परीक्षामा सहभागी नै नभएका विद्यार्थीलाई पास गराउने मध्यपश्चिमका दुई उपप्राध्यापक बर्खास्त 

परीक्षामा सहभागी नै नभएका विद्यार्थीलाई पास गराउने मध्यपश्चिमका दुई उपप्राध्यापक बर्खास्त 

इन्जिनियरिङ सङ्काय स्नातकोत्तर कार्यक्रमका निर्देशक उपप्राध्यापक विश्वनाथ यादव र कानुन सङ्कायका सुजन पन्तलाई बर्खास्त गरिएको मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा.नन्दबहादुर सिंहले जानकारी दिए।

यादवमाथि आफूखुसी विद्यार्थीलाई नम्बर दिएको र पन्तलाई प्रश्न पत्र बाहिर्याएको आरोपमा बर्खास्त गरिएको हो।

विश्वविद्यालयको नीति र विधि विपरीत शैक्षिक अपराध गरेकोले उनीहरूलाई बर्खास्त गरिएको उपकुलपति सिंहले बताए। 

‘विधि र नीति भन्दा बाहिर रहेर गल्ती गरेका छन्, गल्ती गरेको भएर एउटा कमिटी बनाएर छानबिन गरी निष्कासन गरिदिएका छौँ,’ उपकुलपति सिंहले भने, ‘आर्थिक प्रलोभनमा परी परीक्षामा सामेल नै नभएका विद्यार्थीलाई आफूखुसी नम्बर दिएर पास जस्ता गलत काम गर्नुभएको छ।’

यादव स्थायी हुन् भने पन्त करार सेवामा थिए। पन्तलाई यसअघि नै ३ महिनाका लागि निलम्बन गरिएको थियो।

विद्यार्थीको आन्तरिक मूल्याङ्कनतर्फ विषय शिक्षकले पठाएको नम्बर लुकाएर यादवले आफूखुसी नम्बर दिएको कमिटीको निष्कर्ष थियो। उपकुलपति सिंहका अनुसार उनीहरूलाई सफाइको मौका दिएर बर्खास्त गरिएको छ।

स्ट्रकचरल इन्जिनियरिङ विषयको अन्तिम सत्रको प्रयोगात्मक परीक्षामा उपप्राध्यापकले आफूखुसी नम्बर दिएको पाइएको छानबिन समितिले बताएको छ।

प्रयोगात्मक परीक्षा ४० पूर्णाङ्कको हुन्छ। उक्त परीक्षामा सहभागी १३ जना विद्यार्थीलाई सबै नम्बर दिएको पाइएको छ। कन्स्ट्रक्सन म्यानेजमेन्टका चार वटै विषयमा पनि विद्यार्थीहरूलाई ३४ देखि ३७ नम्बर दिइएको छ।

गलत काम गर्नेहरू कारबाहीको भागीदार हुने भन्दै त्यस्ता व्यक्तिहरूको संरक्षणमा राजनीतिक दल, विद्यार्थी सङ्गठन र अन्य विभिन्न सङ्घ संस्थाहरू कोही पनि नलाग्न उपकुलपति सिंहले अनुरोध गरेका छन्।

२२ असार, २०७८, १२:५९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।