वीरमा हुने स्वास्थ्य परीक्षणमा गम्भीर खेलबाड : व्यवस्थापकको मिलेमतोमा प्रयोग भइरहेछ फाल्नुपर्ने एक्स-रे फिल्म र सुई

वीरमा हुने स्वास्थ्य परीक्षणमा गम्भीर खेलबाड : व्यवस्थापकको मिलेमतोमा प्रयोग भइरहेछ फाल्नुपर्ने एक्स-रे फिल्म र सुई

काठमाडौँ :  कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) ले फ्याँक्नुपर्ने स्वास्थ्य सामाग्री बिरामीको स्वास्थ्य परीक्षणमा प्रयोग गरिरहेको खुलेको छ। उकेराको खोजमा अस्पतालको व्यवस्थापक संलग्नतामा फ्याँक्नुपर्ने स्वास्थ्य सामाग्रीहरू निर्बाध बिरामीको स्वास्थ्य परीक्षणमा प्रयोग  गरेर गम्भिर खेलवाड गरिरहेको खुलेको हो।

उकेरालाई विशेष स्रोतले युनिफाइड केन्द्रीय अस्पतालमा मिति सकिएको एक्स–रे गर्ने फिल्म’ अनि सिटी स्क्यान गर्दा प्रयोग गरिने सुई प्रयोग भइरहेको सूचना दिएको थियो। एक महिनाको निरन्तर खोजमा स्रोतले दिएको सूचना सत्य ठहरियो।

उकेराकर्मी मिति सकिए पनि प्रयोग भइरहेको सुईको स्टोरमै पुग्न सफल भयो। परीक्षणका लागि आउने सर्वसाधारणको स्वास्थ्यमा भइरहेको खेलबाड सहन नसक्ने स्रोतहरूको सहयोगमा मिति सकिएपछि प्रयोग गर्दा गलत नतिजा देखाउन सक्ने जोखिम हुने एक्स-रे फिल्म भएको भन्डारमै उकेरा पुगेको थियो। 

प्रारम्भमा उकेराकर्मी अस्पतालको पुरानो भवनको एक्स–रे गर्ने काठा नम्बर ३ मा पुगेको थियो। त्यहाँ पुग्दा प्रयोग गर्न नमिल्ने मिति नाघेका एक्स–रे फिल्म  फेला परे। अस्पतालको एक्स–रे कोठामा सन् २०२१–६–२९ सम्म प्रयोग गर्न मिल्ने मिति भएका ‘१७३५३८०’ ‘लट’ का ‘लेजर इमेजिङ फिल्म’प्रयोग भइरहेको थियो।

त्यति मात्रै नभएर एक्स–रे फिल्ममा ‘२०७८–६–३१’ लेखिएको मितिको मुनीपट्टि सही समेत भएको पाइएको छ। स्रोतका अनुसार यो मिति ‘एक्स–रे फिल्म’ लिँदा प्रयोगकर्ताले बुझेको मिति हो। एक्स–रे फिल्म प्रयोगकर्ताले सही गरेर मात्रै फिल्म बुझ्नु पर्ने नियम रहेको छ।

यसबाट २०२१–६–२९ मा नै प्रयोग गर्ने मिति सकिएको एक्स–रे फिल्म ‘२०७८–६–३१’ मा एक्स–रे गर्ने कर्मचारीले बुझेको देखिन्छ। यसले असार १५ सम्म मात्रै प्रयोग गर्न मिल्ने मिति भएको एक्स–रे फिल्मको मिति गुज्रिएको साढे तीन महिनापछि असोज ३१ गते एक्स-रेका लागि कर्मचारीले बुझेको पुष्टि भयो। यसको प्रमाण उकेरासँग सुरक्षित छ।

एक्स–रे विभागमा भेटिएकी एक कर्मचारीसँग मिति नाघिसकेको एक्स–रे फिल्म किन चलाएको भनेर जिज्ञासा राख्दा ती कर्मचारीले पुरानै फिल्म बाँकी भएकाले त्यही प्रयोग गरेको बताइन्।

