झोले कम्पनीले चलखेल गरेर खोप ल्याउन दिएनन् : स्वास्थ्य प्रवक्ता

झोले कम्पनीले चलखेल गरेर खोप ल्याउन दिएनन् : स्वास्थ्य प्रवक्ता

सरकारले सिधै कम्पनीलाई ८० प्रतिशत भुक्तानी गरेर खोप किन्ने प्रक्रिया अगाडि बढाएपछि सेरमका नेपाली एजेन्टले कम्पनीलाई नभई आफूलाई ८० प्रतिशत भुक्तानी दिन माग गरेको र सो भुक्तानी दिन मन्त्रालय तयार नभएपछि उनीहरूले चलखेल गरेर खोप नै आउन नदिएको उनको दाबी छ।

’८० प्रतिशत भुक्तानी गरेर २० लाख डोज खोप किनेपछि सेरमको नेपाली एजेन्टहरू सक्रिय भए। सरकारले त्यसरी नै ८० प्रतिशत रकम सिधै कम्पनीलाई तिरेर ५० लाख डोज खोप किन्ने तयारी गरेको थियो,‘ उनले उकेरासँग भने’ तर उनीहरू शक्ति केन्द्र धाएर त्यसलाई ढिलो गराइ दिए। अहिले त भारतमा सङ्क्रमण बढेर खोप बेच्नै रोक्यो।‘

डा गौतमले दिएको जानकारी अनुसार मन्त्रीपरिषद्ले सिधै सेरमलाई भुक्तानी गरेर २० लाख डोज खोप किन्ने निर्णय गरे लगत्तै नेपाली एजेन्टहरू सक्रिय भएका थिए। उनीहरूले आफू मार्फत खोप किन्न दबाब बढाए।

सरकारले निर्णय अनुसार सिधै सेरमलाई २० लाख खोप बापत ८० लाख अमेरिकी डलर भुक्तानी गर्यो। भुक्तानी भएपछि १० लाख डोज खोप आयो। नेपालमा आफ्नो प्रयास असफल भएपछि सेरमको नेपाल एजेन्टले कम्पनीबाटै नेपाल सरकारलाई दबाब बढाउन थाले।

यो बिचमा सरकारले २० लाख डोज खोप किनेकै प्रक्रियाबाट थप ५० लाख डोज खोप किन्ने प्रयास गर्यो। तर ५० लाख डोज त परको कुरा रकम भुक्तानी भइसकेको २० लाखमध्ये १० लाख डोज खोप नै आएन।

‘सेरमको नेपाल एजेन्टहरूले कम्पनीलाई अग्रिम भुक्तानी गरे बराबर ८० प्रतिशत रकम आफूलाई भुक्तानी गरेर खोप किन्न लबिङ गरिरहेका थिए। तर उनीहरूलाई सरकारले के को आधारमा ८० प्रतिशत रकम अग्रिम भुक्तानी गर्ने?,’ प्रवक्ता गौतमले उकेरासँग भने’ ८० प्रतिशत रकम अग्रिम भुक्तानी गर्न सेक्युरिटी बन्ड चाहिन्न? उनीहरूले खोप ल्याउने ग्यारेन्टी के? सरकारले विना आधार झोलेहरूलाई पहिल्यै ८० प्रतिशत रकम भुक्तानी दिन नेपालको कानुनले दिन्छ?’

आफूहरूले खोप ल्याउने पैसा नपाउने भएपछि सेरमको नेपाल एजेन्टले उतै कम्पनीसँग लबिङ गरेर खोप खरिद प्रक्रिया ढिलो गरिदिँदा ५० लाख डोज खोप किन्न नसकिएको र भारतमा कोरोना सङ्क्रमणको दर ह्वात्तै बढ्दा पैसा भुक्तानी भइसकेको १० लाख डोज समेत रोकिएको डा गौतमले दाबी गरे।

उनले यसरी कमिसनका लागि खोपै रोक्ने को को हो भन्ने चैँ खुलाएनन्। उनले भने’ मलाई नाम चैँ थाहा छैन। सेरमको नेपाल एजेन्ट हुन्।‘

खोप रोकाउने को हुन्?

डा गौतमले खोप रोकिनुको कारण खुलाए पनि कारक भने खुलाएनन्। सेरमको खोप आपतकालिन अवस्थामा नेपालमा प्रयोग गर्ने अनुमतिसँगै औषधि व्यवस्था विभागले हुकुम डिस्ट्रिव्युटर्स एन्ड लजिस्टिक प्रालीलाई यो खोप आयातका लागि अनुमति दिएको थियो।

सो कम्पनीबारे विस्तृत विवरण माग गर्दै विभागमा उकेराले सूचनाको हक अनुसार निवेदन दिएको थियो। तर विभागले कम्पनीको नाम बाहेक थप विवरण दिएन। सो कम्पनीका सञ्चालकको रूपमा विजय दुगड र सुरज वैद्यको नाम सार्वजनिक भएको छ।

बाँकी १० लाख डोज नै अन्योलमा

५० लाख डोज खोप ल्याउने प्रक्रिया त अगाडि बढेन नै। सरकारले ८० प्रतिशत रकम भुक्तानी गरेको १० लाख डोज खोप समेत आएको छैन। भारतमा कोरोना सङ्क्रमण बढेपछि भारत सरकारले खोप बेच्न रोक लगाइसकेको छ। तर नेपालमा किनेको १० लाख डोजको खोप लगाइसकेकाले दोस्रो डोजका लागि १० लाख डोज खोप अनिवार्य छ। अब त्यो खोप के हुन्छ भन्ने जिज्ञासामा डा गौतमले भने’ पहिलो डोज लगाएकालाई दोस्रो डोज पनि सोही खोप चाहिन्छ। भुक्तानी भइसकेकाले कम्पनीले यतिसम्म त नगर्ला भन्ने आस छ। आएन भने कूटनीतिक माध्यमबाट पहल गर्नुपर्छ।‘

२२ बैशाख, २०७८, १३:२१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।