विचार नभएकाहरू बीचमै चिप्लिएर लडेका छन् : उपेन्द्र यादव

विचार नभएकाहरू बीचमै चिप्लिएर लडेका छन् : उपेन्द्र यादव

समय र परिस्थिति प्रतिकूल हुँदा पनि धैर्य नगुमाउने नेता हुन् उपेन्द्र यादव।

उत्पीडन र उपेक्षामा परेका नेपाली नागरिकको पक्षमा भएका आन्दोलनको पटकपटक नेतृत्व गरेका जनता समाजवादी पार्टी नेपालका अध्यक्ष यादव मूलाधारको राजनीतिमा सक्रिय भएपछि उनले नेतृत्व गरेका दल पटकपटक फुटे र चोइटिए। तर पनि हरेस नखाँदै आफ्नो वाकपटुता, रणनीतिक दूरदर्शिता र कार्यनीतिक स्पस्टताका कारण प्रत्येक विभाजनपछि संगठनलाई नयाँ ढंगले बनाए।

पछिल्लोपटक जनता समाजवादी पार्टी नेपालबाट महन्थ ठाकुरको नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल गठन गर्दै नेता कार्यकर्ताहरू निस्केपछि प्रदेश २ को राजधानी जनकपुरधाम आएका यादवसँग उकेराकर्मी अनिलकुमार कर्णले कुरा गरेका छन्। 
विभाजनपूर्वको जनता समाजवादी पार्टी(जसपा) नेपालका जनप्रतिनिधिहरूलाई नयाँ पार्टी रोज्न भदौ २२ सम्म दिएको समयसीमा अघि पार्टीको आधारक्षेत्र मानिने प्रदेश २ को राजधानी जनकपुरधाम आएका यादवले पार्टी विभाजनका कारण र पार्टीको आगामी कार्यदिशाका बारेमा उकेरासँग लामो कुरा गरे। प्रस्तुत छ त्यस कुराकानीको संक्षेप।

महन्थ ठाकुरको अनौपचारिक नेतृत्व रहेको तत्कालीन राष्ट्रिय जनता पार्टी नेपाल र तपाईं नेतृत्वको समाजवादी पार्टीबीच वैचारिक भिन्नताका बीच पार्टी एकीकरण गर्नुभयो। र, एकीकृत पार्टी जनता समाजवादी पार्टी नेपाललाई तेस्रो शक्ति वा सशक्त वैकल्पिक शक्ति बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो। जसपा नेपालको विभाजनसँगै तपाईंको त्यो प्रतिबद्धताको पनि अवसान भएको छ। होइन ?

यो गलत कुरा हो। समाजवादी पार्टी धेरैवटा पार्टीसँग एकीकरण गर्दै बनेको थियो । र, एउटा शक्तिका रूपमा स्थापित भइसकेको थियो। त्यसपछि हामीले तत्कालीन राष्ट्रिय जनता पार्टी(जसपा) नेपालसँग एकीकरण गरेर पार्टीलाई अझ बढी उचाइमा लग्ने प्रयासमा लाग्यौं। ती प्रयास अघि बढे र हामी पार्टी एकीकरण गर्न सफल पनि भयौं। 

तर, मुलुकमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले एउटै प्रतिनिधिसभालाई एउटै अवधिमा दुईपटक भङ्ग गर्ने, संवैधानिक निकायहरू कब्जा गर्ने, कर्मचारीतन्त्रमा नियन्त्रण कायम गर्ने र स्वेच्छाचारी ढंगले अधिनायकवाद लाद्ने काम गरे। जसलाई जसपा नेपालले असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी काम भन्यो। त्यसको प्रतिकार गर्दै लोकतन्त्र, गणतन्त्र, सङ्घीयता, समावेशितार मौलिक हकजस्ता विषयलाई संस्थागत गर्ने निर्णयका साथ अगाडि बढ्यो। जसपाको यो निर्णयबाटै आज प्रतिगमनकारी शक्तिको पतन भएको छ र लोकतान्त्रिक शक्ति स्थापित भएको छ। आज तिनै प्रतिगमनकारीको विकल्पमा लोकतान्त्रिक गठबन्धनले मुलुक सम्हालिरहेको छ। यसअर्थमा जसपाले लिएको नीति, अडान र लाइन सफल भएको छ। मुलुक यसअनुरूप नै अघि बढेको छ। 

