विश्लेषकको दृष्टिमा रवीन्द्र मिश्रको दस्ताबेज : राजावादीका अनेक रूपमध्ये एक

विश्लेषकको दृष्टिमा रवीन्द्र मिश्रको दस्ताबेज : राजावादीका अनेक रूपमध्ये एक

‘मार्ग परिवर्तन विचारभन्दा माथि देश’ नाम दिइएको दस्ताबेजमा उनले सङ्घीयता खारेजी र धर्म निरपेक्षताको विषयमा जनमत सङ्ग्रह गर्नुपर्ने प्रस्ताव अगाडि सारिएको छ।

मुलुकको अस्थिर राजनीतिक अवस्थाको मौका छोपेर मिश्रले यस्तो धारणा सार्वजनिक गरेको विश्लेषकहरूको भनाइ छ।

आफूलाई वैकल्पिक शक्तिको उपमा दिएर राजनीतिमा आएका मिश्रले अस्थिरताको समय पारेर राजनीतिक फाइदाका लागि सङ्घीयता र धर्मनिरपेक्षताको कार्ड फालेको कतिपयको आरोप छ।

मिश्रको धारणा सार्वजनिक भएसँगै विवेकशील साझा पार्टी भित्रैबाट पनि असन्तुष्टिका स्वरहरू आउन थालेका छन्।

‘पृष्ठभूमि नै नभएकाका विषयमा कमेन्ट गर्नुको अर्थ छैन’

राजनीतिक विश्लेषक हरि रोका रवीन्द्र मिश्रले उठाएको विषयको कुनै अर्थ नहुने बताउँछन्। मिश्र र विवेकशील साझा पार्टीलाई आफूले राजनीतिक रूपमा हेर्ने नै नगरिएको दाबी गर्छन् उनी। ‘मैले विवेकशील साझालाई पार्टीको रूपमा हेरेको छैन। उनलाई मैले कहिल्यै पनि विश्लेषकको आँखाले हेर्ने गरेको छैन र हेर्दिनँ पनि,’ उनी भन्छन्, ‘राजनीतिमा त पृष्ठभूमि र योगदानलाई हेरिन्छ।’ 

विश्लेषक रोका मिश्रको योगदान र पृष्ठभूमिमाथि नै प्रश्न गर्छ। पार्टी खोलेर केही–केही अभिव्यक्ति दिँदैमा त्यसलाई राजनीतिक मान्न नसकिने उनको तर्क छ।

‘जो–सुकैको पृष्ठभूमि पनि उसले गरेका योगदानमा निर्भर हुन्छ। मिश्रले यो मुलुकमा प्रजातन्त्र ल्याउनका लागि के काम गरेका छन्? कति वर्ष जेल परेका छन् र कति कष्ट व्यहोरेका छन्? जनतामा भिजेर के काम गरेका छन्? रोकाको प्रश्न छ।

कुनै पनि राजनीतिज्ञको पृष्ठभूमि हुन्छ। पृष्ठभूमि बिना नै उसको बारेमा कुरा गर्नु, कमेन्ट गर्नुको कुनै अर्थ नहुने रोकाको भनाइ छ।

‘असन्तुष्टिलाई क्यापिटलाइज्ड गर्न खोजिएको हो’

राजनीतिक विश्लेषक विजयकान्त कर्ण विवेकशील साझा पार्टी स्थापित राजनीतिक दलको राजनीतिक असन्तुष्टिलाई बोकेर गणतन्त्रपछि स्थापना भएको बताउँछन्। अहिलेको अभिव्यक्तिको कारण खोज्न २०६२र६३ को आन्दोलनमा फर्कनुपर्ने उनको विश्लेषण छ। 

‘गणतन्त्र आउने क्रममा राजावादीहरूले अनेक रूप धारण गरे। एउटा पनि राप्रपा थियो।  राजावादी, हिन्दुवादीहरूको अनेक रूप–रङ देखियो,’ उनी भन्छन्, ‘यसको एक रूपमध्ये विवेकशील र साझा पार्टी पनि हो। राजनीतिक दलको गतिविधिबाट केही युवा असन्तुष्ट हुनु स्वाभाविक हो। त्यो असन्तुष्टिलाई राजनीतिक रूपमा क्यापिटलाइज्ड गराउने र आफ्नो ‘हिड्न’ एजेन्डा बोकेर यस्ता पार्टी उदाए।’

राजावादी शक्तिको रूपमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले गणतन्त्र विरुद्धको एजेन्डा बोके पनि उसले यो मुद्दामा युवालाई आकर्षण गराउन नसकेको उनको भनाइ छ। 

‘त्यो असन्तुष्टि कहाँ गएर पोख्ने भन्नेमा राप्रपा अलमलमा थियो। रवीन्द्र मिश्र एक सेलिब्रिटी पत्रकार थिए। हिजो पनि उनी पञ्चायती र राजावादी थिए। आज पनि उनी त्यही हुन्। यही समय पारेर चलाख, चतुर रविन्द्रले राजनीतिक स्पेस बनाउन यो विषय ल्याए,’ कर्णको तर्क छ। 

नेकपा विभाजनसँगै आएको राजनीतिक असन्तुष्टिलाई कसरी क्यापिटलाइज्ड गर्न सकिन्छ  र त्यसबाट फाइदा लिन सकिन्छ भन्ने हेतुले यस्ता विषय उठाउन थालिएको विश्लेषण गर्छन् कर्ण। उनी भन्छन्, ‘पहिला बिबिसीमा थिए। आज राजनीतिक दलका नेता भएका छन्। जनतामा जानका लागि हिन्दु धर्म भन्यो ८० प्रतिशत हिन्दुहरूलाई आफूतिर तान्न सकिन्छ भन्ने उनलाई लाग्यो होला। यो एउटा जुवा खेल्दा फ्याँकिएको दाउ मात्र हो।’

संयोजकको होइन, रवीन्द्र मिश्रको निजी विचार 

मिश्रको धारणालाई उनकै पार्टी पनि असन्तुष्ट छ। विवेकशील साझा पार्टीका अर्का संयोजक मिलन पाण्डे संयोजक मिश्रले व्यक्त गरेको विचार व्यक्तिगत भएको बताउँछन्। ‘उहाँको विचार व्यक्तिगत हो। पार्टीको संयोजकको रूपमा आएको अभिव्यक्ति होइन,’ संयोजक पाण्डे भन्छन्।

गणतन्त्रको जगमा स्थापना भएको पार्टी मिश्रको एजेन्डामा सहमत हुन नसक्ने उनको भनाइ छ। 

‘पार्टीको घोषणापत्र, प्रस्तावित विधान अनुसार विवेकशील साझा पार्टी सामाजिक न्याय, समावेशिता र गणतन्त्रको जगमा बनिरहेको प्रोग्रेसिभ पार्टी हो। विगतमा भएका आन्दोलनका उपलब्धिको रक्षा गर्ने र संविधानको पूर्णतः पालना गर्ने प्रतिवद्धतामा पार्टी दृढ छ। बाँकी विचारहरू नितान्त व्यक्तिगत हुन। हाम्रो पार्टीका होइनन्,’ उनको प्रतिक्रिया छ।

१२ साउन, २०७८, १८:४४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।