एक खुट्टाले कथक गर्दै विश्वलाई आफ्नो प्रतिभा देखाउने सीताको कथा

एक खुट्टाले कथक गर्दै विश्वलाई आफ्नो प्रतिभा देखाउने सीताको कथा

सीता सुवेदी शास्त्रीय नृत्य 'कथक'को नृत्याङ्गना हुन्। कथकमा हात तथा खुट्टाको सर्वाधिक प्रयोग गरिन्छ।

तर सीताको एउटा खुट्टा छैन। १२ वर्षको उमेरमा बोन म्यारो क्यान्सरका कारण उनको खुट्टा नै गुम्यो। यद्यपि, उनको प्रतिभाले भने कहिल्यै बाहाना खोजेन।

उनलाई आफूसँग एउटा मात्रै खुट्टा छ भन्ने जस्तो पटक्कै लाग्दैन। उनले त एउटा खुट्टाबाटै विश्वसामु आफ्नो प्रतिभा प्रस्तुत गरिसकेकी छिन्। 

अहिले सीता नेपाल मात्रै होइन, विश्वमै एक खुट्टाले कथक नृत्य गर्ने एक्लो नृत्याङ्गना हुन्। 

३२ लक्षणले युक्त नभएकालाई कथक सिकाइनु पाप
नाचमार्फत कथा भन्ने कला नै कथक नृत्य हो। महाभारत र कृष्णसँग जोडिएको कथकको नृत्याङ्गना ३२ लक्षणले युक्त हुनुपर्ने मान्यता छ।

भारतमा ३२ लक्षण नभएकाहरू कथक नाच्नु त परको कुरा, उनीहरूलाई नृत्य सिकाइनु समेत पाप मानिन्छ। 

'३२ लक्षण नभएकाले कथक नाच्नै हुँदैन भन्छन्। मेरो त लक्षण मात्रै होइन शरीरको पूरा अङ्ग समेत छैन', सीताले भनिन्। 

एउटा खुट्टा नभएकै कारण कथक सिकाउने गुरुहरू उनीबाट टाढा भएको नमीठो अनुभव छ। पाप र धर्मको यो द्वन्द्वलाई पराजित गर्न निकै संघर्ष गर्नु पर्याे उनले। 

'भारतमा त्यति धेरै कथक नृत्याङ्गना छन्। एक खुट्टाले नाच्ने पनि होलान् जस्तो लागेको थियो', सीताले भनिन्, 'पाप लाग्छ भनेर कसैले कथक नै ननाच्ने रहेछन्।' 

बोनम्यारो क्यान्सरले लग्यो देब्रे खुट्टा
चितवन मेघौलीकी सीता सानैदेखि चञ्चले थिइन्। गीत गाउन र नाच्न खुबै मनपर्ने। प्रत्येक शुक्रबार अतिरिक्त क्रियाकलाप हुने भएकाले विद्यालयमा उनको पर्खाइ सधैं शुक्रबारकै हुन्थ्यो। सीता आफैंले गीत लेख्ने, सङ्गीत भर्ने, गाउने र नाच्ने गरेर पुरस्कार जित्थिन्। 

नाच्ने क्रममै एक पटक उनको देब्रे खुट्टाको घुँडाभन्दा तल हल्का सुन्नियो। अभिभावकले धेरै चिकित्सकलाई देखाए पनि। तर समस्या नै पत्ता लागेन। 

सबैको औंलो भरतपुर क्यान्सर अस्पतालतिर सोझियो। क्यान्सर अस्पतालमा खुट्टाको हड्डी निकालेर परीक्षण गर्दा थाहा भयो- उनलाई बोनम्यारो क्यान्सर भएछ। 

सीता त्यति बेला १२ वर्षकी थिइन्। 

चिकित्सकले देब्रे खुट्टा काटेर फाले मात्रै क्यान्सरबाट छुटकारा पाउने बताए। सानो उमेरकी सीता छाँगाबाट खसे जस्तै भइन्।