नेपालमा मात्र होइन अरु देशमा पनि जबजब प्रतिगमन हुन्छ त्यहाँ क्रान्तिकारी र परिवर्तनकारी शक्तिहरू देखा पर्छन् भने अर्कोतर्फ परिवर्तनविरोधी प्रतिगमनकारीहरूलाई सघाउने लोभीपापीहरू रहने गर्छन्। उदाहरणकै रूपमा लिऊँ, २०१७ सालमा राजा महेन्द्रले कु गरी राजनीतिक दलहरूमाथि प्रतिबन्ध लगाउँदा, जननिर्वाचित सरकारलाई अपदस्थ गर्दा र संसद् विघटन गर्दा काँग्रेस, कम्युनिष्ट र मधेसका केही सिद्धान्तविहीन लोभीलालची राजालाई सघाउन पुगे। तराई काँग्रेसलाई दरबारमा लगेर बुझाइयो।

काँग्रेसका विश्वबन्धु थापा, तुलसी गिरी, सूर्यबहादुर थापा र श्रीभद्र शर्मालगायतका मानिस पार्टी त्यागेर दरबारमा गए। केशरजंग रायमाझीजस्ताहरू कम्युनिष्ट आन्दोलन छाडेर दरबारमा पुगे। तर, कालान्तरमा दरबारमा पुग्नेहरूको भविष्य सिद्धियो नि । एकछिन यसो चकलेटसकलेट चुसाइदियो अनि भविष्य सकाइदियो। त्यस्तै अहिले ओलीले प्रतिगमन गर्दा हाम्रा एकाध नेता प्रतिगमनका मतियार बने। हुनत उहाँहरूले भन्नुहुन्छ कि हामी के गरौँ, हामीलाई त यस्तै आदेश आयो, त्यसको पालना गर्ने नै हो। कसको आदेश हो कुन्नि उहाँहरू प्रतिगमनका मतियार बने। तर पूर्व राजपाका नेताकार्यकर्ता र संगठनहित  अहिले पनि जसपामै छन्। जसपा हिजोभन्दा आज स्थापित र परिस्कृत शक्ति बनेको  । हो, परिस्कृत, स्थापित र संकटकालमा परीक्षा उतीर्ण गरी जसपा अघि बढेको छ। 
 

त्यसो भए तत्कालीन समाजवादी पार्टी र तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालबीचको एकीकरण गलत थियो ?

होइन, ठिक थियो। एकता ठिक नभएको भए ओलीको प्रतिगमनलाई कसरी परास्त गर्न सकिन्थ्यो। आफ्नो खुट्टामा टेकेर हिँड्न नसक्ने आफ्ना सोच, चिन्तन र विचार नभएकाहरू चाहिँ बाटैमा चिप्लिएर लडेका छन्। उनीहरू आफ्ना नीति र निर्णयविरुद्ध आफैं उभिए। आज उनीहरूको चरित्र उदाङ्गो भएको छ। उनीहरू हुँदाका जसपाभन्दा पनि धेरै शक्तिका साथ जसपा धेरै अगाडि बढिसकेको छ। 

पार्टीबाट अलग्गिएकाहरू तपाईंकै ढिपीलाई मानेर पार्टीमा बस्नुपर्थ्यो त ?

मैले मेरै भनाई, अडान र लाइन मान्न भनेको होइन नि। ओलीकै माने हुन्छ। मानेकै छन्। अरू कसैको मान्छु भन्दा पनि मलाई आपत्ति भएन। तर लोकतन्त्र र प्रतिगमनको लडाइ जब आमुन्नेसामुन्नै हुन्छ तब हामी लोकतन्त्रका पक्षमा हुन्छौं। सत्य र न्यायका पक्षमा उभिन्छौं। समानता, स्वतन्त्रता र सामाजिक न्यायका लागि लड्छौं। त्यसविरुद्ध कोही हुन्छन् भने ती सबैसँग लड्छौं। 
 

महन्थ ठाकुरको बुझाइ ठिकै रहेछ कि तपाईमा केपी ओलीलाई लिएर थामिनसक्नु रिस छ त?

उहाँले बुझ्न सक्ने कुरा होइन। तपाईंले भनेर बुझ्दैनन्। हामीले भनेर पनि बुझ्दैनन्। जसले भनेर बुझ्छन् तिनले यो कुरा बुझाउँदैनन्। यो लडाइ अग्रगमन र प्रतिगमनबीचको हो। यो सङ्घर्ष मुलुकलाई संवैधानिक विधि र प्रक्रियाबाट चलाउने कि अधिनायकवादतर्फ लैजाने भन्नेमा हो । यति सामान्य कुरा मैले भन्दा त ठाकुरजीले बुझ्नुपर्ने हो । मैले भन्दा उहाँले बुझेको पनि हो। मैलै ओली प्रतिगमनकारी हुन्, उनीसँग बेकारमा लाग्न हुँदैन भनेँ। उहाँले हामी सरकारमा जाँदैनौं र राष्ट्रिय सरकार वा आफ्नो पार्टीको नेतृत्वमा बन्ने सरकारमा मात्र जाने विषयमा हस्ताक्षर नै गर्नुभयो। हो त्यो दिनचाहिँ मेरो कुरा बुझ्नुभयो। मसँगै अघि भनेका विषयमा हस्ताक्षर गर्नुभयो। तर, बैठकबाट उठेर गइसकेपछि तीनचार घन्टाभित्रै कल्ले उहाँलाई हप्कायो, गाली गर्यो। त्यसपछि बुझेर पनि नबुझेजस्तो गर्नुभयो उहाँले।
उहाँहरू आफ्नो खुट्टामा नउभिने, आफ्नो दिमागले नचल्ने र आफ्नो विचारले आफै नचल्नेमा मेरो के दोष।

