संसद् विघटन बहसमा ३२ घण्टाको समय सीमा : असार दोस्रो साता फैसला आउने

संसद् विघटन बहसमा ३२ घण्टाको समय सीमा : असार दोस्रो साता फैसला आउने

बुधवार इजलासले सरकारको नाममा कारण देखाऊँ आदेश जारी गरेसँगै रिटको वादी र प्रतिवादीका कानुन व्यवसायी र एमिकश क्युरी गठनसँगै बहसको समय समेत तोकेर ३२* घण्टाभित्र बहस सक्ने योजना सार्वजनिक गरेको हो।

आदेशमा छलफललाई सुव्यवस्थित गर्न, सुनुवाइ कार्यलाई अनावश्यक रूपमा लम्बिन नदिन, मर्यादित, व्यवस्थित र औचित्यपूर्ण तुल्याउन, इजलासको भौतिक स्थिति, वर्तमान कोभिड - १९ महामारीको अवस्था तथा विवादको प्रकृति, निर्णय गर्नु पर्ने विषय र यसको गम्भीरता समेतलाई मध्यनजर राखेर सुनुवाइ प्रक्रिया निर्धारण गर्नु वाञ्छनीय भएको उल्लेख छ।

अब असार ९ गतेबाट बहस निरन्तर रहनेछ। सात दिनको म्याद लगायत यस विवादका सन्दर्भमा कुनै प्रकारबाट गुज्रिएको म्याद वा तारिख थाम्न, थमाउन नपाउने आदेशमा उल्लेख छ।

प्रतिनिधि सभा विघटन सम्बन्धी मिति २०७८/२/७ को नेपाल सरकार, मन्त्रिपरिषद्को निर्णय, प्रधानमन्त्रीले गरेको सिफारिस, र राष्ट्रपतिबाट भएको निर्णय सम्बन्धी फायल कागजात सात दिनभित्र अनिवार्य रूपमा झिकाउन आदेशमा उल्लेख गरिएको छ। 

अदालतका सहयोगी लगायत निवेदक तथा प्रत्यर्थी तर्फका कानुन व्यवसायीहरूलाई २०७८ असार १० गतेभित्रमा लिखित बहस नोट पेस गर्न भनेको छ। बहसका लागि आदेशमै ३२ घण्टा समय तोकिएको छ। आदेशमा बहस गर्ने कानुन व्यवसायीका लागि बढीमा १२ घण्टाको समय तोकेको छ।  बहस सकिएपछि प्रत्युत्तर बहसका लागि तीन घण्टा समय तोकिएको छ।

एमिकस क्युरीका लागि आधा घण्टा समय तोकिएको छ। अदालतको सहयोगी मानिने एमिकस क्युरीका लागि चार जनाको नाम पठाउन समेत नेपाल बार एसोसिएसन र सर्वोच्च बारका नाममा आदेश जारी भएको छ। आधा घण्टाको दरले चार जनाले २ घण्टामा बहस सकाउनुपर्नेछ।

समयमै बहस सक्न आदेशमा तोकिएको समयभित्र बहस सक्काउन आपसमा समय विभाजन गरेर व्यवस्थापन गर्न आदेशमा उल्लेख गरिएको छ। बहस व्यवस्थापनका लागि सरकारी वकिल र प्रत्यर्थी तर्फका अन्य कानुन व्यवसायीहरू बिच सहमति कायम हुन नसके अदालतबाट समय विभाजन गर्ने र यसरी समय विभाजन गर्दा सरकारी वकिलहरूका लागि कूल सात घण्टा तीस मिनेट र प्रत्यर्थीहरू तर्फका अन्य सबै कानुन व्यवसायीहरूका लागि कूल सात घण्टा तीस मिनेट समय निर्धारण गरिने उल्लेख छ। *सच्याइएको

२६ जेठ, २०७८, १८:१७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।