अपहरणका प्रतिवादी नै नक्कलीः नेपाली भनेर समातिए, भन्छन् भारतीय

अपहरणका प्रतिवादी नै नक्कलीः नेपाली भनेर समातिए, भन्छन् भारतीय

काठमाडौः प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पुस १५ गते प्रेस विज्ञप्ति जारी गर्दै भन्यो, ‘अपहरण तथा शरीर बन्धक मुद्दामा फरार प्रतिवादी १२ वर्षपछि पक्राउ।’ पक्राउ परेका प्रतिवादीबारे यस्तो विवरण थियोः

नामः सोले कुमार भनिने दुर्गाबहादुर बुढाथोकी। 
वतनः जिल्ला सर्लाही, साविक ढुंग्रेखोला गाविस, वडा नम्बर ५। हाल हरिवन–९
वर्षः ३८
पक्राउ स्थानः जिल्ला इलाम, सुर्योदय नपा वडा नं २, पशुपतिनगर टोल।

एक व्यवसायीको अपहरण गरी एक करोड ५० लाख फिरौती लिएको घटनामा संलग्न रहेका बुढाथोकीलाई ब्यूरोबाट अपराध अनुसन्धान तथा रोकथामका लागि परिचालित प्रहरी टोलीले ०७७ साल पुष १४ गते इलामको पशुपतिनगरमा रहेको भारतसँगको सीमा क्षेत्रबाट पक्राउ गरेको उल्लेख थियो।

सीआईबीले प्रेस रिलिजमा नखुलाए पनि उनको साथबाट प्रकाश क्षेत्रीको नाममा जारी भएको भारतको राशन कार्ड फेला परेको थियो। उनी दार्जिलिङमा 'प्रकाश स्टोर' नामको कपडाको होलसेल चलाएर बसेका थिए।

प्रहरीको प्रेस रिलिजमा उनी अपहरणको केस अगाडि २०६४ वैशाख १५ गते महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरको हिरासतबाट भागेका थिए। त्योबेला उनी मोटरसाइकल चोरीको आरोपमा पक्राउ परेका थिए।

हाइप्रोफाइल अपहरणका फरार अभियुक्त पक्राउको समाचार हाइ साउन्डमै भयो।

तर ८ महिनापछि प्रहरीले जसलाई अपहरणका फरार अभियुक्त भनेर पक्राउ गरेर पूरक अभियोग पत्रसहित अदालत बुझाएको थियो उसले सो अभियोगबाट सफाई पायो।

सफाइको कारण गम्भिर छ।

असोज ५ गते काठमाडौं जिल्ला अदालतका न्यायाधीश अम्बिकाप्रसाद निरौलाले सफाई दिए। फैसलाको पूर्णपाठ आइसकेको छैन। उनको संक्षिप्त फैसलामा सफाई दिनुको २ कारण उल्लेख छः

१. जसलाई अपहरण तथा शरीर बन्धकको फरार प्रतिवादी भनिएको छ उनी सोही प्रतिवादी भएको प्रमाणित हुने प्रमाण पेश नभएको।
२ सोही मुद्दाका सह–अभियुक्तहरूले उनको पहिचान गर्न नसकेको।

अर्थात प्रहरीले जसलाई ११ वर्षदेखि फरार रहेको प्रतिवादी भनेर पक्राउ गरी अदालतमा पेश गर्यो, अदालतले ती व्यक्ति दुर्गाबहादुर बुढाथोकी हैन भनेर गम्भीर प्रकृतिको अभियोगबाट सफाई दियो।

यसको मुख्य आधार देखियो दुर्गाबहादुरले अदालतमा दिएको बयान जहाँ उनले प्रहरीले आफूलाई जुन व्यक्ती हो भनेर पक्राउ गरेको हो सो आफू नभएको दाबी गरिएको छ।

बयानमा उनले आफ्नो तीन पुस्ते विवरण नै नमिल्ने दाबी गर्दै भनेका छन् ‘मेरो बाजेको नाम तीर्थ क्षेत्री हो। बुबाको नाम शिवा क्षेत्री। आमा तारा क्षेत्री हो। मेरो नाम प्रकाश क्षेत्री हो।’

उनले आफू भारतीय नागरिक भएको र आफूलाई नेपालमा नभई नेपालको प्रहरीले भारतको दार्जिलिङमा पक्राउ गरेर नेपाल ल्याएको दाबी गरेका छन्। उनले भनेका छन्, ‘भारतको दार्जिलिङमा कपडा पसल गरेको छु। घर भारतको वेष्ट बंगाल टकभर टि स्टेट फोर्थ डिभिजन दार्जलिङमा पर्दछ। अभियोग पत्रमा उल्लेखित वतन मेरो होइन।’

