महाधिवेशन डायरी : सवारी चल्नै नदिने रे, यो त नेपाल बन्द जस्तो भएन? 

महाधिवेशन डायरी : सवारी चल्नै नदिने रे, यो त नेपाल बन्द जस्तो भएन? 

महँगो भाडाबारे यात्रुलाई कन्भिन्स गराउन खोज्दै थिए उनी। अघि-पछि सौराहाबाट ८ सय रुपैयाँ हो, आज सौराहा चोकबाट चढ्ने भएकोले २ सय रुपैयाँ घटाएको उनको भनाइ थियो।

'पेट्रोलबाट चल्ने गाडी हो। तेलको भाउ वर्षमा तीन पटक बढ्छ। हामी गरिब हौं। साउदी, कतार, दुबई गरी १२ वर्ष विदेश बसें। परिवारमा दुई छोरा, श्रीमती र म छौं। बाँच्नै पर्यो,' सापकोटाले आफ्ना कुरा सुनाए।

एमाले महाधिवेशनमा सहभागी हुन आएका कार्यकर्ताले सौराहा तथा नारायणी नदी किनारका सबै होटल यतिबेला भरिभराउ छन्। आगन्तुकको जमघटले भीड त बढेको छ नै, सवारी साधनको चापले साना सवारीले बाटो पाउनै मुस्किल छ। 

'भीडभाड र यात्रुको चापका कारण सौराहामा सफारी गराउने र भित्र मात्र यात्रु ओसार्ने हामी हाइवेमा हिँड्नुपरेको छ,' उनले सुनाए। 

केही सुस्ताएको व्यवसाय एमाले महाधिवेशनले चलायमान बनाएको छ। सौराहा र बाहिर छुट्टाछुट्टै समूहका अटो छन्। 

'भित्र १०० हाराहारीमा पनि हुन्छौं, कहिले-कहिले ५०-६० त कहिले २०-३० वटा अटो पनि हुन्छ। कति चल्छन् भन्न सकिँदैन,' सापकोटाले संख्या खुलाए। 

लकडाउनमा स्वास्थ मापदण्डको पालना गर्दै यात्रुलाइ सेवा दिएको उनले बताए। 

'लकडाउनमा एम्बुलेन्सको काम गर्यो हाम्रो अटोले। पास बनाएर, स्वास्थ मापदण्ड पालना गरेर यात्रु ओसार्ने काम पनि गर्यो,' उनी भन्छन्, ' अहिले यात्रु पाएर पैसा महँगो लिए पनि सवारी चापका कारण धेरै टिप गर्न सकिएको छैन।'

अहिले उनी दैनिक २४ सय रुपैयाँ कमाउने रहेछन्। 'दिनको २४ सयजति कमाइ हुन्छ। त्यसमा एक हजारको तेल खर्च हुन्छ, 'उनी सुनाउँछन्, '६ लाखको अटो हो। ह्रासकट्टी कटाउँदा ज्याला गर्दा सरदर ५-७ सय वचत हुन्छ।' 

महाधिवेशन अवधिभर सौराहामा सधैंको पार्किङमा अटो नराख्न ट्राफिक प्रहरीले निर्देशन दिएको थियो। ट्राफिकको यो नियमप्रति असन्तुष्टि व्यक्त गर्छन् सापकोटा। भन्छन्, 'राज्यलाई कर तिरेका छौं, यहाँ राख्न किन नपाउने?' 

१८ किलोमिटरको यात्रामा १० किलोमिटर यात्रा गरिसकेपछि ट्राफिक प्रहरीले बाइपास डाइभर्सन गर्यो। यतिबेला बिहानको ७ बजेको थियो। 

'९ बजेबाट सवारी चल्नै नदिने रे। यो त नेपाल बन्द जस्तो भएन?,' चालक सापकोटाले जिज्ञासा राखे। 

भरतपुर आसपासको क्षेत्र, महाधिवेशन आयोजनास्थल वरिपरिका चोकमा यात्रुबाहक सवारी साधनमा रोक लगाइएको छ। अत्यावश्यक सवारी बाहेक तीन किलोमिटर परै रोकिएको छ।

महाधिवेशन वरपर मुल चोकलाई छल्दै अटो चलिरहेका छन्। चढ्यो कि न्यूनतम ५ सय रुपैयाँ तिर्नुपर्छ। 

अर्का अटो चालक सुरेश मिश्र हतार-हतार सँघुरो गल्लीभित्र अटो घुमाउँदै थिए। 

'अहिले त समस्या छैन, सब ठिक छ। भर्खरै टिम पुर्याएर आएँ। पहिला दैनिक २ हजार रुपैयाँ कमाइ हुन्थ्यो। अहिले तीन हजार भएको छ। महाधिवेशनले राम्रो गरेको छ, 'उनले खुसी व्यक्त गरे। 

अर्का चालक हरि ढकाल पनि अहिलेको कमाइले दंग छन्। सुतेको हाम्रो व्यवसाय महाधिवेशनले उठाएको छ। होटलवालाहरु त मालामाल नै भएका छन्।'
 

१० मंसिर, २०७८, १६:०५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।