रामदेव साहुमाथि अर्को आरोप :  ब्याज बुझाउन जाँदा जग्गा फिर्ता दिन्छु भन्दै बलात्कार गरे

रामदेव साहुमाथि अर्को आरोप :  ब्याज बुझाउन जाँदा जग्गा फिर्ता दिन्छु भन्दै बलात्कार गरे

इटहरीः सप्तरीको सिङ्गो गाउँलाई नै सुकुम्बासी बनाएका रामदेव साहुले एक महिलालाई बलात्कार गरेको आरोप लागेको छ। अहिले सप्तरी छाडेर सुनसरीको धरानमा बस्दै आएका साहुले आफूले हडपेको जग्गा फिर्ता दिने भन्दै एक महिलालाई बारम्बार बलात्कार गरेको पीडितले आरोप लगाएकी छिन्।

सप्तरीका सयौँ परिवारको जग्गा हडपेर बिचल्ली पारेका उनले जग्गा फिर्ताको आश्वासन दिएर ३ वर्षसम्म बलात्कार गरेको पीडितले दाबी गरेकी छिन्। मिटर ब्याजको पैसा तिर्न गएको बेला कोठामा बोलाएर बलात्कार गर्ने गरेको उनको दाबी छ।

जग्गा किन्न भनेर लिएको ४ लाख रुपैयाँको ब्याज तिर्न समस्या भएपछि उनका श्रीमान् विदेश गएका थिए। सन् २००६ मा साउदी गएका उनी २०१५ मा फर्कीए। त्यसबीच श्रीमानले कमाएको २५ लाख रुपैयाँ उनै रामदेव साहुलाई बुझाएको पीडित महिलाको भनाइ छ। 

मिटर व्याजीको रजगज : रामदेव साहुले सिङ्गो गाउँलेलाई बनाए सुकुम्बासी

उनी, श्रीमान् नेपाल आएपछि पनि बारम्बार जग्गा फिर्ता माग्न रामदेव साहुको राजविराज स्थित डेरामा पुगेकी थिइन्। रामदेव साहुले उनलाई चाँडै जग्गा फिर्ता गर्ने आश्वासन दिँदै पटकपटक बलात्कार गर्ने गरेको ती महिलाले उकेरासँग दाबी गरिन्।

ऋणको पासोमा उनी र उनको परिवार यसरी फसेको छ कि, हाल उनी बसेको घर पनि साहुकै नाममा छ। आफूले यसबारे उजुरी दिए जग्गा फिर्ता नपाइने डरले लामो समय चुप लागेको उनले बताइन्।  

पीडित महिलाले ४ लाख ऋण लिएको र हालसम्म २५ लाख बुझाउँदा पनि आफ्नो जग्गा फिर्ता नपाएको दाबी गरेकी छिन्।

श्रीमती बलात्कृत भएकोबारे उनको श्रीमान् पनि जानकार रहेछन्। तर मुद्दा मामिला गर्दा जग्गा फिर्ता नहुने त्रासले उनी पनि मौन बसेका छन्। उनले भने, ‘जग्गा दिन्छु भनेको छ, फेरि दिएन भने तनाव हन्छ।’ 

मुद्दा हाल्ने तयारीमा पीडित
रामदेव साहुबाट पीडितहरूले मुद्दा हाल्ने तयारी थालेका छन्। जिल्ला प्रशासन कार्यलय र जिल्ला प्रहरी कार्यलय सप्तरीमा बुधबार वा बिहीबारसम्ममा उजुरी दिइसक्ने पीडित छेदिलाल पासवानले बताए। 

आवश्यक कागजात भेला पार्ने काम भइरहेकोले केही दिनमै उजुरी दिइने उनको भनाइ छ। 

पीडितहरू एक भएरै न्यायको ढोकासम्म पुग्न लागेको पासवानले सुनाए। बलात्कृत महिलाको विषयमा पनि कानुनी कुरा बुझेर उजुरी दिने उनीहरूको तयारी छ। 

पीडित महिला उजुरी दिन तयार भएकाले स्थानीयले न्याय पाउने ठाउँसम्म पुग्न उनलाई प्रोत्साहन गरिरहेका छन्। तर पीडितका श्रीमान् भने मुद्दा हाल्ने कि नहाल्ने भनेर अलमलमा देखिएको पासवानले बताए।

यसअघि रामदेव साहुले सिङ्गाे गाउँलाई सुकुम्बासी बनाएकाे समाचार तल क्लिक गरि पढ्न सक्नुहुनेछः

६ असोज, २०७८, १४:४३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।