संवैधानिक परीक्षामा राष्ट्रपति : प्रधानमन्त्री ओली कि देउवा !

संवैधानिक परीक्षामा राष्ट्रपति : प्रधानमन्त्री ओली कि देउवा !

दुवैले सरकार बनाउन चाहिने सङ्ख्याभन्दा बढी सांसदको समर्थन आफूलाई रहेको दाबी गर्दै राष्ट्रपति कार्यालयले तोकेको पाँच बजेभित्र शीतल निवास पुगेर मागवादी गरेका हुन्।

प्रधानमन्त्री तथा एमाले अध्यक्ष रहेका ओलीले एमालेका १२१ र जनता समाजवादी पार्टीका ३२ सांसदको समर्थन आफूलाई रहेको दाबी गर्दै एक सय ५३ जना सांसदको समर्थन रहेको पत्र दर्ता गराएका छन्। सो प्रस्तावमा प्रधानमन्त्रीमा ओलीकै नाम छ।

उता नेपाली काँग्रेस, माओवादी केन्द्र र जसपाका उपेन्द्र यादव अनि एमालेका माधव नेपालको पक्षका सांसदहरूको समर्थन सहित प्रधानमन्त्रीमा देउवालाई प्रस्ताव गरेर पत्र दर्ता भएको छ।

दुवैले समर्थन पाएको दाबी गरे पनि प्रतिनिधि सभाको विद्यमान सदस्य भन्दा ३५ जानको नाम बढी छ।

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले ट्विटमार्फत दिएको जानकारी अनुसार प्रधानमन्त्री ओलीले बुझाएको पत्रमा ओली, जसपाका केन्द्रीय अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोको मात्र हस्ताक्षर छ। अन्य सांसदको नाम मात्र छ।

उता विपक्षी गठबन्धनले बुझाएको पत्रमा भने एक सय ४९ जना सांसदकै हस्ताक्षर गरेर पत्र बुझाएको छ। माओवादी केन्द्रका नेता देव गुरुङले संविधानको धारा ७६ को ५ अनुसार दलले भन्दा पनि सांसदको बहुमत दाबी गर्नुपर्ने भएकाले आफूहरूले सबै सांसदहरूको हस्ताक्षरसहित पत्र बुझाएको उकेरालाई जानकारी गराए।

परीक्षामा राष्ट्रपति

राष्ट्रपति भण्डारी प्रधानमन्त्री ओलीप्रति लोयल छिन्। उनी ओलीलाई नै प्रधानमन्त्रीमा दोहोर्याउन आफैँ सक्रिय समेत देखिएकी छिन्। उनले शुक्रवार प्रधानमन्त्री ओलीको पक्षमा माहौल बनाउन जसपाका महन्थ ठाकुर र राजेन्द्र महतोलाई बोलाएर छलफल गराएकी थिइन्।

राष्ट्रपतिले जुन धारा अनुसारको सरकारको दाबी गर्न समय तोकेकी छिन् त्यो कुनै दल या संसदीय दलको नेतालाई सरकार बनाउन दाबी गर्न बोलाइएको हैन।

संविधानको धारा ७६ को उपधारा ५ ले संसद्को सदस्य रहेकालाई प्रतिनिधि सभाका बहुमत सदस्यको समर्थन पत्र सहित सरकार बनाउने दाबी गर्ने हो। यसमा दलको सदस्य नभई स्वतन्त्र सांसदले समेत बहुमत सांसदको हस्ताक्षरसहित सरकार बनाउने दाबी गर्न सक्छन्।

यो दाबी दलका आधारमा नभई संसद् सदस्यको रूपमा दाबी गर्नुपर्ने भएकाले  विपक्षी दलले बुझाएको सांसदहरूले आफ्नो हस्ताक्षर फिर्ता नलिए ओलीले बुझाएको मागवादी भन्दा देउवाले बुझाएको मागवादी बलियो देखिन्छ।

७ जेठ, २०७८, १७:३२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।