एक्स-रे को फिल्मको कभरमा रहेको मिति र सिरिन्जको कभरमा रहेको मिति। तस्बिर : उपेन्द्र खड्का

मिति सकिएर चलाउनु भएको एक्स–रे कुन कम्पनीको हो? भन्ने जिज्ञासामा उनले जवाफ दिइन्,–‘कोडाकको। मिति सकिएका फिल्म कति बाँकी छन् भन्ने जिज्ञासामा उनको जवाफ थियो,‘अब अलिअलि बाँकी छ। मेसिन पनि चलिराखेको छैन। बिग्रिएको छ।’

उनीसँगको कुराकानीपछि करिब एक हप्ता यता ३ नम्बरको एक्स–रे मेसिन बिग्रिएको बुझियो। मेसिन बिग्रिएकाले केही दिन यता भने मिति सकिएको एक्स-रे फिल्म प्रयोग नभएको बुझियो। तर, मेसिन बनेपछि अर्को फिल्म नभएकाले त्यही मिति नाघेको एक्स–रे फिल्म चलाउनुको विकल्प देखिएन अस्पतालको ३ नम्बर कोठाको एक्स–रेमा। ३ नम्बरमा चलेको मेशिन सिआर हो।

एक्स–रे गर्ने क्षेत्रको अवलोकनपछि अस्पतालका रेडियोलोजी विभागका प्रमुख डा. सरोज शर्मासँग मिति नाघेका एक्स–रे फिल्मका विषयमा जिज्ञासा राख्दा उनले मिति नाघेको एक्स–रे फिल्म प्रयोग गरेको स्वीकारे। डा. शर्माले प्रयोग गर्नुपर्ने मिति सकिए पनि त्यसले बिरामीको एक्स-रे गर्दा त्यति असर नपर्ने दाबी गरे।

प्रयोगका लागि राखिएको मिति सकिएको एक्स-रे फिल्म

'बिरामीलाई नकारात्मक असर नगर्ने भएकाले स्टकमा रहेका एक्स–रे फिल्म चलाएको हो, उनले दाबी गरे ,‘बिरामीलाई असर नपर्ने भएकाले चलाएका हौँ।’

तर विज्ञहरुसँग यसबारे बुझ्दा उनले गरेको दाबी झुठो देखियो।

विश्वस्त स्रोतका अनुसार एक्स–रे विभागमा अझै एक हजारदेखि १५ सय मिति नाघेका एक्स–रे फिल्म बाँकी छन्। अस्पतालका तत्कालीन निर्देशक डा. केदार सेन्चुरीको समयमा ती फिल्म आवश्यकता भन्दा बढी ल्याइएको थियो। एक्स-रे फिल्मको म्याद सकिएको जानकारी गराउँदै नयाँ फिल्म माग्दा कोरोना सङ्क्रमणका कारण नयाँ फिल्म नआएको जवाफ आउने गरेको स्रोतको दाबी छ।

रेडियोलोजी विभाग स्रोतका अनुसार असारतिर एक्स–रे फिल्मको मिति सकिनु अघि नै स्टोर र खरिदमा फिल्मको प्रयोग गर्ने मिति सकिन लागेकोबारे जानकारी गराइएको थियो। स्टोरले विभिन्न कारण देखाउँदै फिल्म दिन नसक्ने बताएको स्रोतको भनाइ छ।

गोदाममा राखिएका मिति गुज्रिएका सिरिन्ज

तर, अस्पतालका तत्कालीन स्टोर प्रमुख युवराज तिमल्सिनाले भने एक्स–रे फिल्मको मागको नभएको दाबी गरे। एक्स–रे विभाग (३ नम्बर)बाट आफू स्टोर प्रमुख हुँदा फिल्मको मिति सकिएको वा सकिन लागेको भन्ने लिखित तथा मौखिक कुनै जानकारी नआएको उनको दाबी छ।

