कर्णाली प्रदेश अस्पताल सुर्खेतमा निःशुल्क डायलासिस सेवा सुरु

कर्णाली प्रदेश अस्पताल सुर्खेतमा निःशुल्क डायलासिस सेवा सुरु

सुर्खेत : कर्णाली प्रदेश अस्पताल सुर्खेतमा मिर्गौला रोगीहरूको लागि निःशुल्क डायलासिस सेवा सुरु भएको छ। प्रदेश अस्पतालले सुरु गरेको निःशुल्क डायलासिस सेवाबाट कर्णाली र छिमेकी जिल्लाका मिर्गौला रोगीलाई राहत हुने भएको छ। 

मिर्गौला रोगको उपचार र डायलासिसको लागि नेपालगन्ज या काठमाडौँ नै जानुपर्ने बाध्यता थियो। अस्पतालले अहिले दैनिक १८ जना मिर्गौला रोगीलाई निःशुल्क सेवा दिइरहेको अस्पतालका निर्देशक डा डम्बर खड्काले जानकारी दिए। 

इमर्जेन्सीमा आउने बिरामीको हकमा न्यूनतम रकम लाग्ने भन्दै निर्देशक डा. खड्काले आन्तरिक व्यवस्थापनमा अस्पताल सक्षम भएपछि आकस्मिक सेवा पनि निःशुल्क गर्ने योजना रहेको सुनाए। उनका अनुसार प्रदेश अस्पतालमा बुधवारदेखि निःशुल्क डायलासिस सुरु भएको हो। हाल २७ जना बिरामीको निःशुल्क डायलासिस भइरहेको छ। 

तर, दरबन्दी अनुसार स्वास्थ्यकर्मी र आवश्यक स्वास्थ्य उपकरणको अभाव रहेको निर्देशक खड्काले बताए।

प्रदेश सरकारका सामाजिक विकास मन्त्री दल रावलले जनशक्ति र आवश्यक उपकरणको प्रभावकारी ढङ्गले व्यवस्थापन गर्ने बताए।  प्रदेश अस्पताललाई सुविधा सम्पन्न बनाएर यहाँका नागरिकलाई सहज र सर्वसुलभ सेवा दिने मन्त्री रावलले प्रतिबद्धता जनाए। 

१४ फागुन, २०७७, १४:४०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।