टिकटक विरोधी कलाकार नै रियालिटी सोको निर्णायक

टिकटक विरोधी कलाकार नै  रियालिटी सोको निर्णायक

अर्कोतर्फ सेलिब्रिटी बन्ने मुख्य माध्यम टिकटक बनिरहेको छ। अपरिचित व्यक्तिहरू रातारात सेलिब्रिटी बनिरहेका छन्। नेपालका हकमा नयाँ कलाकार उत्पादनको थलो बनेको छ यो एप। समाजमा स्थापित भइसकेका सेलिब्रिटीहरु पनि अहिले यही एपमा झुन्डिरहेको भेटिन्छ। स्टार अभिनेता मानिएका अनमोल केसी समेत सहजै भेटिन्छन् टिकटक लाइभमा।

विवादित भए पनि यसको लोकप्रियता हेरेर टिकटकसँग जोड्दै कार्यक्रमहरू समेत आयोजना हुने गरेका छन् नै। अहिले नेपालमा टिकटकको लोकप्रियता हेरेर 'टिकटक स्टार रियालिटी सो' कै तयारी गरिएको छ।

बुधवार भएको घोषणा अनुसार अभिनेत्री गौरी मल्ल, अभिनेता रमेश उप्रेती र अभिनेत्री वर्षा सिवाकोटी टिकटक स्टार रियालिटी सो का निर्णायक रहेका छन्। प्रतिस्पर्धीको योग्यता टिकटकको प्रयोगकर्ता राखिएको छ। यो कार्यक्रमले प्रतिस्पर्धाको उमेर हद तोकेको छैन। कुन क्षेत्रमा पोख्त हो त्यो पनि खुलाएको छैन।

रियालिटी सो विजेताले ३५ लाखको कार पाउने घोषणा भएको कार्यक्रममा पहिलो रनरअपले बाइक र दोस्रो रनरअपले स्कुटर पाउने बताइयो। उत्कृष्ट १० मा पर्ने प्रतियोगीले खाली हात फर्कनु नपर्ने आयोजक दाबी छ।

टिकटक विरोधी कलाकार नै जज

कुनै समय थियो, अभिनेत्री वर्षा सिवाकोटीलाई टिकटक भन्ने एप पटक्कै मन पर्थेन। विभिन्न सार्वजनिक कार्यक्रमहरूमा उनी खुलेरै टिकटकको विरोध गर्थिन्। तर यति बेला उनी आफै टिकटक स्टार रियालिटी सोको निर्णायकको कुर्सीमा बसेकी छन्।

निर्णायकको कुर्सीमा बसिसकेपछि पुराना किस्सा सम्झाउँदा उनले भनिन्, 'पहिले म्युजिकल्ली भन्ने नाम थियो, नेपालीहरू हरेक कुरामा छिट्टै युज टु भइहाल्ने र बिर्सने भएकाले विरोध गरेँ। तर अहिले त टिकटक जीवनशैली बन्यो, यस्तो हुन्छ भन्ने थाहा थिएन।'

वर्षा आजभोलि टिकटक चलाउँछिन्। उनको दिमागलाई निकै ताजा बनाउँछ रे टिकटकले। उनको मनमा भने अझै पनि टिकटक भनेको हामी जस्ता कलाकारले चलाउने हैन भन्ने नै लाग्ने रहेछ। टिकटक स्टार सोको घोषणा कार्यक्रममा उनले भनिन्, 'क्यामरामा अभिनय गर्ने बानी लागेकाले होला मोबाइलमा हेरेर अभिनय गर्न फिल नै आउँदैन।'

निर्णायककै कुर्सीमा बसेका अभिनेता रमेश उप्रेतीले त झनै टिकटक प्रयोगकर्तालाई कलाकार नै मान्दैनन्। निर्माताहरुले प्रमोसनका लागि पैसा तिरेर टिकटकरको प्रयोग गरिरहेको सन्दर्भमा उनले भने, 'प्रमोसनका लागि टिकटक प्रयोग गर्नु राम्रो हो। त्यसका लागि धेरै फ्यान फलोइङ भएका टिकटकरको प्रयोग धेरैले गरिरहेका छन् तर आर्टिष्ट भएपछि टिकटकरजस्तो बन्नुभएन।'

आफै पनि एक निर्माता भएको भन्दै उनले भने, 'कलाकारलाई लाखौँ तिरिएको हुन्छ, टिकटकमा सस्तो बनिदिनुभएन।' उनी आफै पनि टिकटक नबनाउने कलाकार हुन्।

अर्की निर्णायक अभिनेत्री गौरी मल्लले भने चिप्लो घसेर जवाफ फर्काइन्। कलाकार भएपछि अन्य टिकटकरजस्तो ट्वाइलेट गएदेखि सुटिङ गरेसम्मको भिडियो नहालेर गुणस्तरीय भिडियो मात्रै हाल्नु पर्ने उनको सुझाव थियो।

देलान् निष्पक्ष निर्णय?

निर्णायकको कुर्सीमा बसेका बहुमत कलाकार टिकटकरलाई कलाकार मान्दैनन्। टिकटक कला देखाउने माध्यम हो, तर उनीहरू कलाकार हैनन्, क्यामरामा अभिनय गर्ने मात्रै कलाकार हुन् भन्ने धारणा उनीहरूमा देखिन्छ। 

यस्तो अवस्थामा टिकटक स्टार रियालिटी सो कत्तिको निष्पक्ष बन्ला भन्ने छलफल कार्यक्रम स्थलमै सुरु भइसकेको छ।

मनोरञ्जन क्षेत्रको आधा हिस्सा टिकटकरले सम्हालेका छन्। म्युजिक भिडियो मात्रै हैन, उनीहरू फिल्ममा समेत अभिनय गर्ने भइसके। 'छमछमी सिजन ३' का विजेता समेत रहेका टिकटकर सरोज रानाले त झनै टिकटककै कारण बलिउड फिल्म उचाइमा समेत आफ्नो कला देखाउने मौका पाइसके।

टिकटकमा लाखौँ फलोअर्स कमाउने नेपालकै सय बढी स्टार भए पनि कार्यक्रममा पुण्य गौतमको मात्रै उपस्थिति देखियो। उनी पनि निर्णायक बनाउलान् भन्ने आशले कार्यक्रम स्थलमा पुगेका रहेछन्। यो कुरा उनले खुलेरै बताए। तर कार्यक्रममा टिकटकरको प्रतिनिधित्व गर्ने कसैलाई समावेश गरिएन। 

कात्तिक २४, २०७८ बुधबार १८:३५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।