दैनिक पाँच हजार सङ्क्रमित पुग्दा सरकारले कोरोनासँग गर्‍यो 'आत्मसमर्पण'

दैनिक पाँच हजार सङ्क्रमित पुग्दा सरकारले कोरोनासँग गर्‍यो 'आत्मसमर्पण'

शुक्रवार सार्वजनिक भएको तथ्याङ्क अनुसार  गत २४ घण्टामा ५ हजार ६ सय ५७ जना सङ्क्रमित भएका छन्। त्यसमा पुरुषको सङ्ख्या ३ हजार २ सय ५५ र महिलाको सङ्ख्या २ हजार ४ सय २ रहेको छ। २४ घण्टामा कोरोना सङ्क्रमणबाट ३३ जनाको मृत्यु भएको रिपोर्ट प्राप्त भएको मन्त्रालयले जानकारी दिएको छ।

दैनिक सङ्क्रमणको गति बढिरहेको बेला स्वास्थ्य प्रणालीमा सुधार र विस्तारमा सक्रिय हुनुको साटो स्वास्थ्य मन्त्रालयले २२ जिल्लामा कोरोना सङ्क्रमण डरलाग्दो गरी बढिरहेको भन्दै मन्त्रालयले' स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी सङ्क्रमण बढेकाले अस्पतालमा राखेर हेरचाह गर्न अस्पतालको शय्या उपलब्ध गराउन नसकिने अवस्था आएको स्वीकार गरेको छ।

स्वास्थ्य मन्त्रालयका सह-प्रवक्ता डा समीर कुमार अधिकारीले जारी गरेको विज्ञप्तिमा देशको स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी सङ्क्रमण बढेको भन्दै आफैँ संवेदनशील हुन आग्रह गरेका छन्।

स्वास्थ्य मन्त्रालयले जारी गरेको विवरण अनुसार देशभर एक हजार एक सय ९८ आइसियुको बेड रहेकोमा तीन सय ३१ सङ्क्रमित आइसियुमा छन्। पाँच सय ८ भेन्टिलेटर रहेकोमा शुक्रवारसम्म एक सय १५ जना भेन्टिलेटरमा छन्।

देशभर ३६ हजार १ सय ३५ जना होम आइसोलेसनमा छन् भने २ हजार ६ सय ७८ सङ्क्रमित संस्थागत आइसोलेसनमा छन्।

३० देखि ३९ उमेर समूहका धेरै सङ्क्रमित

स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टाको आक्रमितमध्ये ३० देखि ३९ उमेर समूहका धेरै छन्। २४ घण्टामा सो उमेर समूहका एक हजार तीन सय ८९ जना सङ्क्रमित भएका छन्।

दोस्रोमा २० देखि २९ उमेर समूहका सङ्ख्या छ। सो उमेर समूहका एक हजार तीन सय ७२ जना सङ्क्रमित भएका छन्। तेस्रो सङ्क्रमित उमेर समूहमा ४० देखि ४९ वर्ष उमेर समूहका रहेका छन्।

१२ जिल्लामा पाँच सय माथि सङ्क्रमित

स्वास्थ्य मन्त्रालयका अनुसार पाँच सय माथि सक्रिय सङ्क्रमित हुने जिल्लाको सङ्ख्या १२ पुगेको छ। सरकारले पाँच सय सक्रिय सङ्क्रमित भएका जिल्लामा २ साता निषेधाज्ञा लगाउने निर्णय गरेको थियो।

मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार मोरङ, पर्सा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, कास्की, दाङ, बाँके,  रुपन्देही,सुर्खेत र कैलालीमा सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या पाँच सय नाघेको छ। शुक्रवार सार्वजनिक तथ्याङ्क अनुसार काठमाडौँमा गत २४ घण्टामा मात्र झन्डै तीन हजार सङ्क्रमित थपिएका छन्।

यसै गरी नौ वटा जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या २ सय नाघेको छ। मन्त्रालयका अनुसार सुनसरी, झापा, बारा, धनुषा, मकवानपुर, काभ्रे, पाल्पा, बर्दिया, कपिलवस्तु र कञ्चनपुरमा सक्रिय सङ्क्रमितको सङ्ख्या २ सय नाघेको छ।

१७ बैशाख, २०७८, १८:३६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।