महन्थ ठाकुरहरू एउटा शक्तिबाट नियन्त्रित र परिचालित भइरहनु भएको कुरा तपाईं पटकपटक उठाइरहनुभएको छ। त्यो शक्ति त चिन्नुभएको होला नि ?

त्यही प्रश्न त मैले पनि उहाँहरूसँग गरिरहेको छु। मैले भनेको छु, भन्दिनुस् जनतालाई त्यो शक्ति को हो भन्ने। उहाँहरूको उत्तर हुन्छ कि ‘हम तो क्या करेंगे जो कहेगा वही न करेंगें। अरे सभी लोग जानता हस् है तो काहे खुलवाएगें।’
मैले पनि पटकपटक आग्रह गरेँ उहाँहरूलाई तपाईंहामी जति दिन एक ठाउँमा बस्यौं राम्रै भयो। हामी बस्न सकेनौं र अलग भयौं। तर उहाँहरूलाई नचाउने शक्ति को हो ? कोको मान्छे हुन् ? मैले पनि त्यही सोधिरहेको छु उहाँहरूसँग। 
 

तपाईंले उहाँहरूसँग खोजीनीति गरेको शक्तिसँग तपाईंको साइनो नभएर दिक्क मान्नुभएको हो?

मेरो चिन्तन फरक छ । मैले आफ्नो राजनीतिक जीवनमा सत्य, न्याय र जनअधिकारका लागि लडेको हुँ। मधेसीमुक्तिका लागि सङ्घर्ष गरेको हुँ। गरिब, निमुखा र शोषित वर्गको हितका लागि लडेको हुँ । यही नै मेरो मन्त्र र सम्झौता। बाँकी कुराको कुनै अर्थ छैन मेरा लागि। 
 

महन्थजीले त सहमतिमा एउटा मिलनबिन्दु खोजौं भन्नुभएको थियो। तपाईंले पो निर्वाचन आयोगले विधि प्रक्रियाबाटै पार्टी विभाजनको टुङ्गो लागोस् भन्ने पक्षमा देखिनुभयो रे?

त्यो कुरा गलत हो। हाम्रो मिलनबिन्दु त हामी दुवैले हस्ताक्षर गरेर प्रकाशित गरेको विषय नै थियो। तर, त्यहाँबाट उहाँ भाग्नुभयो। पार्टी पद्धतिमा कुनै पनि विषयमा छलफल हुन्छ। उहाँले पार्टीको बैठक बोलाउने तर बैठक बस्न हुँदैन भनी उफ्रेर हिँड्ने गर्नुभयो। 
अर्को कुरा एक दिनअघि उहाँहरूले ओलीको कदम प्रतिगमनकारी हो भनेर निर्णय गर्नुभयो, त्यसअनुसार भाषण गर्नुभयो। तर भोलिपल्ट ओलीको सरकारमा सहभागी हुनुभयो। अघिल्लो दिनको निर्णय उहाँले सच्चयाउनुपथ्र्यो । ओलीलाई प्रतिगमनकारी भन्ने हाम्रो निर्णय गलत थियो भनी ओलीसँग माफी माग्दै प्रतिगमनको मतियार बन्छौं भन्ने संस्थागत निर्णय गर्नुपथ्र्यो नि। उहाँ राति ११ बजे वालुवाटारमा सुटुक्क पस्नुभयो। १२ बजे शीतल निवास जानुभयो।  फेरि २ बजे कहाँ कहाँ धाइरहनु हुन्थ्यो। त्यहीँबाट कुरा बिग्रियो, बर्बाद भयो। त्यसैले पार्टीभित्र पार्टीको संस्थागत निर्णय बोकेर नेताहरूलाई हिँड्नुपर्छ। व्यक्तिवादी चिन्तन वा निर्देशित चिन्तनबाट मात्र हिँडियो भने महन्थजीहरूजस्तो दुर्दशा जसको पनि हुन सक्छ। 


नेपाली राजनीतिक शब्दकोषमा त तपाईंले थप्नुभयो निर्देशित चिन्तन?

