सहमति गर्न सकिएला भन्ने छलफल गरिरहेका छन्। 

काँग्रेसले महाधिवेशनलाई शक्ति प्रदर्शन थलो नबनाएकाले काठमाडौँको यातायात सामान्य नै छ। यातायात भाँडिएको छैन। महाधिवेशन उद्घाटन शत्रमा प्रमुख राजनीतिक दलका नेताहरू सहभागी हुँदैछन्।

नेताहरूलाई टिम बनाउनै सकस छ। यता महाधिवेशनमा आएकाहरूलाई भने अब को पार्टी सभापति होला अनि को महामन्त्री होला भन्ने चासो छ। महामन्त्रीमा धेरै जसोको चासो गगन थापामा देखिएको छ। सकेसम्म युवा पुस्ताहरू एकै पदमा नउठे राम्रो हुने भन्दै थिए उनीहरू। 

'अब गगन पनि विश्वप्रकाश पनि एकै पदमा उठेर हुन्छ । एकले अर्कालाई सघाए भयो त' सहभागी भन्दै थिए।

 

२४ मंसिर, २०७८, १२:२२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।