दरभंगाबाट उद्धार गरिएका बालकहरू परिवारको जिम्मा लगाइँदै 

दरभंगाबाट उद्धार गरिएका बालकहरू परिवारको जिम्मा लगाइँदै 
दरभंगास्थित बाल गृहबाट उद्धार गरिएका बालकहरु

जनकपुर :सीमावर्ती भारतीय क्षेत्र दरभंगाबाट उद्धार गरिएका तीन बालकलाई आइतबार घरपरिवारको जिम्मा लगाइने भएको छ । 

बालगृह दरभंगामा रहेका सिराहाको लक्ष्मीपुर पतारीका ११ वर्षीय अमरलाल दास, सिराहाको लहान नगरपालिकाका १२ वर्षीय महादेव पासवान र महोत्तरीको जलेश्वर नगरपालिकास्थित सुगाका १२ वर्षीय सत्यम झालाई स्थानीय जनप्रतिनिधिको रोहबरमा परिवारजनको जिम्मा लगाइने भएको हो । 

एक वर्षयता फरक–फरक समयमा घरबाट भागेका ती बालकहरू दरभंगास्थित बालगृहमा रहेको सूचना पाएपछि सामाजिक अभियन्ता सरोज रायको पहलमा घरपरिवारको उद्धार सम्भव भएको हो ।

अभियन्ता रायले दरभंगा पुगेर कानुनी प्रक्रिया पूरा गरी शनिवार राति ती बालकलाई नेपाल ल्याएका छन् । नेपाल ल्याइएका उनीहरूलाई अभियन्ता रायले आफूसँगै घरमा राखेका थिए। 

‘उद्धार गरेर ल्याइएका बालकहरूलाई सँगै राख्ने काम जोखिमपूर्ण र अपजसे हुन्छ, उनीहरू कुनै बेला पनि भाग्न सक्छन्,’ अभियन्ता रायले भने, ‘गैरसरकारी संस्थाद्वारा सञ्चालित कुनै पनि बालगृह राति नखुल्ने हुँदा सँगै राख्नुपर्ने स्थिति आयो ।’

भारतबाट उद्धार गरिएका बालकलाई प्रमुख जिल्ला अधिकारीमार्फत नै घरपरिवारलाई जिम्मा लगाउने व्यवस्था भए पनि रक्षा बन्धनका दिन बिदा भएकाले पछि थप कानुनी प्रक्रिया पुर्याउने गरी आइतबार नै आफन्तको जिम्मा दिइन लागेको रायले बताए। 

सामाजिक अभियन्ता रायले दरभंगाको बालगृहबाट मात्र करिब दुई दर्जन बालबालिकालाई उद्धार गरी घरपरिवारको सम्पर्कमा ल्याएका छन् । 

नेपाली बालबालिका उद्धार गर्ने क्रममा करिब चार महिनाअघि दरभंगा पुगेका रायले त्यहाँको बालगृहमा तीनै जना नेपाली बालकहरूलाई भेटाएका थिए। उद्वार गरिएका मध्ये लक्ष्मीपुर पतारीका दास भने बोल्न सक्दैनन्। दाससँग रहेका दस र बिस रुपैयाँको नेपाली नोटका आधारमा उनी नेपालकै हुनुपर्ने लख काटेका रायले सामाजिक सञ्जालमा उनको तस्बिर पोस्ट गरेर खोजतलासमा सघाउन आह्वान गरेपछि विस्तृत विवरण पत्ता लागेको थियो।

परिवारका अनुसार दास एक वर्षअघि  गाउँबाट हराएका थिए । उनलाई भारतीय प्रहरीले दरभंगास्थित रेल्वे स्टेसनमा फेला पारेर जिल्ला बाल कल्याण समिति दरभंगालाई बुझाएको थियो ।

रायका अनुसार अर्का बालक लहानका पासवानले भने घरबाट भागेर सीमावर्ती रुटमा चल्ने भारतीय रेलभित्र पानी बेच्ने काम गरिरहेका थिए। दरभंगा रेल्वे स्टेसनमा रोकिएको रेलमा सुतिरहेका बेला उनलाई भारतीय प्रहरीले पक्राउ गरी जिल्ला बाल कल्याण समितिमा पठाएको थियो । 