निश्चित रूपमै थपियो। जो आफ्नो विचारले चल्दैन, उसको दिमाग के हुन्छ त। उसको दिमाग त निर्देशित नै हुन्छ त । 
महन्थजीहरूको तर्क छ कि उहाँहरू दोस्रोपटक संसद् विघटन भई चुनावको मिति तय भएपछि मात्र सरकारमा सहभागी हुनुभयो नि ?
त्यो चुनावी सरकार थिएन, अवैध सरकार थियो। असंवैधानिक काम थियो भन्ने कुरा आज प्रमाणित भइसकेको  छ। असंवैधानिक काम गर्नलाई पनि त पार्टीले निर्णय गर्नुपर्यो नि। कुन ठाउँमा कुन शक्तिले र कहाँको निर्णयबाट उहाँहरू केपी ओलीको अवैध सरकारमा जानुभयो । पार्टीमा छलफल र निर्णय गर्नुभएन। के कारणले पार्टीमा छलफल गर्नुभएन । यो त बेइमानी भयो। आफ्नो व्यक्तिगत स्वार्थका आधारमा मात्रै बढ्ने हो भने पार्टीले त्यसको स्वामित्व लिँदैन। 

ठाकुरजीले आफैं वक्तव्य जारी गर्नुभयो कि ओली सरकारको कदम असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी छ तर, तिनै असंवैधानिक सरकारमा गएर प्रतिगमनकारीको मतियार बन्न उहाँलाई केले विवश तुल्यायो?
 

तर, ओली सरकारमा अधिक संख्यामा मधेसीको प्रतिनिधित्व हुनु उपलब्धि थियो नि?

बिचरा ओली सरकारका ती मन्त्रीहरू भूपू मन्त्री पनि बन्न पाएनन्। ती बिचराहरूलाई के भन्ने जसको आफ्नो बुद्धिसुद्धि नै छैन। मन्त्री बन्नु नै अवैध थियो। जसकारणले ती मन्त्रीहरूले १३ दिनको तलबभत्तासम्म खान पाएनन् । असंवैधानिक र अमान्य मन्त्री भएँ भनेर कोही रमाउँछन् भन्ने तिनलाई सद्दे मान्छे भन्न सकिँदैन। 

एउटै पार्टीका दुई पक्षको यो विवाद, आरोपप्रत्यारोप र मनोमालिन्य र त्यसका परिणाम पार्टी विभाजित हुनुले यो निष्कर्षमा पुग्दा हुन्छ कि तत्कालीन समाजवादी पार्टी र तत्कालीन राष्ट्रिय जनता पार्टीबीचको एकीकरण राजनीतिक नभएर प्राविधिक थियो ?

होइन, यो गलत बुझाइ हुन जान्छ। यस किसिमको गलत प्रचार गरिँदैछ। एक वर्षदेखि दुवै पार्टीबीच एकता गर्ने कुरा थियो। हामीले दस्ताबेजीकरण पनि गरेका थियौं। धेरै कुरा मिल्दै गएको थियो, केही कुरा मिलाउन बाँकी थियो। त्यही समझदारीहरू निरन्तर प्रक्रियामा जाँदा दुई पार्टीबीच एकीकरण घोषणा भयो। त्यतिबेला एकीकरण दुवै पार्टीका लागि आवश्यक थियो। र, एकीकरण हुनु राम्रो काम थियो। एकीकरणलाई ठाकुरजीहरूले जोगाउन सक्नु भएन। उहाँहरूको आरोप के छ भने एकीकरणमार्फत उहाँहरूले समाजवादी पार्टीलाई जोगाइदिनुभयो रे। आफ्नो राजपा जोगाउन नसक्ने, आफ्नो अस्तित्व जोगाउन नसक्ने अरूलाई के जोगाउँछन् । एक वर्षदेखिको वार्ता र बैठकबाट त्यो दिन संयोगले एकता भएको हो। समाजवादी पार्टी फुटिहाल्ने अवस्थामा थिएन। हो, केही साथीहरू असन्तुष्टचाहिँ थिए। 

तत्कालीन राजपा पक्षप्रति तपाईंको कठोरता पनि पार्टी विभाजनको कारक बन्यो। होइन ?

हेर्नुस्, नीति, सिद्धान्त र लक्ष्यमा म कठोर हुँ। यसमा म सम्झौता गर्दिनँ । एक्लै भए पनि आफ्नो लक्ष्यमा अगाडि बढिरहने मेरो बानी छ। तर अन्य व्यावहारिक कुरामा ज्यादै लचक छु। 


तपाईं नेतृत्वको पार्टी विभाजन हुनुमा तपाईंको महत्वाकांक्षा पनि ठूलो कारण छ भन्नेहरू छन् नि?

