दीपेन्द्र के खनाललाई 'गाँठो' को छायाङ्कनले किन तान्यो?

दीपेन्द्र के खनाललाई 'गाँठो' को छायाङ्कनले किन तान्यो?

नेपाली फिल्मका नामी निर्देशकको नाम लिनुपर्दा दीपेन्द्र के खनाल अग्रपङ्क्तिमा आउँछन्। यतिमात्र होइन, सबैभन्दा बढी पारिश्रमिक लिने निर्देशकको रूपमा समेत उनको चर्चा हुने गर्छ।

निर्देशक खनालले धर्मा, चपली हाइट, भिजिलान्ते, झोले, पशुपति प्रसाद, चपली हाइट २, धनपति, आमा जस्ता फिल्म बनाए। तर यीमध्ये सर्वाधिक लोकप्रिय फिल्म भने पशुपति प्रसाद नै हो। यो फिल्मबाट उनले उत्कृष्ट निर्देशकको पुरस्कार पाएका थिए।

खनाल यथार्थपरक फिल्म बनाउनुपर्छ भन्ने मान्यता राख्छन्, जसको कथा यही समाजका कथा हुन्। निर्देशन गर्दा हरेक विधामा उत्तिकै ध्यान दिने निर्देशक खनालसँग आज हामीले फिल्म छायाङ्कनका बारेमा कुरा गरेका छौँ।

उनलाई मन पर्ने छायाकार को हुन्, एउटा उत्कृष्ट छायाकारमा हुनुपर्ने कौशल के-के हो, उनलाई छायाङ्कनले प्रभाव पारेको फिल्म कुन हो जस्ता विषयमा निर्देशक खनालको अनुभव उनकै शब्दमा:

दीपेन्द्र के. खनाल

छायाङ्कन (सिनेमाटोग्राफी) एक कला हो। चित्रकारले जसरी खाली क्यानभासमा रङ, प्रकाश र वस्तुको समायोजन गरेर सुन्दर चित्र बनाउँछ, छायाङ्कन पनि त्यस्तै हो।

छायाकार बन्न रङ, प्रकाश र सब्जेक्टमाथि गहिरो ज्ञान आवश्यक हुन्छ। छायाकारमा कला चेतना अत्यधिक हुनुपर्छ। किनकि छायाकार पनि एक चित्रकार जस्तै हो। उसले पनि दृश्यमा रङ, प्रकाश, वस्तु लगायतको सुन्दर समायोजन गरेर नै सुन्दर र विश्वसनीय दृश्य छायाङ्कन गर्न सक्छ।

सिनेमामा धेरै विधा छन्। नेपालमा सबै विधाका सिनेमा एकै छायाकारले खिच्छन्। तर अन्तर्राष्ट्रिय अभ्यासलाई हेर्ने हो भने सिनेमाको विधा अनुसार छायाकार पनि फरकफरक हुन्छन्।

हामीकहाँ एकै छायाकारले खिच्नुपर्ने बाध्यता होला। त्यो बाध्यताको कारण बजार र बजेट पनि होला। तर पनि पछिल्लो समय हाम्रा सिनेमामा पनि  कुन प्रकृतिको कथा हो, सोही अनुसारका छायाकारलाई छायाङ्कन गराउने  चलन बढ्न थालेको छ। त्यसको कारण सिनेमा पनि केही हदसम्म कलात्मक देखिने अभ्यासमा छ।

तर, क्यामेरामा फ्रेम मिलाउन जान्दैमा छायाकार बनिन्छ भन्ने गलत बुझाइले धेरै छायाकारलाई गाँजेको छ। जबकि छायाकारले छायाङ्कन कसरी गर्ने भन्ने कुरा त सिनेमाको मर्म अनुसार निर्धारण हुन्छ।

प्रकृतिसँग, मानवीय संवेदनासँग, देशकाल परिस्थितिसँग नजिक भएको पात्रले मात्र सिनेमा छायाङ्कन गर्नुपर्छ जस्तो लाग्छ। तर विडम्बना हाम्रो सिनेमा क्षेत्रमा छायाङ्कनलाई हलुका कामको रूपमा मात्र लिइन्छ। के गर्या छ र? त्यही क्यामेरा तेर्स्याएको त हो नि भन्ने बुझाइ छ। हामीले कलालाई हलुका रूपमा बुझ्नु पनि एक समस्या हो। त्यसले नेपाली सिनेमालाई भलो गर्दैन।