बालक झा भने सीतामढीको बाटो भएर भारतीय रेलबाटै दरभंगा पुगेका थिए। उनलाई बजारमा डुलिरहेका बेला जिल्ला बाल कल्याण समितिका कर्मचारीहरूले नियन्त्रणमा लिई बालगृहमा राखेको रायले बालगृहलाई उद्धृत गर्दै जानकारी दिए। 

‘भारतमा बाल बालिका प्रति राज्य संवेदनशील’, सामाजिक अभियन्ता रायले भने, ‘त्यहाँका प्रहरी र बाल कल्याण समितिका कर्मचारीहरू सङ्कटमा परेका बालकहरूको उद्धारका लागि तत्काल पहल गर्छन् ।’

तर, विभिन्न ठाउँबाट उद्धार गरेर भारतस्थित बालगृहमा आश्रय पाएका बालकहरूलाई नेपाल फर्काउने काम भने सजिलो छैन। बालकको घरपरिवारको पहिचान गरिसकेपछि उनको जन्म दर्ता, बालक हराएको प्रहरीमा दर्ता गराइएको निवेदनको प्रतिलिपिसहित प्रहरीको पत्र, बाबुआमा वा आफन्तसँग बालकको नाता प्रमाणित भएको पत्र, अनुहारसमेत चिनिने स्थानीय तहको सिफारिस पत्र, बाबुआमाको नागरिकता प्रमाणपत्र र त्यसपछि प्रमुख जिल्ला अधिकारीको पत्र बालगृह  सञ्चालन गर्ने त्यहाँको जिल्ला बाल कल्याण समितिलाई बुझाउनुपर्ने हुन्छ । 

त्यहाँका सरकारी अधिकारीहरूले बालबालिका उद्धार गर्ने पक्षका रूपमा व्यक्तिभन्दा संस्थालाई पत्याउने हुँदा ग्रोइंग नेपाल फाउन्डेसन मार्फत काम गर्ने गरेको रायले जानकारी दिए। 

सबै प्रक्रियापछि बाल कल्याण समितिको बाल कल्याण बोर्डको बेन्च अफ मजिस्ट्रेटले उद्धारकर्तासँग घण्टौँ सोधपुछ गरी चित्त बुझे मात्र बालक फर्काउन केन्द्रीय बाल कल्याण बोर्डसँग अनुमति माग्ने गर्छ।  त्यहाँबाट अनुमति प्राप्त भए मात्र बच्चाहरूलाई चार पाँच घण्टाको डकुमेन्टेसनपछि उद्धारकर्ताको जिम्मा लगाइन्छ । 

बालबालिका उद्धार गर्दा उनले व्यक्तिगत रकम खर्च गर्दै आएका छन् । ‘शनिवार दरभंगा जाँदा मैले पाँच हजार रुपैयाँ सापटी लिनुपर्ने स्थिति आयो,’ उनले भने । 

जिल्ला बाल कल्याण समिति दरभंगाका अध्यक्ष वीरेन्द्रकुमार झाले जिल्लाका विभिन्न भागबाट उद्धार गरेर बालगृहमा ल्याइएका बालबालिका बारे बाल संरक्षण क्षेत्रमा कार्यरत नेपालस्थित विभिन्न निकायलाई इमेल पठाउने गरिए पनि त्यसको ‘रेस्पोन्स’ नहुने गरेको गुनासो गरे। उकेरा संवाददातासँगको फोन सम्पर्कमा उनले दक्षिण पूर्वी सीमावर्ती नेपाली क्षेत्रका बालबालिकालाई भारतका अन्य भागमा लगिँदा दरभंगा एउटा महत्त्वपूर्ण ‘ट्रान्जिट’ भएकाले यहाँ उद्धार गरिएका नेपाली बालबालिकाको सङ्ख्या उल्लेख्य भइरहने अध्यक्ष झाले जानकारी दिए। 

प्रदेश २ को महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रालयका उपसचिव देवु केसीले विपत्मा परेका बालबालिकालाई उद्धार गरेर राख्नका लागि प्रदेशका धनुषा र बारामा बालगृह सञ्चालनमा रहेको बताइन्। उनले टोल फ्री १०९८ नम्बरमा फोन गर्न सकिने यस्ता गृहहरूका साथै टोल फ्री नम्बर १०४ रहेको बाल खोज तलास केन्द्र जनकपुरधाममा रहेको जानकारी दिइन् । 

तर, यी बालगृह र बाल खोजतलास केन्द्रबारे सर्वसाधारणलाई पर्याप्त जानकारी छैन । 

 

६ भदौ, २०७८, ११:४४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।