बैङ्कहरू नै सापटी खोज्दै, दुई दिनमा राष्ट्र बैङ्कबाट लगे ८८ अर्ब

बैङ्कहरू नै सापटी  खोज्दै, दुई दिनमा राष्ट्र बैङ्कबाट लगे ८८ अर्ब

काठमाडौँ : नेपालका बैङ्क तथा वित्तीय संस्थामा बचत कम भएपछि ८८ अर्ब रुपैंया नेपाल राष्ट्र बैङ्कबाट सापटी लिएका छन्। बैङ्कका बचत घट्दै गएपछि आइतबार र सोमबार गरेर बैङ्कहरूले सो रकम सापटी लिएका हुन्।

नेपाल राष्ट्र बैङ्कका अनुसार बैङ्कहरूले आइतबार मात्रै ४८ अर्ब १५ करोड रुपैयाँ राष्ट्र बैङ्कबाट सापटी लिएका छन् भने सोमबार ४० अर्ब ६८ करोड रुपैयाँ सापटी लिए। बैङ्क तथा वित्तीय संस्थाले चालु आर्थिक वर्षको साउन १३ देखि कार्तिक २९ सम्म १५ खर्ब ११ अर्ब ६ करोड रुपैयाँ राष्ट्र बैङ्कबाट सापटी लिएको राष्ट्र बैङ्कले जनाएको छ। 

कोरोना महामारीपछि सस्तो व्याजमा ऋण लगानी भएकाले तरलता सङ्कट देखिएको हुन सक्ने अर्थ मन्त्रालयका प्रवक्ता रितेश शाक्यले बताए।

‘कोरोना महामारीमा बैङ्क तथा वित्तीय संस्थाले सस्तो ब्याजमा ऋण प्रवाह गरे,’उनले उकेरासँग भने,‘तर, निक्षेप सङ्कलन बढ्न नसक्दाको असर अहिलेको तरलता सङ्कट हुनसक्छ।’

बैंकरहरुले पनि बैङ्कमा पैसा जम्मा हुने क्रम घटेको स्वीकार गरेका छन्। बैङ्क तथा वित्तीय संस्था परिसंघले ब्याजदर सस्तो भएका कारण बैङ्कमा डिपोजिट कम भएको बताएको छ।

बजारमा तरलता अभाव हुन नदिन राष्ट्र बैङ्कले जारी गर्ने आर्थिक औजारमा सबैभन्दा बढी ५ प्रतिशत र सबैभन्दा कम ४.९ प्रतिशत ब्याजदर दाबी हुने गरेको छ। तर, ऋण लगानी भने ११ प्रतिशतसम्म व्याजमा गर्न थालेपछि राष्ट्र बैङ्कले निर्देशन नै जारी गरेर ब्याजदर घटाउन निर्देशन दिएको थियो। 

आयात बढ्नु, सरकारी पैसा विकास आयोजनामा निकासा नहुनु, डिपोजिट कम हुनु, रेमिट्यान्सको भोल्युम कम हुनु र राष्ट्र बैङ्कले सीसीडीलाई सिडी बनाएपछि तरलता व्यवस्थापनमा गाह्रो भएको बैंकरहरुको भनाई छ।

तर, अर्थ मन्त्रालयका प्रवक्ता शाक्य विकास आयोजनामा सरकारी पैसा निकासा नभएर तरलता अभाव नदेखिएको दाबी गर्छन्। ‘विकास आयोजनाहरूमा रकम निकासा नभएर होइन, खर्च नभएको हो,’प्रवक्ता शाक्यले भने,‘चालु आर्थिक वर्षको तीन महिनामा लक्ष्य अनुसार खर्च हुन सकेन।’ 

चालु वर्षको तीन महिनामा कुल बजेटको १० प्रतिशत खर्च गर्ने लक्ष्य पुरा हुन नसकेको उनले बताए। ‘तीन महिनामा ७ प्रतिशत मात्रै खर्च भएको छ,’उनले भने,‘कार्तिकदेखि हरेक महिना १० प्रतिशत खर्च गर्ने लक्ष्य पनि पुरा हुने देखिएको छैन।’ 

आयात बढ्नु नै तरलता अभावको मुख्य कारण भएको नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व उपाध्यक्ष किशोर प्रधानले बताए। देशको उत्पादनलाई प्रोत्साहन नदिने र विदेशबाट आयात गर्ने सामानलाई बढवा दिने सरकारको नीतिका कारण देशको अर्थतन्त्र नै धरापमा पर्न लागेको उनले बताए। 

‘मुठ्ठीभर व्यक्ति विदेशबाट सामान आयात गरेर छिट्टै धनी हुने होडबाजीमा लागेका छन्,’प्रधानले उकेरासँग भने,‘सरकारले पनि तिनै व्यक्तिलाई संरक्षण गर्ने नीति लिएको देखिन्छ।’ 

देशको राजनीतिक अस्थिरताका कारण पनि देशको अर्थतन्त्र धराशायी भएको प्रधानले बताए। स्वदेशी सामान उत्पादन गर्ने उद्योगीलाई प्रोत्साहन गर्नु पर्ने र राजनीतिमा इमानदार नेतृत्व नआएसम्म अर्थतन्त्रमा सुधार नहुने उनको भनाई छ। 

चालु आर्थिक वर्षको तीन महिनामा बस्तु तथा सामान आयात ६३ प्रतिशतले बढेको छ। ‘नेपालमा उत्पादन हुने सामान समेत विदेशबाट आयात भइरहेको छ,’पूर्व उपाध्यक्ष प्रधानले भने,रातारात धनी सोच भएका व्यक्तिले बैङ्क मात्र होइन, अर्थमन्त्रीलाई नै चलाइरहेका छन्।’ 

२९ कात्तिक, २०७८, २०:४३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।