उनी पक्राउ परे लगत्तै दिएको बयान भने फरक छ। २०७७ पुस ९ गते उनले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका जिल्ला न्यायाधीवक्ता सुदीपकुमार दंगालसमक्ष दिएको बयानमा अभियोग सकारेका छन् नै उनको तीन पुस्ते विवरणसमेत खुलाएका छन्।

आफ्नो तीन पुस्ते विवरणमा बाजेको नाम थाहा नभएको, बुबाको नाम शम्भु बुढाथोकी, आमाको नाम चिनामाया बुढाथोकी र आफ्नो नाम दुर्गाबहादुर बुढाथोकी भएको सकार्दै उनको बयानमा लेखिएको छ- ‘मेरो घर सर्लाही जिल्ला साविकको ढुङ्ग्रेखोला गाविस वडा नम्बर ५ र हालको बागमती नगरपालिका वडा नम्बर २ डुम्रीटोल हो।’

दुर्गाबहादुरकाे बयान

अदालतमा बयान बदल्दा उनले प्रहरीले शारीरिक र मानसिक यातना दिएर सकार्न लगाएको, बयानमा रहेको सहीछाप आफ्नै भए पनि बयानमा के लेखिएको छ त्यसबारे जानकारी नदिएको दाबी गरेका थिए।

सरकारी वकिलको अगाडि दिएको बयान अदालत पुगेर बदलिनु स्वभाविक भए पनि यो बयान भने स्वभाविक थिएन। यसमा व्यक्ति नै अर्कै देखिए। प्रहरीले नेपाली नागरिक भनेर पेश गरेको व्यक्ति आफूलाई भारतीय नागरिक भएको दाबी गरिरहेका थिए। अनी तीन पुस्ते नै अर्कै।

उनले सरकारी वकिलसँग दिएको बयानमा जिल्ला प्रशासन कार्यालयबाट नागरिकता र राहदानीसमेत निकालेको स्वीकार गरेका छन्। तर अदालतमा यी दुवै पेश भएको देखिएन। प्रहरीले पुरक अभियोग पत्र बनाएर अदालतमा पठाउँदा उनको पहिचान खुलाउने कुनै सरकारी कागजपत्र केही पेश गरेमा उनले गरेको दाबी सत्य हो या झुठो सहजै चिनिन्थ्यो। 

तर सीआईबीले पक्राउ गरेर महानगरीय प्रहरी परिसर काठमाडौंमा बुझाएपछि बनेको पूरक अभियोग पत्रमा उनको बयान बाहेक पहिचान खुल्ने दोस्रो कुनै कागजपत्र थिएन। प्रहरीले अपहरणमा परेका रावललाई परिसरमा बोलाएर सनाखत गर्न लगाएका थिए। उनले अपहरणको समयमा आँखामा पट्टी बाँधेकाले एकिन भन्न नसकिने अभियोग पत्रमा जे उल्लेख छ सोही हो भनेको एक प्रहरी अधिकारीले जानकारी दिए।

बहसको क्रममा सरकारी वकिलले पनि जसले आफू प्रकाश क्षेत्री भएको दाबी गरिरहेका छन्, उ प्रकाश क्षेत्री नभएर दुर्गाबहादुर बुढाथोकी भएको कुनै प्रमाण पेश गर्न सकेनन् र उनले सफाई पाए। यस्तो गम्भीर त्रुटी खुलेपछि सीआईबी र काठमाडौं परिसरका अधिकारीहरुसँग जिज्ञासा राख्दा उनीहरूले जो व्यक्ति पक्राउ परेका हुन् उनी सक्कली प्रतिवादी भएको दाबी दोहोर्याए। तर उनले अदालतको बयान ढाँटेका हुन् भन्ने कुनै प्रमाण देखाउन सकेनन्।

सीआईबी प्रमुख धिरज प्रताप सिंहले यो गम्भीर विषय भएकाले ब्यूरोबाट यस विषयमा गम्भीरताका साथ बुझ्ने काम भइरहेको प्रतिक्रिया दिए।

आखिर ढाँट्यो कसले? प्रहरीले कि प्रतिवादीले? उकेराको खोजी जारी छ।

दुर्गाबहादुर बुढाथोकीले २०७७ पुस १९ मा सरकारी वकिल समक्ष दिएको बयान
बाजेको नाम थाहा छैन। बुवाको नाम शम्भु बुढाथोकी, आमाको नाम चिनामाया बुढाथोकी मेरो नाम दुर्गा बहादुर बुढाथोकी हो। मेरो उपनाम कुमार हो। साथीहरूले सोले पनि भन्ने गर्छन्। 