यस्तो भन्ने मानिसहरूले के बुझ्नुपर्छ भने नेपालमा कुनचाहिँ पार्टी विभाजित भएका छैनन्। मिल्दै, टुट्दै, फुट्दै र जुट्दै जसपा एउटा शक्ति भएको छ भन्ने उनीहरूले बुझ्नुपर्यो नि। त्यसरी मिल्दै, विखण्डन गर्दै, लड्दै र पछारिँदै जाँदा पनि आज मुलुकमा राजतन्त्रको अन्त्य भएको छ। एकात्मक प्रणालीको अन्त्य भएर लोकतन्त्रको रक्षा हामीले गरिरहेका छौं। 

पार्टी विभाजनको सर्वाधिक पीडा तपाईंलाई नै खप्नुपरेको छ?

होइन, पार्टी विभाजित हुनुको पीडा सबैले खेपिरहेका छन्। जो एउटै पार्टी देखिन्छ त्यो पनि विभाजितहरूको समूहजस्तो छ। बाहिरबाट हेर्दाखेरि सुन्तलाको एउटै रंग तर भित्रबाट केस्राकेस्रामा बाँडिएको जस्तो छ।
यसका दुईटा कारण छन्। पहिलो, पार्टीभित्र संस्थागत प्रणालीको विकास नहुनु र अर्को भूराजनीतिक प्रभाव । विभाजनका लागि नेताकार्यकर्ताहरू मात्र दोषी छन्, यिनीहरूले नजानेरै यस्तो परिस्थिति आएको हो भन्नु हुँदैन। अहिले विशिष्ठ परिस्थितिमा चल्नुपर्या छ। खस्रो ढुंगा र काँडा भएको बाटोमा खाली खुट्टाले हिँड्नु परेको छ। लक्ष्य बोकेकाले काँडाघोचाइको पीडा बुझेरै भए पनि बाटो तय गर्छ तर लक्ष्य नभएकाहरू काँडाले घोच्नेबित्तिकै बाटो छाडेर फर्कन्छन्। यसरी फर्कनेहरूको सन्दर्भ जोडेर पार्टीमा तोडफोड भएको भन्नू बेकारको कुरो हो। 


नेपालको राजनीतिमा दक्षिणी छिमेकीको चासो र प्रभाव अलिक बढी नै रहन्छ। होइन?

नेपालमा मात्र होइन, करिबकरिब सबै अल्पविकसित मुलुकहरूमा यस्तै अवस्था छ । त्यहाँ भूराजनीतिक प्रभाव धेरै छन्। तपाईंले हेर्नुभएको होला अफगानिस्तानमा, अफ्रिका र एसियाका धेरै मुलुकमा भूराजनीतिक प्रभावहरू छन्। एउटा युग थियो जतिबेला धेरै मुलुकहरू उपनिवेश थिए , उपनिवेश र सम्राज्यवादको अन्त्य भयो। तर, औपनिवेशिक, साम्रज्यवादी र पूँजीवादी व्यवस्था अझै पनि दुनियाँमा छ। उनीहरूका प्रभावबाट अहिले कमजोर मुलुकहरूमा समस्या छन्। कमजोर देशहरूमा बजार, सस्तो श्रमिक र ती मुलुकका कच्चा पदार्थ लगी त्यसबाट सामान बनाएर त्यहीँ महँगोमा बेच्ने अहिले वैश्विक साम्राज्यवादी प्रवृत्ति छ। 
यसमा दक्षिण, उत्तर, पूर्व र पश्चिमलाई दोष दिन्नँ म। वैश्विक साम्राज्यवादी प्रवृत्तिले अल्पविकसित मुलुकहरूमा राजनीतिक अस्थिरता, आर्थिक जर्जरता र सामाजिक विकृति ल्याएको छ। हामी दुईवटा शक्तिशाली र प्रतिस्पर्धी राष्ट्रका बीचमा छौं । कहिले उत्तरबाट चिसो हावा बग्छ कहिले दक्षिणबाट तातो हावा बहन्छ। कहिलेकाहीँ पश्चिमबाट आँधीबेहरी र झोकाआइपुग्छ । त्यसलाई झेल्दै नेपाली जनता आत्मनिर्भर भएर अगाडि बढेको छ। 


तपाईंहरूको केन्द्रीय गठबन्धनको स्थिति के छ?

हामीले प्रतिगमनलाई परास्त गर्न एउटा गठबन्धन बनायौं। यसलाई संस्थागत रूप दिन बाँकी छ। यसलाई हामीले लोकतान्त्रिक गठबन्धनका रूपमा अगाडि बढाउनुपर्नेछ। जबसम्म लोकतन्त्र संस्थागत हुँदैन, जनताका अधिकार सुनिश्चित हुँदैन तबसम्म अघि बढ्नुपर्छ भन्ने पक्षमा हामी छौं। यसैगरी अरू पार्टीले पनि सोचिदियो भने गठबन्धन अगाडि बढ्छ र मुलुकले अपेक्षित परिणाम पाउँछ। 

मन्त्रिपरिषद्ले अहिलेसम्म पूर्णता नपाउनुमा गठबन्धनमा रहेका दलहरूबीचको असमझदारी हो?