‘मेरो पालामा फिल्म एक्सपाएर भएको छैन,’उनले भने,‘माग गरेको त्यस्तो चिठ्ठी मकहाँ आएन।’ उनले कोभिड–१९ को कारण कम प्रयोग भई नचलेर प्रयोग गर्नुपर्ने मिति सकिन लागेका  फिल्म कम्पनीले साटिदिएको समेत दाबी गरे।

‘हामीसँग पहिला फिल्महरू झरेको थियो। कोभिडको कारणले उसलाई (सप्लायर्स कम्पनीलाई) फिल्म चलेन भने रिटर्न गर्नुपर्छ भनेर,’उनले भने,‘त्यो हामीले सट्टापट्टा गरेर मिति सकिन लागेको अन्त दियौ। हामीलाई लामो एक्सपायर डेट भएको ल्याएर दियो। हाम्रो फिल्म एउटा पनि एक्सपायर भएको छैन।’

तर उकेराको खोजमा उनका सबै दाबी झुठो देखियो। यसले म्याद सकिएका सामाग्री प्रयोग गर्न वीरमा कुन तहसम्मको मिलेमतो छ भन्ने पुष्टी भयो।

मिति सकिएको एक्स-रे फिल्म प्रयोग भइरहेको एक्स-रे रुम

दुई वर्ष स्टोर प्रमुखको रूपमा काम गरेका तिमल्सिनालले स्टोर प्रमुखको जिम्मेवारीबाट हटेको करिब ३ महिना भएको जानकारी दिए। 

तिमल्सेनापछि मेडिकल स्टोर इन्चार्जको जिम्मेवारी सम्हालेका टीका पनेरुले पनि आफूलाई मिति नै सकिएको फिल्म प्रयोग भएको जानकारी नभएको र स्टोरमा माग पनि नभएको दाबी गरे। पनेरुले भने,‘स्टोरमा कुनै पनि मिति नाघेका फिल्म छैनन्।’ स्टोरभरी म्याद सकिएका स्वास्थ्य सामाग्री राखेर उनले पनि सरासर झुट बोले उकेरासँग।

डा. शर्माले नयाँ फिल्म खरिद प्रक्रिया अघि बढिसकेको बताए। पनेरुले पनि रेडियोलोजी विभागले माग गरेबमोजिम नयाँ फिल्मको खरिद प्रक्रिया अघि बढेको बताए। उनले भने,‘मैले लेखेर खरिदमा दिइसकेको छु। टेन्डर प्रक्रिया अघि बढिरहेको छ।’

मिति नाघेको सुईको प्रयोग

अस्पतालको सिटी विभागको एउटा कोठामा पुग्दा सिटी स्क्यान गर्दा प्रयोग हुने सुई कोठाभरि देखियो। मिति नाघेका ती सुई पनि अस्पतालमा परीक्षणका लागि आउनेमाथि प्रयोग भइरहेको खुल्यो। अस्पतालको कोठामा भेटिएका सुईमा ‘एन्जिओग्राफिक सिरिन्ज’ लेखिएको थियो। चिकित्सकका अनुसार यस्तो सुइलाई ‘प्रिफिल’ पनि भनिन्छ।

‘१७१००८’ ‘लट’ लेखिएको एउटा सुइको प्याकेटमा प्रयोग गरिसक्नुपर्ने मिति २०२०–१०–०७ लेखिएको थियो।  अर्को २०२०–०८–२९ मिति लेखिएको सुईको बट्टा पनि भेटियो। जुन प्रयोग गरिसक्नुपर्ने मिति हो। यसबाट प्रयोग गरिसक्नुपर्ने मिति नाघेको एक वर्ष भन्दा बढी समय कट्दा पनि उही सुई प्रयोग भइरहेको पुष्टि भयो।

रेडियोलोजी विभागका एक कर्मचारीले शरीरको नसा हेर्ने सिटी र पेटको सिटी स्क्यान गर्दा यस्तो सुईको प्रयोग गरिने बताए। प्रयोग गर्नुपर्ने मिति सकिएको सुई भए पनि त्यसले परीक्षणमा प्रभाव नपर्ने उनको दाबी थियो। जुन सरासर झुट थियो।