मेरो घर सर्लाही जिल्ला साविकको ढुङ्ग्रेखोला गाविस वडा नम्बर ५ र हालको बागमती नगरपालिका वडा नम्बर २ डुम्रीटोलमा हो। म ३८ वर्षको भएँ। म दार्जिलिङमा कपडा पसल गर्छु। जिल्ला प्रशासन कार्यलयबाट नागरिकता र राहदानी लिएको छु। नम्बर थाहा छैन। श्रीमती छोरा र म समेतको परिवार छ। 

पारिवारिक आर्थिक अवस्था सामान्य छ। सम्पर्क नम्बर छैन। प्रकाश क्षेत्रीको नामबाट फेसबुक चलाउँछु। 

जाहेरवाल हरिकृष्ण रावल र निजको छोरा बाबुराजा रावलसँग मेरो कुनै चिनजान थिएन। प्रल्हाद महत, विष्णु जिसी टासी गुरुङ, विकास कार्की र म समेतको संलग्नतामा २०६५ साल पुस १ गते साँझ काठमाडौँ बालाजु औद्योगिक क्षेत्रबाट हरिकृष्ण रावलका छोरा बाबुराजा रावललाई अपहरण गरि बन्धक बनाई हरिकृष्ण रावलमार्फत एक करोड ५० लाख फिरौती रकम लिई पुस २ गते २०६५ सालमा नै अपहरणमुक्त गरेको हो। 

प्रल्हाद महत, विष्णु जिसी, टासी गुरुङ, विकास कार्कीसमेतलाई भेटी परिचय गरी बाबुराजा रावललाई बन्धक बनाउने घरको चौकीदार तथा रेखदेखको जिम्मा मलाई दिएका हुन्। सोही बमोजिम मैले कार्य गरेको हुँ। 

प्रल्हाद महत ,विष्णु जिसी ,टासी गुरुङ ,विकास बहादुर कार्की समेत जाहेरवाला हरिकृष्ण रावलको छोरा बाबुराजा रावललाई अपहरण गरी बन्धक बनाइ फिरौती लिने योजना बनाइ काठमाडौं धापासीमा घर कोठा भाडामा लिएका रहेछन्। 

अपहरण गर्ने केही दिनअघि मलाई सोही घरमा खाना बस्न व्यवस्था दिई कोठाको चौकीदार गर्ने जिम्मा दिए। सोही अनुसार मैले काम गरेको हो। पुस १ गते बाबुराजालाई अपहरण गरेर ल्याउने सल्लाह हाम्रो समूहमा भयो। सोही दिन साँझ एउटा भ्यानमा राखी बाबुराजा रावललाई कोठामा आँखामा पट्टी बाँधी बन्धक बनाइ बाबुराजाको रेखदेख गर्ने जिम्मा मलाई दिए। 

त्यसपछिका हाम्रा समूहका साथीहरूले बाबुराजाका बुबालाई फोन गरी रकम माग्ने धम्काउने र थर्काउने गर्न थाले। बेलुका बाबुराजाका बुबाले एक करोड ५० लाख पैसा ल्याइदिएपछि उनलाई छाडिएको हो।

प्रल्हाद महत रकम लिन गएका हुन्। त्यसपछि ती साथीहरूले टोखा लगि बाबुराजालाई अपहरणमुक्त गरेका हुन्। प्रल्हाद महतले सुरुमा ११ लाख दिई ५ लाख निजले नै फिर्ता लिए। मैले जम्मा ६ लाख मात्र प्राप्त गरेको हुँ। अन्य को कस्ले कति रकम लिए मलाई थाहा भएन। 
बाबुराजालाई अपहरण गरि फिरौती लिएपछि म, प्रल्हाद महत, विष्णु जिसी, टासी गुरुङ, विकास कार्की समेत पक्राउ परे। उनीहरू पक्राउ परेपछि म ३/४ महिना काठमाडौंको विभिन्न स्थानमा लुकिछिपी बस्न थाले। 

त्यसपछि भारतको दिल्ली हुँदै दार्जिलिङ गएँ। सो क्रममा फिरौती रकमबाट मेरो भागमा परेको ६ लाख दार्जिलिङमा नाम परिर्वतन गरि प्रकाश क्षेत्री नाम राखी भारी बोक्ने काम गर्दै कपडा व्यापारी भएर विवाहसमेत गरी बसेको थिएँ। 