उनलाई अकालमा मर्न मन थिएन। त्यसैले ०५७ सालमा उनको देब्रे खुट्टा काटेर फालियो। खुट्टा काटेपछि नाच्न पाइँदैन भन्ने सीतालाई थाहा थियो। त्यसैले काट्ने अघिल्लो दिन उनी अघाउने गरी नाचिन्। 

कुभिण्डोलाई टेको
अस्पतालमा उनकै उमेरकी अर्की किशोरीको पनि खुट्टा काटिएको थियो। ती किशोरी बाँचिनन्। 

अस्पतालमा पनि सबैले ती किशोरी बाँच्छिन्, सीता बाँच्दिनन् भन्थे रे। सीताकै आमाले पनि 'तिमी त ४ बजे मर्छौ रे!' भन्दै छेउमा आउँथिन्। 

तर यति हुँदा पनि उनको आत्मविश्वासले हार मानेन। उनी मृत्युको मुखमा पुगेर बाँचेर फर्किइन्।  

खुट्टा काटेको दुई वर्षपछि उनी कक्षा सात पढ्नका लागि विद्यालय पुगिन्। १२ सय विद्यार्थीले उनलाई घेरे। सबैका दुई खुट्टा, उनी मात्रै बैशाखीमा। 

तर सीतालाई भने आफू निकै महत्त्वपूर्ण लाग्यो। अरूभन्दा पृथक, सबैले हेर्न चाहने। 

क्यान्सर लागेर खुट्टा काटेको भन्दै उनी बसेको सीटमा साथीहरू बस्थेनन्। सरुवा रोग हो, सर्छ भन्ने भ्रम थियो उनीहरूमा। आफू एक्लै पहिलो सीटमा बसेर पढ्दा भने उनलाई नरमाइलो लाग्थ्यो। 

सीताले आफूलाई त स्वीकारिन् तर उनका परिवारले स्वीकार्न सकेन। सग्लो जन्माएको छोरीको खुट्टा काटिएपछि उनका बाबु सीतालाई घरबाहिर निस्कन दिँदैनथे। 

टोलमा 'सद्दे छोरीलाई आधा बनाएर ल्यायौ, कुभिण्डोलाई टेको लगाएर अडिन्छ र!' भन्थे। सीताका बुवाले यही कारण मानसिक समस्या समेत झेले।

खुट्टा लाउन पाउँदाको खुशी
उनलाई आसै थिएन- दुई खुट्टाले हिँड्छु भन्ने। त्यही समयमा भरतपुर अस्पतालमा साहित्यकार पारिजातकी बहिनी सुकन्यासँग उनको भेट भयो। 

सुकन्याले नै सीतालाई जानकारी दिइन्- कृत्रिम खुट्टाको बारेमा। सुकन्याले कृत्रिम खुट्टा लगाएर ठमठमी हिँड्न सकिन्छ भनेपछि सीताको मन फुरुङ्ग भयो।

केही महिनापछि उनले खुट्टा पाइन्। लगाइन्। तर कृत्रिम खुट्टा भारी थियो। झण्डै पाँच किलोको खुट्टाले तिघ्राका मासु लुछेर घाउ बनाउँथे। तर उनले दुखे पनि, तर्तरी रगत बगे पनि खुट्टा लगाउन छाडिनन्।

नाच सिक्ने लोभमा भरतपुर
गाउँमा एसएलसी पास गरेपछि उनी भरतपुर पढ्न आइन्। परिवारका सदस्यलाई यो स्वीकार्य नै थिएन। सीताको उपचारमै परिवारले धेरै आर्थिक संकट भोगिसकेका थिए। भरतपुर राखेर पढाउन परिवारसँग सामर्थ्य थिएन। 

एकातिर परिवारकी जेठी छोरी भएकाले भाइबहिनीको भविष्य हेर्ने जिम्मा उनैको थियो, अर्कोतिर भरतपुर पुगे नृत्य र गायन सिक्ने लोभ पनि। 

गाउँमै आईए पनि पढाउन थालेका थिए। तर महँगो थियो। भरतपुरमा ४५ रुपैयाँमा पढ्न पाइन्थ्यो। कमाएर पढ्न सक्छु भन्ने आत्मबलसहित उनलाई कलाकै लोभले भरतपुरतिर डोहोर्यायाे।