केही दिनभित्रमै सरकारले पूर्णता पाउँछ। गठबन्धनका दलहरूले केही दिन पर्खेरै सरकारलाई पूर्णता दिने समझदारी गरेअनुसार नै मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको हो। पहिला पनि सरकारले पूर्णता पाउन एकाध महिना अगाडिपछाडि भएको छ, यो ठूलो कुरा होइन । अहिले जटिल परिस्थितिबाट हामीले मुलुकलाई निकालेका छौं, लोकतन्त्र बचाएका छौं । अब गठबन्धनलाई संस्थागत गर्न र सरकारलाई पूर्णता दिन दुईचार दिन ढिला  हुनु केही कुरा होइन। ढिलै भए पनि ठोस काम होस् भन्ने गठबन्धनका दलहरूबीचमा समझदारी भएको छ ।बाहिर आएजस्तो मन्त्रालयको भागबन्डाको पनि समस्या छैन। 


प्रधानमन्त्रीले महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीलाई पर्खेर बस्नुभएको छ भन्ने हल्ला छ नि?

नेपाली काँग्रेस ‘ज्वाइन’ गराउनलाई हो।
 

होइन, सरकारमा सहभागी गराउने भनेर 

त्यसको सम्भावना म देख्दिनँ। गठबन्धनले त्यसलाई स्वीकार गर्दैन । किनभने उहाँहरूको गठबन्धन ओलीसँग छ। ओलीसँग पनि ठिक्क र ओलीविरुद्ध पनि ठिक्क के खालको नीति हो उहाँहरूको । उहाँहरूले विश्वास मतको विपक्षमा मतदान गर्ने भनेर प्रतिपक्षी सिटमा बस्नुभयो। कताबाट फोन आयो, विपक्षमा बस्दाबस्दै सत्तापक्षमा भोट हाल्नुभयो। यो हेर्दा लाग्छ के खालका मान्छे हुन्, कस्ता नेता छन्, कसरी राजनीति गर्छन्। यो हेर्दा कहिलेकाहीँ उहाँहरूमाथि दया पनि लाग्छ। 


राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउने कुरामा सहमत भएर तपाईंहरूले नै लोसपा नेपाल गठन हुने बाटो खोलिदिनु भएको होइन ?

हो, लोसपा नेपाल गठनका लागि हामीले बाटो खोलिदिएकै हो। उहाँहरू पनि बिचरा कहाँ जाऊन् यो उमेरमा। यो उमेरमा न घरका न घाटका भए कि भनेर त्यसो गरिदिएका हौं । उहाँहरूले ठाउँठाउँमा रोइकराइ हिँड्नु भएको थियो। शेरबहादुरजीकहाँ पनि रोइकराइ गर्न पुग्नुभएको थियो। हामी त खत्तम भयौं, हाम्रो राजनीति बर्बाद भयो भन्दै । हाम्रो लक्ष्य प्रतिगमनलाई परास्त गर्नु थियो, अहिलेलाई त्यो काम सम्पन्न भयो। उहाँहरू अलग्गै भएर राजनीति गर्न चाहनु भएको छ भनेर बाटो खोलिदियौं । उहाँहरूले गरिखाऊन् भन्ने हाम्रो सदाशयता हो। त्यो कुरा उहाँहरूले पनि बुझ्नु भएको छ। 


निर्वाचन आयोगले दिएको समयसीमाभित्र बढीभन्दा बढी जनप्रतिनिधिहरू लोसपा नेपाल रोज्न सनाखत गर्दैछन् भन्ने महन्थजीको दाबी छ नि?

कसले पत्याउँछ ? उहाँहरू प्रतिगमनको कित्तामा गएर मधेसबाट बहिष्कृत भइसक्नु भएको छ। गलत राजनीतिक सोच, चिन्तन र कार्यले राष्ट्रिय राजनीतिमा उहाँहरूको छवि धुमिल भइसकेको छ। उहाँले बनाएका केन्द्रीय सदस्यको ८० प्रतिशत त हाम्रो केन्द्रीय समिति बैठकमा सहभागी हुनुभएको छ। उहाँहरू अहिले जसपाका कामका लागि खटिरहनुभएको छ, जुटिरहनुभएको छ। 
जनप्रतिनिधिलाई आफ्नो पक्षमा ल्याउन उहाँहरू घरघरमा नोट बोकेर पुगिरहनुभएको छ। उहाँहरूले निर्वाचन आयोगको कार्यालयमा जबर्जस्ती उठाई लगेर आफ्नो पक्षमा सनाखत गर्न लगाउनुभएको भन्दै जनप्रतिनिधिहरूले उजुरी दिइरहनुभएको छ।उहाँहरूलाई यस्तो कार्यमा लाग्नु हुँदैन्थ्यो। अब त उहाँहरूलाई नै कसरी जोगाउने भन्ने चिन्ता हामीले लिनुपर्ने अवस्था छ। 
 