सोही क्रममा इलामको पशुपतिनगरतर्फ घुम्न आउँदा पक्राउ परेँ। 

समूहका साथीहरूले के के भनेर बयान गरे मलाई थाहा छैन। उनीहरूको भागमा कति रकम परेको थियो थाहा भएन। भ्यान प्रल्हाद आफैँले चलाउँथे। आँखामा पट्टी लगाइ बन्धक बनाएको हो। भित्र मलाई जान नदिइ प्रल्हाद महतले सोधपुछ केरकार गर्थे, मलाई भने बाहिर हेर्न लगाउँथे। 

बाबुराजा रावललाई पेस्तोलले तोकेको, कुटपिट गरेको, यातना दिएको, स्लिपिङ ट्याब्लेट खुवाइएको मलाई थाहा भएन। मैले हेर्दा यातना दिएको जस्तो देखिन्थ्यो। प्रल्हादले पेस्तोल लिइ हिड्ने गर्थ्यो। 

अन्य व्यक्तिहरू समेत प्रल्हादसँग आउने गरेका थिए को हुन् थाहा भएन। केदारमान कक्षपतिका छोरा निरज कक्षपतिलाई अपहरण टासी गुरुङले गरेको भन्ने कुरा थाहा भएन।  

दुर्गाबहादुर बुढाथोकीले २०७७ साल माघ १२ अदालतमा गरेको बयान
मेरो बाजेको नाम तीर्थ क्षेत्री हो। बुबाको नाम शिवा क्षेत्री आमा तारा क्षेत्री हो। मेरो नाम प्रकाश क्षेत्री हो। उमेर ३६ वर्ष भएँ। तर अभियोग पत्रमा मेरो बाजे, बुबा, आमाको नामसमेत फरक लेखिएको छ। अभियोग पत्रमा उल्लेखित नाम मेरो होइन।

पेशा भारतको दार्जिलिङमा कपडा पसल गरेको छु। घर भारतको वेष्ट बंगाल टकभर टि स्टेट फोर्थ डिभिजन दार्जलिङमा पर्दछ। अभियोग पत्रमा उल्लेखित वतन मेरो होइन। हरि कृष्ण रावलको जाहेरीले नेपाल सरकार प्रतिवादी भएको अपहरण हो तथा शरीर बन्धक मुद्दामा मलाई प्रतिवादी बनाइ अभियोगका साथ पेश गरिएको हो।

जाहेरवालासँग मेरो कुनै चिनजान छैन। सो मुद्दाका प्रतिवादीसँग समेत मेरो कुनै चिनजान छैन। पुर्तेसहितको वतन मेरो होइन। मसँग कुनै प्रमाण छैन। मलाई भारतको दार्जिलिङबाट पक्राउ गरिएको हो। मैले जाहेरवालाको छोरा अपहरण गरि फिरौती लिएको होइन।

सो जाहेरीमा उल्लेखित जाहेरवाला अपहरणमा संलग्न भनिएका व्यक्तिहरूलाई समेत म चिन्दिन। सो घटनाको सम्बन्धमा मलाई केही जानकारी छैन। जाहेरवालाको छोरा कसले अपहरण गरेको थाहा छैन। 

मुचुल्का सुन्दा यसबारे मलाइ कुनै जानकारी छैन। प्रहरीले भनेर सो बयान लेखेको हो। सो बयान मैले भनेबमोजिम लेखिएको होइन। प्रहरीले कुटपिट गरि बेहोरा लेखाइ सही छाप गराएको हो। मैले अपहरण गरेको छैन। को कस्ले  अपहरण गरे मलाई थाहा छैन। उक्त बयानमा उल्लेखित तीन पुस्ते वतन मेरो होइन। 

टासी गुरुङ प्रल्हाद महत, विष्णु जिसी विकास बहादुर कार्की अपहरणमा संलग्न भनिएकालाई म चिन्दिन। मैले फिरौती लिएको नहुँदा अभियोग बमोजिम सजाय हुनुपर्ने होइन। 

भारतको दार्जिलिङमा मेरो आधार कार्ड छ। मेरो घर दार्जिलिङमा रहेको छ। अहिले पेश गर्न सक्दिनँ। पछि पेश गर्ने छु। अन्य साक्षी प्रमाण केही छैन।

अभियोग पत्रमा भएको मोबाइल मेरो हो। प्रहरीले मलाई जबरजस्ती कुटपिट गरि यस्तो भने भनी भन्न लगाइ उक्त भिडियो बनाएको हो। सो भिडियोमा उल्लेखित बयान मैले राजीखुशी दिएको छैन। 

७ असोज, २०७८, १९:३८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।