अस्पतालमा न स्वास्थ्यकर्मी न सिटामोल !

अस्पतालमा न स्वास्थ्यकर्मी न सिटामोल !

धनगढीः ज्वरोले च्यापेपछि कैलाली चुरे गाउँपालिका–१ किम्तोलाका भोजबहादुर बम उपचारका लागि शुक्रबार स्थानीय निगाली स्वास्थ्य चौकी पुगे। तर त्यहाँ स्वास्थ्यकर्मी थिएनन्। उनले सिटामोल लिएर फर्किने विचार गरे। 

तर अस्पतालका कार्यालय सहयोगीले सिटामोल पनि सकिएको बताए। त्यसपछि हार मानेर उनी निजी क्लिनिकमा उपचार गरेर घर फर्किए। 

‘उपचारको लागि हाम्रो स्वास्थ्य चौकी गएको, डाक्टर भेटिएनन्, सिटामोल औषधि पनि पाइएन, अनि मेडिकलमा एक हजार रुपैयाँ खर्च गरेर घर फर्किएँ,’ बमले भने, ‘हामी चुरेबासी निकै समस्यामा छौँ, उपचारका लागि पनि सास्ती भोग्नु परिरहेको छ।’

यो त एक प्रतिनिधि घटना मात्र हो। चुरे गाउँपालिका– १ किम्तोलामा रहेको निगाली स्वास्थ्य चौकीमा केही महिना यता स्वास्थ्यकर्मी छैनन्। 

निगाली स्वास्थ्य चौकीमा हाल ६ जनाको दरबन्दी रहेको छ। तर, एक जना पनि स्वास्थ्यकर्मी छैनन्। औषधि ल्याउन दुई महिनाअघि गाउँपालिका कार्यालय गएका स्वास्थ्य चौकी इन्चार्ज विक्रम बोहरा अझै फर्किएका छैनन्। 

स्वास्थ्यकर्मी भूमा घिमिरे सुत्केरी बिदामा छिन्, सागर कार्की र लालीचन्द थारु पनि कार्यालय जाँदैनन्। 

यता निगाली स्वास्थ्य चौकीमा करारका राखेका एक जना ल्याब असिस्टेन्ट, दुई जना अनमी र दुई जना कार्यालय सहयोगी छन्। स्वास्थ्यकर्मी नहुँदा ओपीडी सेवा बन्द अवस्थामा छ। 

‘स्वास्थ्य चौकीमा दैनिक ५० देखि ६० जनाको सङ्ख्यामा सेवाग्राही आउने गरेका छन्। हामीले यहाँ भएको र जानेको औषधी दिएर पठाइरहेका छौँ’, करारमा कार्यरत एक कर्मचारीले भने, ‘चुरेका जनताले स्वास्थ्य सेवा नपाएर मृत्युवरण गर्नुपर्ने बाध्यता छ। भनेको समयमा हामीले सिटामोल पनि दिन सकिरहेका छैनौँ।’

स्वास्थ्य चौकी स्वास्थ्यकर्मीविहीन भएको जानकारी आफूले नपाएको चुरे गाउँपालिका– १ का वडाध्यक्ष हुकुमबहादुर बोहराले बताए। बोहरा निगाली स्वास्थ्य चौकीका व्यवस्थापन समिति अध्यक्ष पनि हुन्। ‘म वडा कार्यालयको काममा व्यस्त छु, स्वास्थ्य चौकी जान पाएको छैन, यदि स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मीहरू नभए आवश्यक कारबाही हामी गर्छाैँ', उनले भने। 

१६ असोज, २०७८, १७:४६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।