मोडल निशाको उपचारमा आर्थिक सहयोग जुट्दै

मोडल निशाको उपचारमा आर्थिक सहयोग जुट्दै

काठमाडौं : काठमाडौंको नर्भिक अस्पतालमा उपचाररत मोडल निशा घिमिरेलाई आर्थिक सहयोग जुट्न थालेको छ।

उनकाे उपचारका लागि विभिन्न संघसंस्था र व्यक्तिले आर्थिक सहयोग दिन थालेका छन्।

चलचित्र विकास बोर्ड अन्तर्गतको चलचित्रकर्मी कल्याणकारी कोषले हिजो उनलाई आर्थिक सहयोग गर्ने घोषणा गरेको छ। कोषले घिमिरेलाई ५१ हजार रूपैयाँ सहयोग गर्ने निर्णय हो। 

अभिनेत्री करिश्मा मानन्धरले निशाका बुबा प्रेमप्रसाद घिमिरेलाई भेटेर २५ हजार रूपैयाँ सहयोग गरेकी छन्। उनले कलाकारलाई कलाकारको साथ भन्दै उक्त रकम हस्तान्तरण गरेकी हुन्।

उनले भनिन्, ‘हामी कलाकारहरू कलाकारका लागि साथमा छौं भन्नका लागि पनि आफूले आर्थिक सहयोग गरेको हो।’

त्यस्तै, कलाकार संघकी वरिष्ठ उपाध्यक्ष तथा अभिनेत्री रेजिता उप्रेतीले आफ्नो १० हजार, खेलाडी प्रकाश थापाले दिएकाे १० हजार र अमेरिकामा रहेकी अभिनेत्री उषा पौडेलले पठाएको २२ हजार रूपैयाँ निशाका बुबालाई हस्तान्तरण गरेकी छन्। 

म्युजिक भिडियो कलाकार संघले पनि निशालाई आर्थिक सहयोग गरेको छ। संघका अध्यक्ष शंकर बिसीसहितको टिम नर्भिक अस्पताल पुगेर निशाका वुबालाई २० हजार रकम हस्तान्तरण गरेका हुन्। उनले अन्य कलाकार तथा संघ संस्थाले निशा बचाउन अभियानलाई साथ दिन आग्रह गरेका छन्।

लोक तथा दोहोरी गायिका टीका सानुको टिमले पनि ४३ हजार रूपैयाँ आर्थिक सहयोग गरेको छ। उनीहरूले घरैमा पुगेर निशाका बुबालाई नै भेटेर उक्त रकम दिएका हुन्।

हास्य टेलिशृंखला ‘सक्किगोनी’का दीपक आचार्य ‘काकु’को टिमले पनि १० हजार रूपैयाँ आर्थिक सहयोग गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत निशा बस्दै आएको भैसेपाटीस्थित पुगेर सो रकम हस्तान्तरण गरेको जानकारी दिएका छन्।

उनले सो रकम हस्तान्तरण गरेको र अरुलाई पनि जे जति सकिन्छ सहयोग गर्न अपिल गरेका छन्। त्यस्तै, विभिन्न संस्थाबाट उनलाई आर्थिक सहयोग जुट्न थालेको छ। केही दिनअघि सामाजिक सञ्जालमा निशाको पहिले र अहिलको तस्बिर भाइरल भएपछि उनको उपचारका लागि सहयोगको अपिल गरिएको थियो। 

तीन वर्षअगाडि अभिनय कोर्स पढ्न भारत पुगेकी निशा देहरादुनमा दुर्घटनामा परेकी थिइन्। 

दुर्घटनापछि केही समय उनको भारतमै उपचार भएको थियो। आर्थिक अभावका कारण उनलाई नेपाल फर्काइएको थियो। नेपाल फर्काएपछि उनको ट्रमा सेन्टरमा उपचार गरिएको थियो। 

निशाका बुबाका अनुसार त्यहाँ उपचार गर्दागर्दै उनमा सुधार नभएपछि डाक्टरले घरै लैजान सुझाव दिएका थिए। सोहीअनुरूप उनलाई घरमा राखिएको थियो। 

निशाका बुबाले कुराकानीमा भने, ‘केही सीप नलागेपछि सबैसँग सहयोगको अपिल गरेको हो। अहिले छोरीको सुधार हुने क्रम जारी रहेको छ। यसैमा खुसी रहेको छु। सबैतिरबाट सहयोग पनि आइरहेको छ।’

पाँच दिनअघि निशाको पहिलेको र अहिलेको भन्दै दुई वटा तस्बिर सामाजिक सञ्जालमा भाइरल भएपछि नवजीवन परोपकार संस्था र नर्भिक अस्पतालकी मेघा चौधरीको पहलमा निशाको निःशुल्क उपचार भएको छ। साथै आर्थिक सहयोग जुट्ने क्रम पनि जारी रहेको छ। 
हास्य कलाकार महादेव त्रिपाठीका अनुसार अहिले निशाको स्वास्थ्यमा सुधार भइरहेको छ। 

‘मैले हस्पिटलम पुगेर निशालाई भेटेर आएको छु। उनको स्वास्थ्यमा पहिलेभन्दा अहिले निकै सुधार भएको पाएँ,’ उनले भने, ‘अन्य कलाकारलाई पनि हस्पिटल पुगेर निशालाई हौसला दिन अनुरोध गर्दछु।’

३० जेठ, २०७८, १६:१३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।