सेयरमा झुम्मिए नयाँ लगानीकर्ता

सेयरमा झुम्मिए नयाँ लगानीकर्ता

काठमाडौँ : कुलेश्वरमा दुनोट पसल सञ्चालन गर्दै आएका गुल्मीका नवीन पौडेलले सेयरमा लगानी गर्न थालेको एक वर्ष भयो। सुरुमा प्राथमिक सेयर (आइपिओ)बाट लगानी सुरु गरेका उनले सेयर द्वितीय बजार अर्थात् सेकेण्डरी मार्केटमा पनि लगानी थालेका छन्। 

‘कमाई त्यति धेरै हुँदैन। अलिकति बचेको रकम सेयरमा लगानी गर्दा राम्रै हुने रहेछ। आइपिओमा त एक/दुई हजार हालिराख्यो। यसै छाड्यो। त्यति रकम अन्त कहाँ लगानी गर्नु ? सेकेण्डरी मार्केटमा पनि बुझेर भर्न सके राम्रो हुने रहेछ,’ पौडेलले सुनाए। 

उनी बजारमा सेयर घटेको अवस्थामा किन्छन्। र, केही मात्रामा बढ्यो भने बिक्री गरिहाल्छन्। 

काठमाडौँ बसेर स्नातक तहमा अध्ययन गरिरहेका ओखलढुङ्गाका विवेक पोखरेलले प्राथमिक सेयरमा लगानी गर्न थालेको दुई वर्ष भयो। 

‘आइपिओमा थोरै रकम हालिराख्दा पछि सजिलो हुन्छ भनेर बाबाले डिम्याट खाता खोलिदिनुभयो। त्यसपछि मैले पनि आइपिओ भर्न थालेको छु,’ उनले सुनाए। आइपिओमार्फत प्रतिफल राम्रो हुने भन्दै उनका बुबाले विवेकको सेयर निक्षेप खाता (डिम्याट खाता) खोलिदिएका थिए।

ठेकेदार उनका बुबा पनि सेयरमा लगानी गर्छन्। कक्षा ९ मा अध्ययनरत उनका भाइको पनि डिम्याट खाता छ। विवेक आफैले भाइको नामको आइपिओ पनि भरिदिन्छन्। 

उनीहरू मात्रै होइनन्, पछिल्लो समय सेयरमा लगानीकर्ताहरू बढ्दै गएका छन्। सेयर कारोबारको सम्पूर्ण लेखाजोखा राख्ने सिडिएस एन्ड क्लियरिङ लिमिटेडका अनुसार बुधवारसम्म ३१ लाख २३ हजार ३ सय ४७ जनाले डिम्याट खाता खोलेका छन्। 

सातामै ८१ हजार ६ सय ४९ ले खोले डिम्याट खाता 

सिडिएस एन्ड क्लियरिङ लिमिटेडको तथ्याङ्क हेर्दा गत बुधवार (फागुन १९ गते) सम्म ३० लाख ४१ हजार ६ सय ९८ डिम्याट खाता थिए। एक सातापछि हिजो (बुधवार) ३१ लाख २३ हजार ३ सय ४७ डिम्याट खाता पुगेका छन्। यो तथ्याङ्क हेर्दा सेयर बजारमा लगानीकर्ताको आकर्षण बढ्दै गएको देखिन्छ।

५० प्रतिशतले बढे लगानीकर्ता 

अघिल्लो वर्षको तुलनामा यो वर्ष सेयर लगानीकर्ता करिब ५० प्रतिशतले बढेका छन्। अघिल्लो आर्थिक वर्षको फागुन २५ गतेसम्मको सिडिएस एन्ड क्लियरिङ लिमिटेडको तथ्याङ्क हेर्दा कुल १६ लाख ५५ हजार ४ सय ६५ डिम्याट खाता थिए। चालु आर्थिक वर्षको फागुन २५ गतेसम्म डिम्याट खाता प्रयोगकर्ताको सङ्ख्या ३१ लाख ५५ हजार ९ सय ५० पुग्यो।

अघिल्लो आर्थिक वर्षको साउन १ गतेदेखि फागुन २५ गतेसम्म ८३ हजार ८ सय ६२ नयाँ डिम्याट खाता खुलेका थिए। चालु आर्थिक वर्षको साउन १ देखि फागुन २५ गतेसम्म १४ लाख ३ हजार ३ सय ५५ नयाँ डिम्याट खाता खुलेको सिडिएसको तथ्याङ्कले देखाउँछ। 

कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको महामारीका कारण होटेल, पर्यटन, व्यापार, उद्योगलगायत क्षेत्रमा मन्दी भएपछि त्यताका लगानीकर्ताहरू सेयरतिर झुम्मिएको विश्लेषक बताउँछन्। सेयरमा लगानी गर्दा प्रतिफल पनि चित्तबुझ्दो हुने हुँदा सानादेखि ठुला लगानीकर्ताको आकर्षण बढेको विश्लेषकको भनाइ छ। 

‘जागिरेसम्मले सेयरमा लगानी गर्न थाले’ 

राधा पोखरेल, नेपाल पुँजी बजार लगानीकर्ता सङ्घ (अध्यक्ष) 

पछिल्लो समय कोरोना सङ्क्रमणका कारण सबैजसो क्षेत्र थला परेको अवस्था थियो। कतिपय क्षेत्र त लामो समयसम्म बन्द थिए। जसका कारण घरभित्रै थुनिएर बस्नुपर्ने अवस्था आयो। घरमा बसेको अवस्थामा पनि सेयर बजारमा भने अनलाइनमार्फत नै प्रवेश गर्न सकिने अवस्था थियो। यसले गर्दा लगानीकर्ता बढ्दै गए। व्यापारी, व्यवसायी, जागिरे सम्मले सेयर बजारमा लगानी गर्न थाले। 

यसमा लगानी गर्दा स्टाफ राख्नुपरेन। मेहनत पनि गरिराख्नु परेन। रकम लगानी गरेपछि प्रतिफल पनि राम्रो आइराखेको छ। 

यिनै कारणले गर्दा बजारमा लगानीकर्ता बढेका छन्। दुई वर्षअगाडि १५ देखि १८ लाख सेयर लगानीकर्ता थिए। अहिले ३० लाख लगानीकर्ता पुगेका छन्। 

‘राम्रो प्रतिफल पाएपछि आकर्षण बढ्यो’ 

तारा फुल्लेल, सेयर लगानीकर्ता सङ्घ (उपाध्यक्ष)

कोरोनाको कारण होस् अथवा सामान्य अवस्थामा पनि अरू क्षेत्रमा लगानी गर्ने वातावरण खै त ? अरू ठाउँमा लगानी गर्ने वातावरण छैन। सेयर क्षेत्रमा एकदम सहज छ। सेयर बजार भनेको लगानीको पारदर्शी क्षेत्र पनि हो। सेयरमा लगानी गरिसकेपछि राज्यलाई तिर्नु पर्ने कर पनि पारदर्शी हुन्छ। अर्कोतिर लगानीकर्ताहरूले नाफा/घाटाको मूल्याङ्कन गरेर लगानी गर्न सक्नुहुन्छ। सेयर बजार राम्रो आम्दानी गर्ने क्षेत्र पनि हो।

लगानी गरेपछि पक्कै प्रतिफल पाइन्छ भनेर लगानीकर्ता यता आउनुभएको हो। अहिले बैङ्कको ब्याजदर पनि घट्दो क्रममा छ। यसले ऋण लिनेलाई सहज भएको छ। कतिपयले ऋण लिएर सेयरमा लगानी गरिराख्नुभएको छ। धेरै वटा कम्पनीले राम्रो प्रतिफल दिएकाले लगानीकर्ताको आकर्षण बढेको हो। 

बुझेर लगानी गर्न सुझाव 

सेयरको मूल्य कहिले घट्ने तथा कहिले बढ्ने भइरहन्छ। ‘चार वर्षदेखि बजार निरन्तर घट्दा लगानीकर्ताले धेरै गुमाए। अहिले केही मात्रामा बढ्न थालेपछि लगानीकर्ता ओइरिने क्रम बढेको छ,’ नेपाल पुँजी बजार लगानीकर्ता सङ्घकी अध्यक्ष राधा पोखरेल भन्छिन्, ‘बजार बढ्दा लगानीकर्ता ओइरिने, बजार घट्दा लगानीकर्ता पछि हट्ने गर्दा बजारको दिगोपन रहेन। हामीले दीर्घकालीन लगानी बढाउनुपर्ने देखिएको छ।’

बजार बढेको अवस्थामा आँखा चिम्लिएर जस्तो पायो त्यस्तो कम्पनीमा लगानी गर्ने र पछि टाउकोमा हात राख्नुपर्ने अवस्था सिर्जना हुने गरेको उनको भनाइ छ। त्यसो हुँदा लगानीकर्ताले सुरुमै सेयरमा कति लगानी गर्ने, कस्तो कम्पनीको सेयरमा लगानी गर्ने भन्ने विषयमा विचार पुर्याउनुपर्ने उनको भनाइ छ। सेयर बजार नबुझी हल्लाको भरमा प्रवेश नगर्नसमेत उनको सुझाव छ।

२७ फागुन, २०७७, १०:११:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।