जसपा महन्थ समूह सरकारमा जाँदा इश्वर पोखरेल अटाएनन् : महतो , पौडेल र महासेठ उपप्रम हुँदै

जसपा महन्थ समूह सरकारमा जाँदा इश्वर पोखरेल अटाएनन् : महतो , पौडेल र महासेठ उपप्रम हुँदै

काठमाडौँ : एक उपप्रधानमन्त्री सहित जनता समाजवादी पार्टीको महन्थ ठाकुर समूहलाई सरकारमा ल्याउनेक्रममा प्रधानमन्त्री केपी ओलीले एमालेबाट सरकारमा रहेकाहरूको भूमिका समेत फेरबदल गर्ने भएका छन्।

जसपाबाट राजेन्द्र महतो उपप्रधान मन्त्रीको रूपमा सरकारमा सहभागी हुँदै छन्। अहिले उपप्रधानमन्त्री रहेका ईश्वर पोखरेल पुनर्गठित मन्त्रीपरिषद्मा रहने छैनन्। उनको साटो एमालेबाट अर्थ मन्त्री विष्णु पौडेल र नेता रघुवीर महासेठ उपप्रधानमन्त्रीको रूपमा सरकारमा सहभागी हुने एमाले नेता सुवास नेम्वाङले पुष्टि गरे।

नेम्वाङका अनुसार एमालेबाट सरकारमा रहेका भूमि तथा सहकारी मन्त्री शिवमाया तुम्बाहाम्फे र महिला मन्त्री जुली महतो पुनर्गठित मन्त्रीपरिषद्मा रहने छैनन्। एमालेबाट सरकारमा रहेका प्रदीप ज्ञवाली समेत पुनर्गठित मन्त्रीपरिषद्मा अटाएका छैनन्। उनको स्थानमा महासेठ  परराष्ट्र मन्त्री हुँदै छन्।स्वास्थ्य मन्त्री ह्दयश त्रिपाठीको ठाउँमा शेरबहादुर तामाङ स्वास्थ्य मन्त्री हुँदै छन्। 

सञ्चार मन्त्री पार्वत गुरुङ समेत आजबाट पूर्व मन्त्री बन्दै छन्। एमालेबाट भौतिक पूर्वाधारमा वसन्त नेम्वाङ, शिक्षामा कृष्णगोपाल श्रेष्ठ र कानुनमा लीलानाथ श्रेष्ठ मात्र दोहोरिने पक्का भएको छ।

रक्षा, गृह, सञ्चार लगायत सात मन्त्रालय प्रधानमन्त्री ओली आफैँले राख्ने भएका छन्। 

जसपालाई आठ मन्त्री, दुई राज्यमन्त्री

ठाकुर पक्षबाट ८ मन्त्री २ राज्यमन्त्री नियुक्त हुँदै छन्। जसपाले ऊर्जा, खानेपानी, श्रम तथा रोजगार, भूमिसुधार, महिला बालबालिका तथा ज्येष्ठ नागरिक र युवा तथा खेलकुद मन्त्रालय पाउँदैछ।

जसपाका नेता शरसिंह भण्डारीका अनुसार उनी ऊर्जा, अनिल झा खानेपानी, विमल श्रीवास्तव श्रम तथा रोजगार, उमाशङ्कर अरगरियाले वन, लक्ष्मणलाल कर्ण भूमिसुधार, चन्दा चौधरी महिला तथा बालबालिका र एकवाल मियाँ युवा तथा खेलकुद मन्त्रालय सम्हाल्नेछन्।

चन्द्रकान्त चौधरी ऊर्जा राज्यमन्त्री र रेणुका गुरुङ महिला तथा बालबालिका राज्यमन्त्री हुँदै छन्। आजै बेलुका आठ बजे शपथ ग्रहण कार्यक्रम राखिएको नेम्वाङले जानकारी दिए।

२१ जेठ, २०७८, १८:४५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।