नारायण गोपाल र भक्तराजको स्वर खोसिएको नेपाली संगीतको त्यो कालो दिन

नारायण गोपाल र भक्तराजको स्वर खोसिएको  नेपाली संगीतको त्यो कालो दिन

गीतकार कञ्चन पुडासैनीले गोपाल योञ्जनलाई आफ्नो गीतमा संगीत भराए। उक्त संगीत क्यासेटमा भरेर डमी बनाए अनि गायक भक्तराज आचार्यको हातमा दिए। 

केही दिनसम्म रिहर्लसल गरिसकेपछि भक्तराज गीत सुनाउन वि.सं. २०४६ मंसिर १९ गते दिउँसो १ बजेतिर धुम्बाराहीस्थित गोपाल योञ्जनको घर  पुगे।

गोपाल योञ्जनको बैठक कोठा सबैभन्दा माथिको तलामा थियो। दिउँसो १ बजे पुगे पनि भक्तराज र गीतकार पुडासैनीलाई योञ्जनले झण्डै सात घण्टा कुराए। धेरै समय कुर्नुपरेको भन्दै भक्तराजले बारम्बार जाउँ भने पनि पुडासैनी गीत नसुनाई नजाने पक्षमा अडे। 

'गीत सुनाउन भक्तराज आएका छन्' भनेर सूचना दिने मानिसलाई बारम्बार भन्दा पनि योञ्जनले ‘एकछिन, एकछिन’ भन्दै यी दुईलाई कुराएको कुरायै गरे। 

रात छिप्पिँदै गयो। मंसिरको महिना ५ बजे रात परिसक्थ्यो। उनीहरुले सवा ८ बजेसम्म कुरिरहे। सवा ८ बजेपछि भने योञ्जनले दुवैलाई आफू भएको ठाउँमा बोलाए। 

भक्तराजले थप एक घण्टासम्म हार्मोनियम बजाउँदै योञ्जनलाई गीत सुनाए।

रातको झण्डै साढे नौ बज्यो,  योञ्जनको घरमा। ९ बजेसम्म मात्रै साझा बस चल्थ्यो। त्यसैले सवारीसाधन फेला पार्ने सम्भावना न्यून थियो। योञ्जनले नै पूर्ण नेपाली नाम गरेका व्यक्तिलाई बाइकमा छाडिदिन अह्राए। 

कञ्चन,  भक्तराज र बाइक चलाउने पूर्ण नेपाली तेब्बर लोड बाइकमा बसे।

पूर्ण नेपालीले सुरुमा कञ्चनलाई छाडे। उनको घर धुम्बाराहीमा थियो। फर्कँदा बौद्धस्थित छिरिङ रेष्टुरेन्टमा पूर्णले रक्सी खान भक्तराजलाई आग्रह गरे। 

मंसिरको महिना, जाडो बढिसकेको थियो। घर पुग्न जति नै हतार गरे पनि रक्सी नखाई नजाने अडानमा पूर्ण नेपाली बसे। 

जति नै कर गरे पनि भक्तराज भने रेष्टुरेन्ट छिर्न मानेनन्। उनी बाहिरै पूर्णलाई कुरेर बसे। 

मंसिरको जाडोमा लुगलुग काँम्दै भट्टी अगाडि उभिइरहँदा भक्तराजलाई धेरैचोटी हिँडेरै भए पनि घर जाऊँजस्तो लागेको थियो। तर त्यहाँबाट हिंडेर ललितपुरको महालक्ष्मीस्थान आउन सम्भव थिएन।

करिब २०/२५ मिनेटमा ३ जना मानिस ढुन्मुनिंदै भक्तराजको छेउमा आए। ‘हामीले खाएको पैसा तिर,  नत्र भेट्लास’  भनेर थर्काए। तिमीहरुले खाएको पैसा किन तिर्ने भनेर प्रतिवाद गर्दा एक जनाले बोतलले भक्तराजको टाउकोमा हाने। उनी बेहोस भए। होस खुल्दा उनी वीर अस्पतालको बेडमा थिए।

भक्तराजको स्वर खोसेको त्यो कालो दिन : आक्रमणकारीबारे किन मौन बसे पूर्ण नेपाली ?

