सिंहदरबारै नगई प्रधानमन्त्रीले बुझे १० लाख तलब

सिंहदरबारै नगई प्रधानमन्त्रीले बुझे १० लाख तलब

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओली सोमबार एक वर्षपछि प्रधानमन्त्री कार्यालय पुगे सरकारको उपलब्धि सुनाउन। सरकार गठन भएको तीन वर्ष पुगेको दिन पारेर उनले प्रधानमन्त्री कार्यालय टेक्दा गयल दिन ३ सय ६५ पुगिसकेको थियो।

गत वर्ष फागुन ३ गते उनी सरकारको उपलब्धि सुनाउन प्रधानमन्त्री कार्यालय पुगेका थिए। त्यस यता उनी कार्यालय गएनन्। प्रधानमन्त्रीको सरकारी निवासमै बसे उनी। 

त्यसयता गत माघसम्म (११ महिनामा) उनले १० लाख ३ हजार ९० रूपैयाँ तलब बुझिसकेका छन्। सरकारले २०७६ जेठमा तोकेको मासिक पारिश्रमिक अनुसार प्रधानमन्त्रीले महिनाको ९१ हजार एक सय ९० रूपैयाँ पाउँछन्।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय स्रोतका अनुसार उनी कार्यालय गए पनि नगए पनि उनको तलब भने रोकिँदैन। यो एक वर्ष पनि रोकिएन।

कोरोना सङ्क्रमण बढेको बेलामा अस्वस्थ समेत रहेका उनी प्रधानमन्त्रीको निवासबाट ननिस्कनु ठिकै थियो। नेकपामा किचलो सुरु भएपछि बालुवाटारमा बसेका सचिवालय बैठक र स्थायी कमिटीको बैठकमा उनी उपस्थित भए पनि बालुवाटार बाहिर उनी त्यत्ति निस्किएनन्।

बालुवाटारभित्रको बैठकमा सहभागी हुँदा उनी कोरोना सङ्क्रमणबाट जोगिन मास्कदेखि खुट्टामा समेत प्लास्टिक कभर लगाउँथे।

पार्टीको किचलो समाधान भएन। उनले एकाएक संसद् विघटन गरेपछि नेकपाको पुष्पकमल दाहाल र माधव नेपाल समूह आन्दोलनमा उत्रिए। व्यवहारिक रूपमा पार्टी विभाजित भएपछि सक्रिय हुन दबाबमा परेका ओली पनि बालुवाटारबाट बाहिर निस्कन थाले।

काठमाडौँमा मात्रै हैन ओली देश दौडाहामै निस्किए। उनी धनगढी पुगे। बुटवल पुगे। गुटका भेलामा सम्बोधन गर्न उनी नेपाल एकेडेमी पनि गए। बालुवाटारमै पूर्व लडाकुलाई भेला गराएर पार्टीमा आउन निमन्त्रणा दिए।

दाहाल–नेपाल समूह सडक आन्दोलनमा उत्रिएपछि शक्ति देखाउने भन्दै माघ २३ गते नारायणहिटी अगाडि आयोजित जनप्रदर्शनमा सहभागी पनि भए । तर उनको नजर सिंहदरबारमा परेन।

पछिल्लो समय उनी देश दौडाहामा निस्किए। शक्ति प्रदर्शन गर्न आयोजित कार्यक्रममा सहभागी भए। नेकपाका आफ्नो समूहको भेला गराए। तर, प्रधानमन्त्री कार्यालय जाँदै गएनन्।

हाजिर गर्नुपर्दैन प्रधानमन्त्रीले

खटिनुपर्ने निश्चित समय नहुने भएकाले प्रधानमन्त्री र मन्त्रीहरूले दैनिक हाजिर गर्ने पद्धति नभएको जानकारले बताए। जुनसुकै समयमा पनि सक्रिय हुनुपर्ने र निश्चित समय कार्यालयमा बस्न सम्भव नहुने भएकाले हाजिर गर्नुपर्ने बाध्यता छैन प्रधानमन्त्रीलाई। 

‘देशको कार्यकारी भएकाले प्रधानमन्त्री जुनसुकै समयमा पनि खटिनुपर्ने हुनसक्छ, त्यही आधारमा प्रधानमन्त्रीले दैनिक हाजिर गर्नुपर्ने पद्धति राखिएको थिएन,’ पूर्व प्रधानमन्त्री सुशील कोइरालाका प्रेस सल्लाहकार प्रकाश अधिकारीले भने‘ सुशील कोइरालाले हाजिर गर्नुहुन्नथ्यो। बैङ्क खाता नभएकाले तलब चैँ नगदै बुझ्नुहुन्थ्यो।' 

३ फागुन, २०७७, २१:२२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।