प्रयोगको म्याद सकिएको सुईहरु राखिएको स्थान

कर्मचारीले बिरामीले किन्नुपर्दा एउटा सुइकै करिब ३ हजार पर्ने भएकाले मिति नाघे पनि सुईको पैसा नलिईकन बिरामीका लागि प्रयोग गरिएको दाबी गरे। उनले भने,‘बिरामीले किन्दा एउटै सुईको तिन हजार हाराहारी पर्छ किन किनाउने भनेर चलाएका हौँ।’

चार वर्ष अघि अस्पतालले खरिद गरेको फिलिप्स कम्पनीको एक सय २८ स्लाइसको सिटी मेसिनसँगै ती सुई आएको अस्पताल स्रोतले जानकारी दिएको छ। 

आवश्यकता भन्दा बढी आएका ती सुई दैनिक ४-५ वटा प्रयोग हुन्छन्।  स्रोतका अनुसार अझै करिब पाँच वर्षलाई पुग्ने मिति नाघेका सुई छन्।

प्रयोग गर्दा यस्तो असर

केन्द्रीय युनिफाइड केन्द्रीय अस्पतालका पूर्व प्रमुख प्रशासकीय अधिकारी डा. जागेश्वर गौतम मिति नाघेको एक्स–रे र सुई प्रयोग गर्नै नहुने बताउँछन्।  उनले भने,‘सिरिन्ज र एक्स–रे फिल्म डेट एक्सपायर चलाउनु हुँदैन। सिरिन्ज भने पनि आखिरी औषधि दिने सिरिन्ज हो त्यो।’

सिटी स्क्यान गर्दा प्रयोग हुने सुई (सिरिन्ज) प्रयोग गर्नुपर्ने मिति नाघिसकेपछि प्रयोग गर्दा शरीरमा एलर्जी हुने, औषधि पास भएर राम्रोसँग शरीरमा नजाने, सुई नै भाँचिने जस्ता जोखिम हुनसक्ने चिकित्सक बताउँछन्।

कान्ति बाल अस्पतालका रेडियोलोजिष्ट डा. हरि ओम जोशी म्याद सकिएको सुईमा प्रयोग हुने निडिल, प्लास्टिकलगायतका वस्तुको गुणस्तरीयता कम हुने बताउँछन्। उनले भने,‘मिति नाघेको सिरिन्ज प्रयोग गर्दा ब्लक हुन सक्ने, भाँचिन सक्ने जोखिम हुन्छ।’

त्यस्तै प्रयोग गरिसक्नुपर्ने मिति नाघेका एक्स–रे फिल्म प्रयोग गर्दा फोटो (इमेज)को गुणस्तरीयतामा कमजोर हुनसक्ने विशेषज्ञ चिकित्सकहरू बताउँछन्।

रेडियोलोजिष्ट डा. जोशी मिति नाघेका एक्स–रे फिल्म प्रयोग गर्दा गुणस्तर कम हुँदा प्रस्ट नदेखिन सक्ने बताउँछन्। जसले बिरामीको रोग पहिचानमा समस्या हुनसक्छ। मिति नाघेका एक्स–रे फिल्म प्रयोग गर्दा त्यसको प्रभाव के हुन्छ? भन्ने जिज्ञासामा डा. जोशीले भने,‘त्यसको क्वालिटीमा कम आउने हो। एक्सपायर भएपछि त्यसको क्वालिटी त कम भयो नि त।’

यसले वीरको ब्यवस्थापक र कर्मचारीको मिलेमतोमा वीरमा स्वास्थ्य परिक्षणका लागि आउनेहरुको स्वास्थ्यमा गम्भिर खेलवाड गरेको पुष्टी हुन्छ। यसबारे उकेराको निगरानी निरन्तर रहनेछ।

१७ मंसिर, २०७८, २२:५४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।