जसपा नेपाल लोसपा नेपाल दुवै पार्टी मधेसमा जातीय जनाधारका आधारमा राजनीति अगाडि बढाउने सोचमा छन् भनिन्छ तपाईंहरूको यादव–मुस्लिम समीकरण अनि लोसपा नेपालको कथित माथ्ला जात र पचकुनियाको संयुक्त भोट बैकका आधारमा । साँचो कुरा के हो?


यो अत्यन्त जातिवादी सङ्कीर्ण सोच हो। मधेसी जनअधिकार फोरम हुँदा पनि यस्ता कुराहरू उठ्थ्यो। तर व्यवहारमा कसैले साबित गर्न सकेनन्। अहिले पनि हाम्रो पार्टी नेतृत्व तहमै पनि समावेशी छ। नेपालका कुनै पनि पार्टीमा यस्तो समावेशिता पाउनुहुन्न। मधेसकै सबालमा भन्ने हो भने हामीले सबैलाई कार्यक्षमताका आधारमा सबैलाई अवसर दिएका छौं। प्रदेश २ का पहिलो गभर्नर त तपाईंहरूकै जातिका हुन्, यादव त होइनन् नि। लालबाबु राउत पनि यादव होइनन्। हाम्रो नेता हुनुहुन्छ शैलेन्द्र साह, मन्त्री हुनुहुन्छ, उहाँ त यादव होइन। नीति आयोगका डा.भोगेन्द्र झाजी यादव हुनुहुन्न। त्यहाँ एकजना महतोजी हुनुहुन्छ। सैद्धान्तिक र वैचारिक लगायत अरू केही नपाएर आलोचना गर्नेहरूले यस्ता कुरा गर्छन्। जो धेरै जातिवादी छन्, उनैले मात्र यस्ता कुरा गर्छन्। यसको कुनै आधार छैन। कुनै तथ्य छैन। हामीले जातपात हेर्दैनौं। हामीले सबै उत्पीडित समुदायको प्रतिनिधत्वका पक्षधर हौं। जातपात मान्दैनौं, यस आधारमा विभेद पनि गर्दैनौं। व्यक्तिको योग्यता, क्षमता, योगदान र चरित्रका आधारमा हामीले अघि बढाउने हो। म त एक्काइसौं शताब्दीमा जातपात राख्नै हुँदैन भन्ने मान्छे हुँ। कुनै जात ठूलो हुन्छ, कुनै जात सानो हुन्छ भन्ने नमान्ने मान्छे हुँ म। जात पनि सधैँ थिएन। वर्ण व्यवस्था आएपछि जातको उत्पति भएको हो। लाखौंलाख वर्षसम्म जात थिएन। पूँजीवादी व्यवस्था समाप्त भएपछिजातपात रहँदैन। मान्छेको जात मान्छे नै हो। उसको पहिचान जातका आधारमा नभएर योग्यता, क्षमता, चरित्र र कार्यका आधारमा हुनुपर्दछ।

गठबन्धनका दल माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जसपा नेपालबीच आउँदा दिनमा एकीकरण हुने लख पनि काटिँदैछ?

राम्रै कुरा हो। तर, हामी कम्युनिष्ट पार्टी होइनौं। हामी समाजवादी लोकतान्त्रिक पार्टी हौं। वर्गीय, जातीय, क्षेत्रीय, लिङ्गीयलगायतका विभेद र असमानता समाप्त गर्दै समानता, स्वतन्त्रता, सामाजिक न्याय र समाजवादी लोकतन्त्र पक्षधर पार्टी हो जसपा नेपाल। तपाईंले भनेका गठबन्धनका दलहरू यदि कम्युनिष्ट विचारधारा त्यागेर आए भने मिल्न सकिएला। कम्युनिष्ट पार्टी र हामीबीच मेलजोलको ठाउँ छैन । गठबन्धन त मुद्दाका आधारमा गर्ने कुरा त छँदैछ।


गठबन्धनका एउटा दल नेपाली काँग्रेसको प्रजातान्त्रिक समाजवाद र तपाईंहरूको लोकतान्त्रिक समाजवादमा के भिन्नता छ ?

