राउटे युवतीमाथि टिकटक 'भ्युज' ले निम्त्याएको विपत्ति,समुदायले अस्वीकार गर्ने जोखिम

राउटे युवतीमाथि टिकटक 'भ्युज' ले निम्त्याएको विपत्ति,समुदायले अस्वीकार गर्ने जोखिम

सुर्खेत : २०७७ चैत २ मा ‘यओर स्टोरी’ नामक युट्युब च्यानलबाट फिरन्ते जीवन बिताइरहेकी राउटे समुदायकी युवतीको अन्तर्वार्ता आयो। प्राय राउटेका मुखियाको अन्तर्वार्ता सार्वजनिक भए पनि राउटे युवतीहरू टाढै थिए।

अन्तर्वार्ता सार्वजनिक भए लगत्तै युट्युब र टिकटकमा भाइरल बन्यो। अन्तर्वार्तामा उनीहरूको व्यक्तिगत जीवनदेखि समुदायका सबै गतिविधि केन्द्रित थियो। 

सो भिडियो भाइरल बनेपछि ती युवतीसँग टिकटक बनाउन राउटे बस्तीमा घुइँचो लाग्न थाल्यो। 

सामाजिक सञ्जालमा भाइरल भएपछि उनीहरूलाई धेरैले चिन्न थाले। जेठ २१ गते गुर्भाकोट नगरपालिका–९ बोटे चौर बजार घुम्न आएको बेला उनीहरूलाई मदिरा खुवाएर त्यही भएको शुभकामना होटेलमा लगियो।

होटेल साहुसहितको मिलेमतोमा उनीहरूलाई मदिरा खुवाएर कोठामा लगेर यौन दुर्व्यवहार गरेको भिडियो सार्वजनिक भएपछि मात्र सुरक्षा निकाय सक्रिय भयो र सो घटनामा संलग्न रहेको आरोपमा तीन जनालाई पक्राउ गर्यो।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक रामप्रसाद उपरीक्षक घर्ती प्रारम्भमा सामाजिक सञ्जालमा राख्न भिडियो बनाउने प्रतिस्पर्धाबाट सुरु भएको दुर्व्यहारपछि गएर यौन दुर्ब्यवहारसम्म पुगेको बताउँछन्।

‘पछिल्लो समयमा युट्युब र टिकटकले उनीहरूलाई भाइरल बनाएपछि सबैको नजर उनीहरू तिर पर्यो, दिनप्रतिदिन धेरै मानिसहरुले उनीहरूलाई फ्लो गरे,’उनले भने, ‘यो घटना गम्भीर हो। तर कारण सामाजिक सञ्जाल पनि जोडिएको छ।’

मुख्य त युट्युब र टिकटकमा भिडियो राख्न चाहनेहरू राउटे बस्तीमा कहिले राहत दिने नाममा, कहिले अन्तर्वार्ता लिने नाममा बस्तीमा जाने गरेका थिए। राहतको बहानामा उनीहरू राउटे युवतीलाई पच्छ्याएर भिडियो खिचेर टिकटक र युट्युबमा अपलोड गर्ने गरेका थिए। 

युवतीहरू सामाजिक सञ्जालमा ‘भाइरल भएपछि बस्ती नजिकै रहेका आरोपीहरूले युवतीको पिछा गर्ने थालेको स्थानीय भीम खत्रीले बताए ।

यो घटना सार्वजनिक भएपछि उनीहरूको भिडियो विभिन्न हेडलाइनमा अपलोड हुने क्रम जारी छ। यौन दुर्व्यवहारमा परेका युवतीको भिडियो अनेक हेडलाइन राखेर सामाजिक सञ्जालमा राख्दा उनीहरू थप पीडित बन्न पुगेको गुर्भाकोट नगरपालिकाका मेयर हस्त पुनले बताए।

उनले त्यत्ति लप्पनछप्पन थाहा नभएको, आफ्नै जीवनशैली भएका राउटे समुदायमाथि अन्याय भइरहेको बताए।

आरोप स्विकारेको प्रहरी दाबी

प्रहरीले बोटे चौरका चमनसिंह घर्ती, भूपेन्द्र बुढा र होटेल सञ्चालक मिलन पुनलाई आइतबार बिहान ३ बजे पक्राउ गरेको थियो।

अनुसन्धान गरिरहेको प्रहरी अधिकारीका अनुसार प्रारम्भिक बयानमा उनीहरूले आरोप स्वीकार गरेका छन्। घटनाको प्रकृति अनुसार उनीहरूलाई प्रहरीले मानव ओसारपसार, यौन दुर्व्यवहार र जर्बजस्ती करणीको मुद्दामा म्याद लिएर अनुसन्धान गरिरहेको छ। प्रारम्भिक अनुसन्धानका लागि पाँच दिनको म्याद पाएको छ।

पक्राउ परेका तीन जनाविरुद्ध महिला तथा बालबालिकासँग काम गर्ने एक गैरसरकारी संस्थाको सहयोगमा प्रहरीमा किटानी परेको थियो। 

प्रदेश सरकारले बनायो समिति

२० र २३ वर्षकी राउटे युवतीहरूमाथि यौन दुर्व्यवहारको घटना सार्वजनिक भएपछि पीडितलाई अनुसन्धानमा सहयोग गर्न र राउटे बस्तीमा सुरक्षा सहजीकरण गर्न प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गतको सामाजिक विकास महाशाखा प्रमुख अनिता ज्ञवालीको संयोजकत्वमा चार सदस्यीय समिति गठन भएको छ।

उक्त समितिमा दैलेखको गुराँस गाउँपालिका, सामाजिक क्षेत्रमा काम गर्ने सङ्घ सङ्घ संस्था र व्यक्तिहरू समितिमा छन्। समितिले अनुसन्धानमा प्रहरीलाई सहयोग गर्नुका साथै बस्तीको सुरक्षाका लागि सहजीकरण गरिरहेको संयोजक ज्ञवालीले बताइन्।

घटनाको बारेमा बस्तीमा जानकारी नदिन समितिले सरोकारवालाहरूसँग विशेष समन्वय गरेको छ।

गुर्भाकोट नगरपालिका–११ आँपसोतीस्थित भेरी नदीको किनारामा रहेको राउटे बस्ती प्रहरीले निगरानीमा राखेको छ। अनधिकृत रूपमा मानिसहरूको आवतजावत बस्तीमा हुन थालेपछि सुरक्षालाई मध्यनजर गर्दै प्रहरीले विशेष निगरानी बढाएको घर्तीले जानकारी दिए।

यस्तै राष्ट्रिय मानव अधिकार आयोग केन्द्रीय कार्यालयले पनि युवतीमाथि भएको यौन दुर्व्यवहारको बारेमा स्थलगत अध्ययन समेत गरेको छ। आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले एक विज्ञप्ति जारी गर्दै राउटे युवतीलाई प्रलोभनमा पारिएको बताएका छन्।

‘स्थानीय तीन जना युवाहरूले राउटे समुदायका दुई जना युवतीलाई प्रलोभनमा पारी स्थानीय होटेलमा लगेर यौनजन्य कार्य गर्न बाध्य बनाएको, उक्त घटनाका कारण निज युवतीहरूलाई राउटे समुदायले अस्वीकार गर्ने सम्भावना देखिएको र उनीहरूको ज्यान नै जोखिममा पर्न सक्ने अनुगमनबाट पाइएको छ ,’ विज्ञप्तिमा भनिएको छ।

 

२६ जेठ, २०७८, १६:३३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।