वर्षमा ४ वटा चलचित्र रिलिज, त्यो पनि हल खाली 

वर्षमा ४ वटा चलचित्र रिलिज, त्यो पनि हल खाली 

काठमाडौँ : कोरोनाका कारण गत वर्ष चैत ११ बाट ठप्प भएको चलचित्र क्षेत्र अझै चलायमान हुन सकेको छैन। सरकारले माघ १ गतेबाट हल खोल्न अनुमति दिएपछि जम्मा चार वटा चलचित्र रिलिज भए। तर तीनले मुर्झाएको चलचित्र क्षेत्रलाई लयमा ल्याउन सकेनन्।

हल खुलेपछि शिव श्रेष्ठको ‘एउटा यस्तो प्रेम कहानी’, ‘गोर्खे’, ‘गुड फ्रेण्ड’ र ‘श्री’ रिलिज भएका थिए। श्रेष्ठको चलचित्रले हलमा दर्शकको मुख देख्न पाएन भने ‘गोर्खे’को हालत पनि उस्तै भयो।

कोरोना कहरका कारण छायाङ्कन रोकिएका केही फिल्म फ्लोरमा गइरहेका छन्। तर यही बिच फेरि कोरोना सङ्क्रमणको गति बढेपछि सरकार कोरोना नियन्त्रणका लागि पुरानै मोडालिटीमा फर्किने तयारीमा छ। यसले चलचित्र उद्योग थप धराशायी हुने देखिन्छ। 

चलचित्र सङ्घको बल मिचाई 

पुस १ बाट हल व्यवसायी छाता सङ्गठन नेपाल चलचित्र सङ्घले एकलौटी हलमा दुई वटा पुराना चलचित्र लगाएर सरकार नियमलाई व्यवस्था गरेका थिए। चलचित्र सङ्घले २०७६ फागुनमा रिलिज भएका ‘आमा’ र ‘सेन्टी भाइरस’ हलमा लगाएर दर्शकलाई हलमा बोलाए तर, दर्शक आइदिएनन्।

सरकारले हल व्यवसायीलाई स्वास्थ्य मापदण्ड अपनाउँदै माघ १ बाट देशभरका हल खोल्न दिने निर्णय गर्यो। सरकारले हल खोल्न दिने निर्णय गरेसँगै श्रेष्ठले निर्माण गरेको स्टारर चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ हलमा लाग्यो। 

हलवालाले निकै अपेक्षा गरेको चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ हेर्न दर्शक हलमा आएनन्। यस चलचित्रका वितरक गोपाल कायस्थका अनुसार चलचित्र राम्रो नबनेको कारण नै दर्शक हलमा नआएको हो। राम्रो चलचित्र बनेको भए दर्शक हलमा आउने उनको भनाई छ। 

त्यस्तै,फागुन २१ गतेबाट हलमा चलचित्र ‘गोर्खे’  रिलिज भयो। फाट्टफुट्ट बाहेक दर्शक हलमा नआएको चलचित्र वितरक करण श्रेष्ठले सुनाए। यो वर्षको अन्तिम महिना अर्थात् चैत २७ गतेबाट नयाँ वर्षलाई लक्षित गर्दै दुई वटा चलचित्र रिलिज भएका छन्। 

निकै अपेक्षित गरिएको चलचित्र ‘श्री’ र गुड फ्रेण्ड’ले पनि दर्शक तान्न सकेका छैनन्। सिभिल मलमा रहेको चलचित्र हलमा केही दर्शकको चहलपहल देखिन्थ्यो। 

अन्य चलचित्र हलमा पनि कोरोना कहरपछि राम्रै दर्शक आएको चलचित्र वितरक करण श्रेष्ठले बताए। 

उनले भने,‘ एक वर्षपछि दर्शक अहिलेसम्म उच्च हलमा आएका छन् , देशभरका सय भन्दा बढी हलमा सिनेमा लागेको छ । सबै ठाउँबाट हलमा दर्शक आइरहेको कुरा छ।’

यो भन्दा अघिका चलचित्रले यति धेरै दर्शक तान्न नसकेको करणले दाबी गरे। अहिलेको माहौलमा चलचित्र ‘श्री’ले पहिलो दिन नै राम्रै दर्शकको माहौल बनाएको छ । के कति कमायो भन्ने कुरा केही दिन पछि मात्रै थाहा हुने बताए। 

यता नयाँ बानेश्वरमा रहेको वान सिनेमाज्का सञ्चालक उमेश गिरीका अनुसार हल सुनसान नै छ। दर्शक हलमा आएका छैनन्। उनले भने,‘हल अरू बेला पनि बनमा डढेलो लागेको जस्तै भएको थियो अहिले पनि उस्तै छ । दर्शक आएका छैनन्।’

२९ चैत, २०७७, १६:४२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।