एमाले महाधिवेशन : माओवादीको थप्पड खानेदेखि साखासन्तान एमालेसम्म 

एमाले महाधिवेशन : माओवादीको थप्पड खानेदेखि साखासन्तान एमालेसम्म 

चितवन : नेकपा एमालेले तामझामका साथ चितवनमा पार्टीको १० औँ महाधिवेशन उद्घाटन गरेको छ। उद्घाटनमा एमालेले ५ लाख कार्यकर्ता उतार्ने दाबी गरेको थियो।

देशका विभिन्न जिल्लाबाट गाडी रिजर्भ गरेर आएकाहरू कोही बेलुकी नै फर्किरहेका छन् भने कोही शनिबार बिहान फर्कने योजनामा छन्। 

चितवनमा एमालेका देशभरका कार्यकर्ता जम्मा भएपछि चहलपहल बाक्लिएको छ। महाधिवेशनले मङ्सिरको चिसो मौसमलाई केही गर्माएको छ। नयाँ नेतृत्व चयन गर्ने एमालेको महाधिवेशनमा २ हजार १७५ प्रतिनिधिसँगै उद्घाटन सत्रमा भाषण सुन्न कार्यकर्ता भेला भए। 

महाधिवेशनमा भाषण सुन्न आएका बागलुङका श्याम जिसी र सोमबहादुर खड्का शुक्रबार बिहान ३ बजे नै चितवन झरे। महाधिवेशनको रौनक अवलोकन र केपी ओलीको भाषण सुन्न आएको बताउने दुवै जना एमालेका पुराना कार्यकर्ता हुन्। 

जिसी २०३८ सालदेखि एमालेमा लागेका हुन् भने ७५ वर्षका सोमबहादुर खड्का २०२४ सालदेखि एमालेमा छन्। जिसीले २०५८ साल तिर माओवादी कार्यकर्ताले थप्पड पनि खाए। तर, उनले एमाले त्यागेनन्। 

पार्टीको क्रियाशील सदस्यमै चित्त बुझाएका जिसीले महाधिवेशनको रौनक अवलोकन र नेताको भाषण सुन्न आएको बताए। जिसीले अबको चुनावमा एमाले दोस्रो पार्टी बन्ने दाबी पनि सुनाए।

‘अहिलेको सत्ता गठबन्धनका पाँच पार्टी मिलेर चुनावमा गए पनि एमाले दोस्रो पार्टी हुन्छ,’जिसीले उकेरासँग भने,‘एक्ला एक्लै चुनावमा गए फेरि एमाले पहिलो पार्टी बन्छ।’ 

केपी ओलीको तस्बिर र सूर्य चिन्ह अङ्कित मास्क लगाएका बागलुङका खड्का महाधिवेशन हेर्न आएको सुनाउँछन्। 

बागलुङका जिसी र खड्का भन्दा अलि फरक सपना बोकेर आएका छन् रुपन्देहीका ७२ वर्षीय टिकाराम पाण्डे। उनी २०२४ सालदेखि एमालेमा लागेका हुन्। वडादेखि गाउँपालिका कमिटीमा बसेका उनी पनि महाधिवेशन प्रतिनिधि भने होइनन्। 

उनी नेपालको विकास गर्ने केपी ओलीले देखेको सपना पुरा गर्न आएको बताउँछन्। शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड, बाबुराम भट्टराई मात्रै होइनन् एमाले छाडेर नेकपा एकीकृतमा रहेका माधवकुमार नेपाल र झलनाथ खनालले गर्न नसकेको काम केपी ओलीले गर्ने दाबी सुनाउँछन् पाण्डे।

उनले मनमोहन अधिकारी नेतृत्वको सरकारको पालादेखि सुरु भएको वृद्ध भत्ता दिने कामको जस अरूलाई दिन चाहेनन्। 

अबको चुनावमा एमालेको बहुमत आउने र एमालेले सुखी नेपाली, समृद्ध नेपाल बनाउने ओलीको बोलीमा लोली पनि मिलाए। उनले परिवार, नातागोता, माइती मावली शाखा सन्तान सबै एमाले रहेको सुनाए। 

उनीहरू जस्ता धेरै कार्यकर्ताले महाधिवेशनको माहौल हेर्न आएको बताएका थिए। एमालेको सरकार भएको भए विकास हुन्थ्यो भन्ने कार्यकर्ताको चितवनमा कुनै कमी थिएन। काम गर्न नदिएको र पानी जहाज पनि आउन नसकेको सुनाउन एमाले कार्यकर्ता अग्रसर हुन्थे।

१० मंसिर, २०७८, २१:२२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।