प्रकाशमान र शशाङ्कलाई सम्झाउँदै रामचन्द्रले भने ' कुरा बुझौँ न, अहिले शेरबहादुरसँग हैन क्या, चुनाव लड्नुपर्ने आरजुसँग हो'

प्रकाशमान र शशाङ्कलाई सम्झाउँदै रामचन्द्रले भने ' कुरा बुझौँ न, अहिले शेरबहादुरसँग हैन क्या, चुनाव लड्नुपर्ने आरजुसँग हो'

महाधिवेशनको मिति नजिकै आए पनि नेताहरूबिच सहमति हुन सकेको छैन। एकै ठाउँमा बसेर छलफल समेत हुन नसकेको अवस्थामा शनिवार वरिष्ठ नेता पौडेल, महामन्त्री कोइराला र नेता सिंह महामन्त्री कोइराला निवास महाराजगन्जमा छलफलका लागि जुटे। छलफलमा शेखर भने थिइनन्।

आफ्नो समूहबाट सभापतिको उम्मेदवारमा सहमति जुटाउन भएको छलफलमा कुनै सहमति हुन सकेन। केवल आरोप प्रत्यारोप र घोचपेच मै सकियो।

३० मिनेटको छलफलमा पौडेल र सिंहबिच बढी नै चर्काचर्की भयो। शंशाकले मिलेर जाऔँ मात्रै भनिरहे।

छलफलमा पौडेलले सभापतिमा आफूलाई शेखर कोइरालाले समर्थन जनाउने भन्दै कोइराला र सिंहलाई समर्थन गर्न आग्रह गर्दै भने' तपाईँहरूले पनि समर्थन जनाउन पर्यो।'

शशाङ्क मौन नै बसे। प्रकाशमानले शेखरले आफूलाई पनि समर्थन जनाउने दाबी गरे। यी दुवै नेताबिच शुक्रवार सिंह निवास चाक्सीवारिमा छलफल भएको थियो।

सिंहले बैठकमा भने ‘उहाँ अहिले हुनुहुन्न। उहाँसँग पनि छलफल गरौँला। दाइ अहिले पहिलेजस्तो अवस्था छैन, साझा उम्मेदवार तय गरौँ।'

छलफलको प्रारम्भ सौहार्द रूपमा अगाडि बढे पनि पौडेल र सिंहबिच विवाद सुरु भयो। विवाद बढ्दै जाँदा शेरबहादुरलाई कसले पार्टी बुझाएको भन्नेसम्ममा पुगे दुवै नेता।

पौडेलले सिंहलाई 'तपाईँहरूले देउवालाई पार्टी बुझाएको' भनेपछि प्रकाशमानले जवाफ फर्काउँदै भने' पार्टी बुझाएर नै राजनीतिक समन्वय समितिको संयोजक पाउनु भयो नि।'

पौडेल अनि नरम भए। उनले माधव नेपाल र प्रचण्डले केपी ओली जस्तै देउवासँग असुरक्षित महसुस गरेको सुनाए। उनले काँग्रेससहितका दललाई मिलाएर लैजाने आफू मात्रै भएको दाबी गरे। 

पौडेल र सिंहबिचको कुराकानी यस्तो थियो :

रामचन्द्र : कृष्ण पौडेलले अहिले पनि खुरुखुरु नाम पठाउने काम गरिरहेका छन्। हाम्रा साथीहरूमाथि आक्रमण हुन थालेको छ। मतगणना स्थलमा आक्रमण भएको छ।  पार्टी बचाउन गारो भएको छ। उम्मेदवार हुने मात्रै होइन, शेरबहादुरलाई हराउन सक्नुपर्छ। हामी कहाँ एडजस्ट हुन सक्छौ? कसलाई अगाडि सार्दा जित्न सकिन्छ? उम्मेदवार हुनु मात्रै प्राथमिकता हो कि? हामी आपसमा लड्ने हो भने शेरबहादुर पहिलो राउन्डमै सभापति हुन्छन्।

हाम्रा साथीहरू हारेका छन्। हाम्रै बिचमा कुरा मिलिरहेको छैन। जित्ने ठाउँमा पनि जितिरहेका छैनौ। पेटमा पाप भएको मान्छेले भन्दै हिँड्दैन। राज्य सत्ता, प्रशासन, पैसा शेरबहादुरले प्रयोग गरिरहेका छन्। तपाई एक्लैले चुनाव जित्नु हुन्न। 

प्रकाशमान सिंह : के आधार छ एक्लै चुनाव जितिँदैन भन्ने? तपाई कार्यवाहक सभापति भएको समय अहिले होइन। शेरबहादुर- शेरबहादुर नबोल्नु दाई। समय अर्कै भइसक्यो। त्यो त बुझ्नु। शेरबहादुरको विकल्पमा पार्टीको १३ औँ महाधिवेशनमा तपाईँलाई सहयोग गरेका हौ दाइ। 

रामचन्द्र : काठमाडौँका साथीहरू बोलाएर टिम बनाउनु हुन्छ। हारे पनि को लड्यो शेरबहादुरसँग ? माधव नेपाल र प्रचण्ड असुरक्षित महसुस गर्न थालेका छन् शेरबहादुरसँग। कुरा सुन्नुभयो। बुझ्नु भयो। शेरबहादुरलाई पार्टी बुझाउने कुरा गर्नुहुँदैन। 

प्रकाशमान : दाइ म तपाईँको कुरा त सुनेको सुन्या छु। तपाई कुरा गर्नु हुन्छ। शेरबहादुरलाई तपाईँले नै बुझाएको हो। 

रामचन्द्र : तपाईँले बुझाएको हो। 

प्रकाशमान : अर्कै अर्कै कुरा गर्नुहुन्छ। 

रामचन्द्र : के गर्ने त ? शेरबहादुरलाई जिताउने भए लड्नुहोस्। साथीहरूको भावना बुझ्नु पर्छ। देशभर शेरबहादुरको विकल्प खोजिरहेका छन् पार्टीमा। प्रजातन्त्र जान लाइसक्यो। शेरबहादुरको उक्साहटमा तपाईँहरू सभापति छोड्दिन भन्नुहुन्छ। ठन्डा दिमागले बुझ्नुहोस्। हाम्रो बिचमा मात्रै कुरा भएर हुँदैन होला। रिक्वेस्ट हो मेरो। २००७ सालमा राणा शासन ढालेको काँग्रेस। अहिले शेरबहादुर लडिरहेको होइन। यो आरजु राणा लडिरहेको हो। सबै नेटवर्क आरजुबाट प्रयोग भइरहेको छ। मलाई पैसासैसाको लोभ छैन। चुनावमा पार्टीलाई जिताउन पाए मात्र हुन्छ।

पौडेलले आजको छलफलबारे मिडियामा केही नभनौ,पछि फेरि छलफलमा बसौँला भन्दै आधा घन्टाको छलफल टुंग्याए।

४ मंसिर, २०७८, २१:०८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।