०००

मैले बनाउने सिनेमा यथार्थपरक छन्। जुन सिनेमाको कथा यही समाजका कथा हुन्। यहीँ तपाईँ-हामीले देखेका, भेटेका र सुनेका पात्रहरूभित्र नै मेरा सिनेमा छन्। मेरो स्टाइलका सिनेमा नै मेरो रोजाइको सिनेमा हो। यस्ता सिनेमा खिच्ने छायाकार मेरो रोजाइको हुने नै भयो।

त्यसैले मलाई नरेन्द्र मैनालीको छायाङ्कन निकै राम्रो लाग्छ। सिनेमा ‘गाँठो’ ले मलाई उहाँको छायाङ्कनलाई चिन्ने मौका दिएको थियो। 

एक यथार्थपरक दृश्य छायाङ्कन गर्ने छायाकारमा हुनुपर्ने गुण उहाँमा भरपुर छ। त्यसको मतलब अन्यमा छैन भन्ने होइन। उहाँको प्रकाश समायोजनको कला, रङ समिश्रणको कला र खिच्ने तरिका निकै तारिफयोग्य छ।

एउटा छायाकारले सिनलाई बुझ्नु, परिस्थितिसँग आत्मसात् हुँदै काम गर्नु सानो चुनौती होइन। छायाङ्कनमा पनि कलाकारले कला प्रदर्शन गर्दा जस्तै मसिना कामहरू हुन्छन्। जस्तै: कलाकारको पोसाक, स्थानको रङ, प्रकाशको मात्रा, सिनको भाव लगायतका धेरै मसिना कामहरू। ती काम नरेन्द्रको छायाङ्कनमा देख्न पाइन्छ।

०००

सबै सिनेमा राम्रा हुन्छन् र चल्छन् भन्ने  हुँदैन तर छायाङ्कनको काम भने मजाले देखिन्छ। उसो त एक राम्रो सिनेमा बन्न छायाङ्कन राम्रो भएर मात्र पनि पुग्दैन। सिनेमा धेरै तत्त्वहरूको मिलावटबाट बन्ने कलात्मक वस्तु हो।

हाम्रा सिनेमामा आँखालाई नै बिझाउने प्रकाश हुन्छन्। रङहरूको समायोजन त ध्वस्त नै हुन्छ। धेरै प्रकाश हुँदैमा, धेरै रङ हुँदैमा त्यो छायाङ्कन राम्रो हुन्छ भन्ने हाम्रो बुझाइ छ। तर त्यो गलत हो।

नरेन्द्र मैनालीको छायाङ्कनमा ती समस्या देखिँदैनन्। कसरी थोरै प्रकाशमा खेल्ने, घामको उज्यालोको प्रकृति अनुसार कसरी छायाङ्कन गर्ने भन्ने उहाँको छायाङ्कन हेर्दा देखिन्छ।

धेरै कृत्रिम प्रकाश खेलाउने बानी हाम्रा सिनेमा छायाकारहरूले हटाउनुपर्छ। आवश्यकता अनुसार मात्र प्रकाश राख्नुपर्छ। म चाहिँ केमा विश्वास गर्छु भने वास्तविक छायाकार त्यो हो जसले प्राकृतिक उज्यालो अनुसार छायाङ्कन गर्छ। त्यो तरिका म आफैँ पनि प्रयोग गर्छु र अरूले पनि कसरी प्राकृतिक प्रकाशमा छायाङ्कन गरिरहेका छन् भन्ने ख्याल गर्छु।

०००

मेरो ‘आमा’ सिनेमामा कतै पनि घाम छैन। घाम मेरो कथाले माग्दैनथ्यो। त्यसैले मैले हालिनँ। आमा सिनेमामा साधारण प्रकाशका थोरै  कृत्रिम प्रकाश मात्र प्रयोग गरेको छु। 

प्राकृतिक उज्यालोमा खिच्न समय लाग्छ। हाम्रा मेकरहरुसँग समय छैन। त्यसैले धेरैजसो सिनेमामा आँखा बिझाउने दृश्यहरू देखिन्छ। उसो त हाम्रो बजार पनि सानो छ। सानो बजारमा ठुलो लगानी गर्न पनि सम्भव हुँदैन। लगानी गरेर मात्र भएन। त्यसले प्रतिफल पनि दिनुपर्यो।