त्यहाँबाट तंग्रिन भक्तराजलाई झण्डै तीन वर्ष लाग्यो। वि.सं. २०४९ मा आरआर क्याम्पसमा आयोजना भएको कार्यक्रममा तीन वटा गीत पनि गाए। तर बिडम्वना! मंसिर १९ गतेको त्यो घटनाकै करण उनको जिब्रोमा खटिरा देखापर्यो। चिकित्सकलाई देखाउँदा क्यान्सरको शंका गरे। उनको जिब्रो काटियो। उनले सदाका लागि आवाज गुमाउन पुगे।

वि.सं. २०४६ सालको सानो दुर्घटनाले भजन शिरोमणि भक्तराज आचार्यले स्वर नै गुमाए।

मंसिर १९ मा भजन शिरोमणि भक्तराजको सुमधुर स्वर मात्र गुमाएको मिति हैन, यही मितिमा नेपाली सांगीतिक क्षेत्रले अर्का प्रतिभावान गायक पनि गुमायो- स्वर सम्राट नारायणगोपाल।

त्यसको ठिक एक वर्षपछि वि.सं. २०४७ मंसिर १९ गते स्वर सम्राट नारायणगोपालको निधन भयो। सदाका लागि उनको स्वर बिलायो। 

नेपाली सांगीतिक आकाशका नक्षत्र नारायणगोपालको अल्पायुमै निधन भएको थियो।

नारायण गोपालको मृत्युको कारण बन्यो,  उनको मुख। उनी चुरोट अति पिउँथे। दिनकै ४० खिल्ली सक्काउँथे। रक्सीको पनि उत्तिकै लत। 

बिरामी पर्न थालेपछि रक्सी त छाडे तर चुरोट छाड्न सकेनन्। निकै कम चुरोट पिएको दिन उनी २५ खिलीसम्म त पिउँथे रे।

चुरोट र रक्सीका कारण उनलाई विभिन्न रोगले च्याप्दै लग्यो। २०४७ कात्तिक १८ गते वीर अस्पतालमा भर्ना गरियो। 

अस्पताल भर्ना गरे पनि उनको आनीबानी सुध्रिएन। चिकित्सकले प्रतिबन्ध गरेका खानेकुरा उनी साथीहरुसँग झगडा गरीगरी खाइदिन्थे। 

अस्पताल भर्ना भएको एक महिनापछि २०४७ मंसिर १९ गते नारायणगोपालको निधन भयो। उनको भौतिक शरीरसँगै सुमधुर स्वर पनि बिलिन भयो।

मंसिर १९ मा नेपाली संगीतका स्वर सम्राटको देहसँगै स्वर गुम्यो। यता यही मितिमा एक घटनामा परेर  भजन शिरोमणि भक्तराजले स्वर गुमाए।

नारायणगोपाल र भक्तराज आचार्यको सम्बन्ध
भक्तराज नारायणगोपालका जुनियर थिए। रेडियो नेपालमा गायन प्रतियोगिता हुँदा अम्बर गुरुङ,  बच्चुकैलाश र नारायणगोपालको निर्णायकत्वमा भक्तराज प्रथम भएका थिए।

अम्बर गुरुङसँग भक्तराजको केही सहकार्य भयो तर नारायणगोपालसँग भने हुन सकेन। 

विभिन्न अन्तर्वार्ताहरुमा भक्तराजले भनेका छन्, 'नारायणगोपाल र म असाध्यै मिल्थ्यौं,  उनी अरुको प्रशंसा नगर्ने स्वभावका थिए।'

भक्तराज र नारायणगोपालका बीचमा संगीतका कमी-कमजोरीबारे छलफल हुन्थ्यो। 

एक पटक नातिकाजी श्रेष्ठको कोठामा नारायणगोपाल र भक्तराजको भेट भएको थियो। साथमा पहिलो नेपाली फिल्म 'आमा' मा अभिनय समेत गरेका गायक शिवशंकर,  बच्चुकैलाश पनि थिए। 

