कान्तिपुर गाथा : स्वार्थको घेरामा प्रधानमन्त्री

कान्तिपुर गाथा : स्वार्थको घेरामा प्रधानमन्त्री

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा गठबन्धन सरकारका प्रधानमन्त्री भएपछि उनका भाइ-भारदार, हजुरिया र गजुरिया, पुलकित भएका छन् भने आश्चर्य मान्नु पर्दैन। देउवाले ती सबैलाई आफू सात पटकसम्म प्रधानमन्त्री बन्ने ‘योग’ रहेको कुरा पटकपटक बताएका छन।

बितेको चार पटक पनि उनी भाग्यकै भरमा प्रधानमन्त्री बनेका थिए। देउवा अहिले पाँचौ पटक पनि भाग्यकै भरमा प्रधानमन्त्री बनेका छन्। तर यो पटक उनको भाग्यलाई माओवादी केन्द्र र जनता समाजवादी पार्टीले टेवा दिएका छन्। ‘जुट्न पनि नसक्ने र फुट्न पनि नसक्ने’ अवस्थामा पुगेको एमालेको माधव नेपाल समूहबाट देउवाले राम्रै आशा र भरोसा पाएका छन्।

मन्त्रिपरिषदको समर्थनमा सदनमा सदस्य संख्या नपुगेसम्म प्रधानमन्त्री देउवा कुनै ‘रिस्क’ लिने मनस्थितिमा देखिएका छैनन्। मन्त्रिपरिषदको विस्तार र संसदलाई बिजनेस दिने काम त्यतिबेला होला जब सदनमा सरकार सञ्चालनका लागि आवश्यक बहुमत पुग्ला। 

‘त्यो पुग्ला र?’ कार्यकर्ताहरुमा विश्वास देखिँदैन। सांसदहरु बाख्राको पाठा जस्ता छन्। घरी यता कुद्छन्, घरी उता कुद्छन्। माओवादी पार्टीका अध्यक्षले आफ्ना सांसदहरु समेट्न नसक्दा पनि सरकार नै सशंकित, जनता समाजवादी पार्टीले आफना सांसद समात्न नसक्दा पनि सरकार नै आतंकित। यो अवस्थामा पनि धन्न, शेरबहादुरजीले सरकार चलाएका छन्। चलाएका छन् नै भन्नु पर्यो। यद्यपि, चलेको केही देखिँदैन।

प्रधानमन्त्रीका रुपमा देउवाले भाषण पनि गर्न छाडेका छन्। उता ओली समूहका नेता तथा एमाले अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले डेढ वर्षपछि ‘असाधारण’ मत पाएर प्रधानमन्त्रीको सिंहासनमा फर्किने भाषण गरेर थर्काउँदा पनि देउवाजी चूप छन्। मानिस त हदै दर्जाका ‘भलाद्मी’ हुन्। 

यो पटक प्रधानमन्त्री देउवाभन्दा पनि प्रधानमन्त्रीका रुपमा सक्रिय भएका छन्, उनका भाइ-भारदार र हजुरिया-गजुरियाहरु। ती हजुरिया–गजुरियाहरुले अभियान नै चलाएका छन्, ‘मलाई प्रधानमन्त्री देउवा मन पर्छ, किनभने..., देउवा विना श्रीपेचका राजकुमार हुन्।’

यो अभियानले प्रधानमन्त्री देउवाको छवि टिलिक्क टल्काउने विश्वास प्रधानमन्त्री निवासमा आश्रय पाउने आत्महन्ताले गरेका छन्। तर यी आत्महन्ताको दुई वटा गतिविधि नै हतोत्साही भए। सामाजिक सन्जालमा यी नाराहरु देखिएपछि त्यसको प्रतिकारमा पार्टीका महामन्त्री पूर्ण खड्का र प्रवक्ता विश्वप्रकाश शर्मा जंगिए।

गठबन्धन सरकारको नेतृत्व गर्ने प्रधानमन्त्रीका हजुरिया र गजुरियाले आफ्ना मालिक दुई तिहाइ मत जितेर शासनमा आएको जस्तो व्यवहार गर्नु सौम्य र मर्यादित कुरा थिएन। 

प्रधानमन्त्री शेरबहादुर देउवाले देशको लोकतान्त्रिक आन्दोलनमा दिएको योगदानको अवमूल्यन कसैले गर्न सक्दैन। तर बिपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, सुवर्ण शमशेर, सरोजप्रसाद कोइराला, महेन्द्रनारायण निधि लगायतका नेताहरुको योगदानको लहरमा देउवाको योगदान कहाँनिर पर्छ? त्यसको आकलन जनताले गर्छ।

लोकतन्त्रको विशाल आन्दोलनमा दुर्गानन्द झाले ज्यान गुमाए, कतिले हात गुमाए। लोकतन्त्रको लामो आन्दोलनमा देउवाको पनि प्रशस्त योगदान थियो। आन्दोलनले उनलाई शेरबहादुर बनाएको हो। बाँकी उनले जे-जति प्रतिष्ठा र प्रचार कमाए त्यो राजनीति खेलेर कमाएका हुन्। 

योगदानको हिसाब–किताब गरेर कसैलाई पनि महिमा मण्डित गर्नुको अर्थ छैन, यो गणतान्त्रिक समाजमा। देउवालाई ज-जसले मन पराउँछन्, तिनले पोस्टरमा मन पराएर भएन। उनी र उनको पार्टीलाई दुई तिहाइ मत दिएर मन पराउनुपर्यो। 

‘श्रीपेच बिनाको राजकुमार’- यो चाहिँ कसले रचेको शब्द हो, थाहा छैन। तर यसले देउवालाई जबर्जस्ती देशमा चलेको सामन्तवादका मुखियाहरुसँग जोडने काम गरेको छ।

श्रीपेच लगाएका वा नलगाएका राजकुमारले पनि देशको सेवा गर्न सक्छन्। तर एउटा सामान्य मानिसलाई राजकुमारको पगरी गुथाउँदा ठूलो अनर्थ हुन्छ। प्रधानमन्त्री देउवाका वरिपरि अनर्थकारीहरुको ठूलो घेरा बनिसकेको छ। स्वार्थ र पाखण्डको त्यो घेरालाई तोड्न त्यति सहज छैन।

२९ साउन, २०७८, २२:०१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।