तीन वर्षदेखि जोगिँदै आएका पूर्वसांसद तामाङ ४६ करोड ठगीको आरोपमा हिरासतमा

तीन वर्षदेखि जोगिँदै आएका पूर्वसांसद तामाङ ४६ करोड ठगीको आरोपमा हिरासतमा

काठमाडौँ : ४६ करोड ठगी आरोपमा पूर्व सांसद तथा सिभिल बैङ्कका अध्यक्ष इच्छाराज तामाङ पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले सोमवार उनलाई पक्राउ गरेको हो।

ब्युरो प्रमुख धिरज प्रताप सिंहले तामाङ पक्राउको पुष्टि गर्दै अनुसन्धानका लागि हिरासतमा राखिएको उकेरालाई जानकारी दिए। उनीमाथि सिभिल सहकारीका निक्षेपकर्ता  ठगी गरेको आरोप छ।

एमालेको समानुपातिक सूचिबाट सांसद भएका उनी हाउजिङमा समेत संलग्न थिए। ७० जना निक्षेपकर्ताले आफूहरूलाई तामाङसहितको समूहले ठगी गरेको उजुरी दिएपछि सोमबार उनी पक्राउ परेका हुन्।

प्रारम्भिक उजुरीमा ४६ करोड देखिए पनि सो संख्या बढ्ने देखिन्छ। सिभिल सेभिङ एन्ड क्रेडिट सहकारीका पूर्व अध्ययक्ष रहेका तामाङमाथि सहकारीका २ हजार ६ सय ९० सदस्य बचतकर्ताको ७ अर्ब भन्दा बढि निक्षेप दुरुपयोग गरेको आरोप लाग्दै आएको छ। उनी सिभिल ग्रुपका अध्यक्ष हुन्। 

दोस्रो सुधीर बस्नेत बने इच्छाराज

हाउजिङमा ठगीमा सबैभन्दा बदनाम छन् सुधीर बस्नेत। तामाङ बस्नेतकै कोटीमा पुगेका छन्। बस्नेत पनि सहकारीका वचतकर्ताको रकम हाउजिङमा लगानी गरेर डुबाएका थिए। सिभिल होम्सको नाममा हाउजिङमा लगानी गर्दै आएका तामाङको पतनको यात्राको कारण पनि घरजग्गा कारोबार नै हो। कारोबारमा मन्दी आएपछि उनी सङ्कटमा परेका थिए।

आर्थिक सङ्कट बढेपछि उनले सिभिल ग्रुपद्वारा प्रवर्द्धित सिभिल सेभिङ एन्ड कोअपरेटिभले हाउजिङभित्रको सामूहिक उपभोगको जग्गा समेत धितो राखेर राष्ट्रिय सहकारी बैङ्कबाट १४ करोड रुपैयाँ ऋण लिएको खुलेको थियो।

बैङ्कबाट लिएको ऋणको तनाव बढ्दै गएपछि उनले श्रीमतीसँग डिभोर्स नै गरेर श्रीमतीको नाममा सिभिल बैङ्कमा रहेको १७ करोड ५३ लाखको संस्थापक सेयर बिक्री गरेका थिए। तर त्यसले पनि ऋणबाट पार पाउन सकेनन्। सहकारीका बचतकर्ताले तीन वर्षदेखि सहकारीमा रहेको आफ्नो रकम उठाउन विभिन्न सहकारी निकायमा धाइरहेका थिए।

१८ असोज, २०७८, २२:१२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।