नारायणगोपालको आवाज मिठो भए पनि उच्चारणमा कमजोरी थियो। नेवारी टोन आउँथ्यो। शब्द पनि शुद्ध उच्चारण गर्न सक्दैनथे। तर उनको यो कमजोरी कसैले अगाडि भन्ने हिम्मत राख्दैनथे। 

उनले इश्वरवल्लभको गीत ‘मेरो बेहोसी आज’  को अन्तरामा भएको ‘नशा जिन्दगी’ को भन्नुपर्ने ठाउँमा नारायणगोपालले ‘नसा जिन्दगी’ को भनेका थिए। 

नारायणगोपाल रिसाउलान् भनेर कसैले पनि उनको गलत उच्चारण औंल्याउने हिम्मत गरेनन्। तर त्यही भेटमा गलत उच्चारणले गलत अर्थ राख्छ भनेर भक्तराजले नारायणगोपाललाई सम्झाए। 

उनले भनेका थिए,' नशा रक्सीको हुन्छ, जसले मात लगाउने अर्थ राख्छ भने नसा रक्तनलीको हुन्छ।' यसरी सम्झाउँदा नारायणगोपाल मुसुमुसु हाँसे। नातिकाजी र शिवशंकर मुखामुख गरे। बच्चुकैलास मौन रहे। 

नारायणगोपालका संगतिले रक्सी खान्थे नै। फत्तेमान, नारायणगोपाल र भक्तराज पनि प्रायः सँगै नै हुन्थे। नारायणगोपाल  मात्तिने गरी पिउँथे, फत्तेमान उनलाई बाइकमा बोकेर हिंड्थे। 

भक्तराज पनि बेलामौकामा यो समूहमा मिसिन्थे र मात्थे।

किन डराउँछन्, यी दुईको सम्बन्धबारे कुरा गर्न?
भक्तराज र नारायणगोपालबीचको सम्बन्ध कस्तो थियो होला?  यी दुवैको सम्बन्धबारे त्यति धेरै सामग्री पाउन सकिँदैन। यी दुवैको सम्बन्ध किंबदन्तीजस्तै छ। 

उनीहरुलाई नजिकबाट चिन्नेहरु पनि खै किन हो, यी दुईको सम्बन्धबारे त्यति खुलेनन्।

गायक तथा संगीतकार शम्भुजित बास्कोटाले भने, 'उहाँहरु दुवैको आ-आफ्नो व्यक्तित्व छ। नेपाली संगीतका लागि दुवै जना महान हुन्।' 

नारायणगोपालको बौद्धिकता र भक्तराजको आवाजले दुवैलाई उत्कृष्ट बनाएको बास्कोटा बताउँछन्। तर उनीहरुको सम्बन्ध कस्तो थियो भन्नेबारे भने केही बोल्न चाहँदैनन्।

त्यस्तै गायक दीपक जंगम पनि दुवैलाई एक ठाउँमा राखेर विश्लेषण गर्नबाट तर्किए। उनले भने, 'उहाँहरुको बारेमा छुट्टाछुट्टै बोल्ने हो भने तयार छु। तर दुवैलाई एक ठाउँमा ल्याउन चाहन्न।'

जंगमले सम्झाउँदै भने, 'नारायणगोपाललाई स्मृति दिवसमा सम्झौं, भक्तराजलाई जन्मदिनमा सम्झौं। भक्तराजलाई घाटा लागेको दिन नसम्झौं, बिसौं।'

नेपालका मिडियाले सधैं लडाउने काम गरेको भन्दै जंगमले भने, 'उहाँहरु दुवै ठूला हुन्, दुवै महान हुन्।' 

उहाँहरुको स्वर अहिलेसम्म भइरहेको भए राष्ट्रलाई के फाइदा हुन्थ्यो भन्ने विषयमा भने बास्कोटा र जंगमको एकै स्वर आयो, 'उहाँहरु दुवैको स्वर बाँचिरहेको भए संगीत अहिलेको जस्तो लठाभद्र हुँदैनथ्यो कि!'

१९ मंसिर, २०७८, १४:४५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।