भरतपुर आएर सबैभन्दा पहिला उनले सिलाइको तालिम लिइन्। दुई महिनामै सिलाइबाट सामान्य कमाउने समेत बनिन्। त्यही कमाइले ११ कक्षामा भर्ना भइन्। 

पछि त फूल टाइम सिलाइ पसलमा काम गर्न थालिन्। भाग्यवश, आफूले उपचार गराइरहेको अस्पतालका चिकित्सक, नर्सका कपडा सिलाउने ठेक्का उनकै साहुनीले पाइन्। 

रातभर नसुतेर कपडा सिलाएको सम्झँदै उनले भनिन्, 'मैले एक हप्ता काम गरेर त्यो समयमा १७ हजार कमाएको थिएँ।'

पैसा कमाउनेबित्तिकै उनले हार्मोनियम किनिन्। साथमा सिलाइ मेसिन र साइकल पनि लिइन्। कृत्रिम खुट्टाको सहाराले साइकल राम्रोसँग चलाउन सक्ने भएकी थिइन् उनी।

बल्ल उनी नृत्य सिकाउने ठाउँमा पुगिन्। एक महिनाजतिपछि मुखैले नृत्य सिकाउने गुरुले भने, 'दुई खुट्टाले नाच्नेले त केही गर्न सकेका छैनन्, एक खुट्टाले धेरै दुःख नगर।' 

सीताले यो अपमान सहन सकिनन्। उनी फर्केर कहिल्यै त्यो ठाउँ टेकिनन्। 

काठमाडौंले मोहनी लगायो
अपाङ्गता सम्बन्धी काम गर्ने संस्थाले कम्प्युटर, प्रिन्टिङ लगायतका सीप सिकाउने भयो। उनले पनि फारम भरिन्। खाने बस्ने सुबिधासहितको छात्रवृत्ति पाएपछि उनी ०६३ सालमा काठमाडौं आइन्।

चितवनको गर्मीमा कृत्रिम खुट्टा लगाउन निकै समस्या हुन्थ्याे। गर्मीले छाला फतफती गल्थे। काठमाडौंको हावापानीमा उनलाई खुट्टा लगाएर हिँड्न कुनै समस्या परेन। 

सीतालाई काठमाडौंको हावापानीले मोहनी लगायो। 

तालिम सकिएपछि एक संस्थामा झण्डै तीन वर्ष स्वयंसेवा गरिन् उनले। उनले भनिन्, 'पैसा तिरेर नसिक्ने काम त्यो संस्थाले सिकायो। त्यसैको जगले आज काम गरेर खान सक्ने भएकी छु।'

उनले ललितकला क्याम्पसबाट नृत्य विषय पढेकी हुन्। तर आईए प्रथम वर्षको नतिजा राम्रो ल्याए पनि उनले दोश्रो वर्षमा भने पढ्न पाइनन्। कारण- कलेजले भर्ना लिनै मानेन। 

सीताले भनिन्, 'मैले निकै अनुरोध गरें, महिला प्रमुख हुनुहुन्थ्यो तर उहाँले भर्ना लिनै मान्नु भएन।'

पछि उनले धनबहादुर गोपालीसँग सङ्गीत सिक्न थालिन्। उनले सीतालाई कलेजमा पढ्न नपाए पनि कलेज जस्तै हो भनेर कलानिधि इन्दिरा सङ्गीत महाविद्यालय पढ्न सुझाव दिए। 

उनकै सुझावलाई मान्दै सीता कलानिधिमा कथक सिक्न थालिन्। उनी हालसम्म पनि कथक नृत्यको विद्यार्थी हुन्। 

यही बीचमा उनले नेपाली विषयमा स्नातकोत्तर गरिन्। अहिले सङ्गीतमा अर्को स्नातकोत्तर थप्ने तयारीमा छिन्।

* शीर्षक परिवर्तन गरिएको

३० कात्तिक, २०७८, ११:४१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।