नेपाली काँग्रेस त अहिले समाजवादी पार्टी नै रहेन। बिपी कोइरालासम्म त्यो विचारधारा थियो। काँग्रेसका नेताहरूले आफैं भन्नुहुन्छ कि काँग्रेस उदार लोकतान्त्रिक पार्टी हो। उदार लोकतान्त्रिक पार्टी भनेको पूँजीवादी पार्टी हो। सरकारमा हुँदा वा नहुँदा समाजवादतर्फ जाने काँग्रेसको लक्ष्य देखिँदैन। हाम्रो लोकतान्त्रिक समाज प्रवादले जात, वर्ग, लिङ्ग आदिका आधारमा हुने विभेदको अन्त्य गर्दै समानता, स्वतन्त्रता, सामाजिक न्याय, बन्धुत्वसहितको समाजवादमा अगाडि बढ्ने हो। यस्ता विभेद र असमानता रहिरह्यो भने समाजवाद हुन सक्दैन भन्ने काँग्रेसभित्रका समाजवादी चिन्तकहरूले स्वीकार गर्नुहुन्छ तर काँग्रेसले यस कुरालाई अफिसियल्ली स्वीकार गर्दैन। 
 

यतिका सैद्धान्तिक र वैचारिक मतभिन्नताका बाबजुद पनि काँग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र तपाईंहरूका बीचमा कसरी गठबन्धन दरिलो हुन्छ?

गठबन्धन भनेको गैरसैद्धान्तिक आधारमै हुने होे। आ-आफ्ना सिद्धान्त राख्ने तर साझा विषय तथा लक्ष्य प्राप्तिका लागि मिलेर गर्ने काम नै गठबन्धन हो। एउटै विचार हुने वा वैचारिक भिन्नता धेरै भएनन् भने एउटै पार्टी हुन्छ। 

यो गठबन्धन आगामी निर्वाचनसम्म नै जान्छ त ?

निर्वाचनभन्दा पनि अगाडिसम्म जानुपर्छ। जबसम्म लोकतन्त्रमाथि खतरा रहन्छ तबसम्म लोकतान्त्रिक शक्तिहरू एक ठाउँमा रहनुपर्छ भन्ने हाम्रो मान्यता छ। 


तपाईंहरूकै शब्दमा प्रतिगमन परास्त भइसकेको छ। परिवर्तनकारी शक्तिको विजय भएको छ। अब लोकतन्त्रमाथि खतरा कहाँबाट छ?

केपी ओली प्रवृत्तिबाट खतरा छ। अहिले केपी ओली।पहिला महेन्द्र र पछि आएर राजा ज्ञानेन्द्रले लोकतन्त्र मासे। अहिले त्यो भूमिकामा ओलीजी हुनुहुन्छ। ओली नरहे अर्को आउँछ र अर्कोपछि अर्को आउँदातबसम्म प्रतिगमनको खतरा रहिरहन्छ जबसम्म सङ्घीय लोकतान्त्रिक गणतन्त्रले नेपालको जमिनमा दह्रो गरी जरो गाड्दैैन। 


तपाईंहरूको पार्टी सरकारमा जाँदा तपाईंकै नेतृत्वमा जाने त होला?

पार्टीले निर्णय गरेपछि जोसुकैको नेतृत्वमा सरकारमा जान सकिन्छ। म पार्टीको एउटा सिपाही हुँ। पार्टीले जे निर्णय गर्छ, त्यसलाई नै बोकेर हिँड्ने हो। तर, असम्भव भन्ने कुरा केही छैन। मेरै नेतृत्वमा होइन, अरूकै नेतृत्वमा पनि पठाउन सकिन्छ। 

देउवा सरकारमा तपाईंहरूको पार्टीको सहभागिता सम्मानजनक हुन्छ?

लोकतान्त्रिक गठबन्धनलाई लामो समयसम्म लैजान सरकारमा सबै दलको भागीदारी र साझेदारी सम्मानजनक हुनुपर्छ। साझेदारी त्यो उपाय हो जसबाट गठबन्धनको भविष्य निर्धारण हुन्छ।


अन्तिम जिज्ञासा, प्रदेश २ मा सुरुदेखि नै जसपा नेपालको नेतृत्वकै सरकार रह्यो। तर सरकारको कामकाज प्रभावकारी हुन सकेनन् भन्ने गुनासा सुन्नुभएको होला नि?

सरकारमा नयाँ अनुभवका साथीहरू हुनुहुन्छ। कुनै पनि सरकारलाई प्रभावकारी हुन आर्थिक स्रोतमाथि अधिकार, कर्मचारीमाथि नियन्त्रण हुनुपर्छ, यी छैनन्।  नियमकानुन चाहिन्छन्, निर्माणाधीन नै छन्। प्रादेशिक शासनको स्वायत्तता चाहिन्छ। त्यो पनि छैन। अझ् प्रदेश २ सरकार त संघ सरकारको आँखाको कसिङ्गर नै रह्यो। तर प्रदेश सरकारले जे गरेको छ त्यसको सही मूल्यांकन गर्नुपर्छ।  
 

१९ भदौ, २०७८, ०९:२२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।