आमा सिनेमामा पानी परिरहेकै बेला पानीका सबै दृश्य खिचिएको हो। पानी त हामीले भने जसरी पर्दैन। पानी पर्नेवित्तिक्कै छायाङ्कन सुरु गरिहाल्न पनि  सम्भव हुँदैन। त्यसैले  ८ महिना लाग्यो आमा छायाङ्कन गर्न। ८ महिनासम्म कुरेर छायाङ्कन गर्न समय र बजेट दुवैले साथ दिने अवस्था हुँदैन नि।

अर्को कुरा, सिनको मुड एकातिर, प्रकाशको समिश्रण अर्कातिर, कलाकारको भेसभुसा र स्थलगत रङहरू झन् अर्कातिर हुनाले पनि हाम्रो छायाङ्कनलाई राम्रो देखिन अवरोध पुर्याएको छ जस्तो लाग्छ। सिनेमालाई पनि उच्चस्तरको देखाउन समस्यामा पारेको छ जस्तो लाग्छ। तर छायाङ्कन मात्र राम्रो भएर सिनेमा राम्रो बन्दैन। सिनेमा भनेको त सामूहिक कार्य हो। यसमा चाहिँ निर्देशक तथा टिमका अन्य सदस्यको कला चेतनाले काम गर्नुपर्ने हो भन्ने मेरो बुझाइ हो।

०००

कलामा धैर्यता नभई हुँदैन। चित्रकारले एक चित्र बनाउन कति समय लगाउँछ। छायाकारले पनि छायाङ्कन गर्न धैर्यता, मिहिनेत नगरी नगरी धर छैन।

एक उदाहरण बताउँछु- आमाको क्लाइमेस सिन सुट गर्न मलाई तीन दिन लाग्यो। म्याजिक आवर (गोधुली साँझ)मा सुट गरियो। त्यो त बढीमा ३०-४५ मिनेट बस्छ। त्यसपछि त रात परिहाल्छ।

एकै दिनमा पनि सकिन्थ्यो नि त त्यो सुट। तर मैले सक्काउन हतारो गरिनँ। मलाई सिनले मागेको समय त्यही थियो। मैले चिट गर्न खोजिनँ। समय बचाउन खोजिनँ। लगानीमा लोभ गरिनँ। त्यो सिनले प्रभाव पनि त देखायो। सिनेमा मेकिङमा बजेटको लगानी मात्र होइन, समयको लगानीले झन् ठुलो अर्थ राख्छ भन्ने लाग्छ मलाई।

हामी मेकरहरु चाँडो सक्नलाई टप लाइट (मध्य दिन) मा पनि छायाङ्कन गर्छौँ अनि त्यसको कन्टिन्युटी चाहिँ ५ बजे खिच्छौँ। त्यस्तो अवस्थामा प्रकाश र रङ त एकै लयका दृश्यमा फरक पर्न गर्यो। जर्क आयो। त्यसले कम्पोजिसन त बिगार्यो नि। कम्पोजिसन बिग्रेपछि दृश्य राम्रा हुन्छन्  त? त्यसैले छायाङ्कन गर्दा दिमाग र कलात्मक मनको सन्तुलन अति नै आवश्यक हुन्छ लाग्छ।

छायाङ्कनको बजार हेर्दा पनि हुन्छ। बजारले समय र लगानी सुरक्षित गर्न सक्ने अवस्था आउँदा मजैले छायाङ्कन हुनसक्छ। समय र अर्थको लगानी ठुलो मात्रामा भयो भने विश्व सिनेमामा देखाउन लायकका सिनेमा बन्छन् भन्ने लाग्छ। तर त्यो भनेजस्तो सहज छैन। त्यसका लागि हामी मेकरमा कलाप्रतिको चेत चरम हुनुपर्छ। काम गर्ने पद्धति र प्रणालीको राम्रो ज्ञान पनि आवश्यक हुन्छ। साथसाथै हाम्रो मासको पनि सिनेमा चेतमा परिवर्तन आउनु आवश्यक हुन्छ।

(मलाई मन पर्छ कोलमका लागि उकेराकर्मी ईश्वरकुमार मैनालीले चलचित्र निर्देशक दीपेन्द्र के खनालसँग गरेको कुराकानीमा आधारित।)

६ कात्तिक, २०७८, १४:१४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।