रुपन्देहीमा भारतबाट स्थलमार्ग हुँदै नेपाल प्रवेश गर्न रोक 

रुपन्देहीमा भारतबाट स्थलमार्ग हुँदै नेपाल प्रवेश गर्न रोक 

भैरहवा : कोरोना संक्रमितको सङ्ख्या बढेपछि रुपन्देहीमा आजदेखि निषेधाज्ञा जारी गरिएको छ। कोरोना भाइरस सङ्क्रमण रोकथामका लागि भन्दै स्थानीय प्रशासनले वैशाख ३० गते बिहान ६ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो। 

प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले आज बिहान ६ बजेदेखि लागु हुने गरी निषेधाज्ञा जारी गरिएको बताए। निषेधाज्ञा अवधिभर जिल्लाभित्र सबै प्रकारका निजी तथा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। अटेरी गरी चलाएका सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएर सडक छेउमा राखेको छ।  

त्यसै गरी अन्तर्राष्ट्रिय सीमा नाकामा भारत लगायत तेस्रो मुलुकबाट स्थलमार्ग हुँदै नेपाल प्रवेश गर्न पूर्ण रूपमा रोक लगाइएको छ। स्थलमार्गबाट आउने नेपाली नागरिकलाई भने होल्डिङ सेन्टरमा राखिने प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ। 

निषेधाज्ञा कडाइका साथ लागू गरिने र उल्लङ्घन गर्नेलाई सङ्क्रामक रोग ऐन २०२० को उपदफा २ बमोजिम कारबाही हुने रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले बताए। ‘सङ्क्रमणबाट बच्न सबै सचेत हुनुपर्छ, निषेधाज्ञा कार्यान्वयन गर्नु नागरिकको दायित्व पनि हो’, उनले भने, ‘सुरक्षाकर्मी परिचालन गरेर निषेधाज्ञा कडाइ गरिनेछ, यदि उल्लङ्घन भए कारबाहीको दायरामा ल्याउँछौँ।’

अहिले रुपन्देहीमा सक्रिय सङ्क्रमितको सङ्ख्या २ हजार २ सय १२ पुगेको छ। सक्रिय सङ्क्रमितका कारण जिल्लाका सरकारी तथा निजी अस्पतालका आइसियु, भेन्टिलेटर, जनरल र अक्सिजनसहित एचडी वार्डहरू भरिएका छन्।

१६ बैशाख, २०७८, ०८:२०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।