सशस्त्र प्रहरीको बदमासी : घरमा श्रीमती हुँदाहुँदै कान्छी ल्याएर विवाह दर्ता गरे, वडाको समेत मिलेमतो

सशस्त्र प्रहरीको बदमासी : घरमा श्रीमती हुँदाहुँदै कान्छी ल्याएर विवाह दर्ता गरे, वडाको समेत मिलेमतो

बिहे गरेको एक वर्षपछि २०७६ सालमा अजुर्नले सशस्त्र प्रहरीको जवान पदमा जागिर खाए। २०७७ मा मुनाले छोरी जन्माइन। बच्चा जन्मिए पनि मुनाको उमेर नपुगेका कारण विवाह दर्ता हुन सकेन। 

अर्जुन पल्टन धाउँथे भने मुनाले घरायसी कामकाज, सासू ससुरा देवर र नन्दको स्याहारसुसार गर्थिन्। सम्बन्ध राम्रै थियो। बेलाबखत घरमा आएको बेला झगडा गरेर मुनालाई माइत पठाउँथे। माइतीले सम्झाई बुझाई फर्काउँथे। 

बिस्तारै अर्जुन पल्टनबाट घर आउन छोडे। अर्जुनको दरबन्दी नवलपरासीको २६ नम्बर गणमा छ। गाउँघरका छिमेकीले पनि कुरा काट्न थाले। पहिला पनि अर्जुनले दुई तीन वटा बिहे गरेर छोडेको भन्ने थाहा पाएपछि मुना छाँगाबाट खसेजस्तै भइन्।

अर्जुनले उदयपुरको बेलडा नगरपालिकी मन कुमारी आलेसँग बिहे गरेर बसेका रहेछन्। यो वर्षको भाइटिकाको केही दिन अगाडी अर्जुन गाउँ आए। उनले विवाह गरेर ल्याएकी मनकुमारीलाई पनि सँगै ल्याएर आफन्तको घरमा राखेका रहेछन्। 

मुनालाई तिहार मनाउन भन्दै माइत पठाएर अजुर्नले मनकुमारीसँग एक वर्ष अगाडी बिहे गरेको भन्दै वडा कार्यालयबाट विवाह दर्ता गरे। 

वडाध्यक्षलाई अर्जुनको घरमा श्रीमती रहेकोबारे थाहा थियो। वडाध्यक्ष अर्जुनको नातेदार थिए। घरमा जेठी श्रीमती भएको थाहा हुँदाहुँदै उनले नयाँ विवाह दर्ता गरिदिए।

‘उहाँले बिहे गरेर ल्याई आफन्तको घरमा राख्नुभएको रहेछ। मलाई तिहार मनाउन जा भन्नुभयो। म यता आएको मौका छोपेर वडाध्यक्षसँग मिलेर ल्याएकी केटीको बिहे दर्ता गरेर गइहालेछन्’,मुनाले भनिन्, ‘पहिला मेरो उमेर पुगेन भनेर विवाह दर्ता भएन। अहिले वडा कार्यालयमा छोरीको जन्म दर्ता बनाउन जाँदा त अध्यक्षले उसले केटी ल्याएर बिहे दर्ता बनाएर गइसक्यो जन्म दर्ता बन्दैन भन्नुभयो।’

अहिले अर्जुनले मन कुमारीसँग विवाह भएको भनी विवाह दर्ता गरी आफूसँगै लिएका छन्। मुना भने यता न्याय माग्दै वडा कार्यालय धाइरहेकी छन्। उनकी छोरीको पनि जन्म दर्ता भएको थिएन। एक दुई दिन अगाडी माइतीले वडा कार्यालयमा दबाब दिएपछि मात्रै छोरीको जन्मदर्ता  बन्यो।

अर्जुन र मान कुमारीले वडा कार्यालयमा विवाह दर्ताका लागि भरेको अनुसूची फारममा २०७७ असोज २२ गते विवाह गरेको उल्लेख गरेका छन्।

अर्जुनका बुवा अम्मर बहादुर चितौरेले मङ्सिर २ गते छोरा अर्जुन र मान कुमारीलाई बोलाउने जिम्मेवारी लिएर कागज गरेका थिए। २ गते नआएपछि अझ एक हप्ताको समय थप गरेका छन्।

माइती पक्षले भने अबको केही दिनमा प्रहरीमा मुद्दा दिने प्रक्रिया सुरु गरेका छन्। यस विषयमा लेकवेसी नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष मान बहादुर खडलुकलाई दुई दिनदेखि बारम्बार फोन गर्दा उनले फोन नै उठाएनन्।

सशस्त्र प्रहरी ऐन २०५८ मा यसरी अर्को बिहे गरेको प्रमाणित भई मुद्दा चलेपछि स्वतह: निलम्बन पर्ने व्यवस्था छ।

३ मंसिर, २०७८, २०:३२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।