उद्यमशीलताका लागि १९ हजार महिलाले लिए ऋण, युवा स्वरोजगार कर्जा प्रवाह शून्य 

उद्यमशीलताका लागि १९ हजार महिलाले लिए ऋण, युवा स्वरोजगार कर्जा  प्रवाह शून्य 

काठमाडौँ : सरकारले देशमै उद्यमशीलता विकास गरी उत्पादन बढाएर आयात प्रतिस्थापन गर्ने उद्देश्यले २०७५ सालदेखि सहुलियतपूर्ण कर्जा कार्यक्रम कार्यान्वयनमा ल्याएको छ। सहुलियतपूर्ण कर्जा कार्यक्रममार्फत विभिन्न १० किसिमका कर्जा पाइन्छन्। 

आर्थिक वर्ष २०७५/०७६ र २०७६/०७७ मा कर्जा प्रवाहको अवस्था निकै दयनीय भएपछि सरकारले चालु आर्थिक वर्षको बजेटमै कढाइ गरेको छ। वाणिज्य बैङ्कका प्रत्येक शाखाले १० तथा विकास बैङ्कका प्रत्येक शाखाले ५ वटा सहुलियत कर्जा प्रवाह गर्नुपर्ने व्यवस्था बजेटमा गरिएको छ।

आगामी असारसम्म सबै बैङ्क तथा वित्तीय संस्थाले तोकिएको सङ्ख्या पुरा गर्नुपर्नेछ। यो व्यवस्थापछि भने पछिल्लो समय कर्जा प्रवाह प्रभावकारी बन्दै गएको राष्ट्र बैङ्कले जनाएको छ। 

अघिल्लो वर्षको तुलनामा कर्जा प्रवाहको अवस्था सकारात्मक रहेको राष्ट्र बैङ्कका प्रवक्ता डा. गुणाकर भट्ट बताउँछन्। ‘पछिल्लो समय कर्जा प्रवाहमा खासै समस्या छैन। कर्जा प्रवाह प्रभावकारी बन्दै गएको छ,’ बैङ्कका प्रवक्ता भट्टले उकेरासँग भने। 

२०७५ देखि मंसिरसम्म सहुलियतपूर्ण कर्जा कार्यक्रममार्फत ५२ हजार ४८ जना लाभान्वित भएका छन्। सोही अवधिमा बैङ्कहरूले ८६ अर्ब २९ लाख सहुलियतपूर्ण कर्जा प्रवाह गरेको राष्ट्र बैङ्कले जनाएको छ।

कुन शीर्षकमा कति ऋण पाइन्छ ? 

सहुलियत कर्जाका लागि ब्याज अनुदान एकीकृत कार्यविधि २०७५ (तेस्रो संशोधन) मा व्यवस्था भएअनुसार व्यावसायिक कृषि तथा पशुपन्छी कर्जा ५ करोड रुपैयाँसम्म पाइन्छ। शिक्षित युवा स्वरोजगार कर्जा ७ लाख रुपैयाँसम्म पाइन्छ। 

विदेशबाट फर्किएका युवा परियोजना कर्जा १० लाख रुपैयाँसम्म पाउने व्यवस्था छ। महिला उद्यमशील कर्जा १५ लाख रुपैयाँसम्म पाइन्छ।

त्यस्तै दलित समुदाय व्यवसाय विकास कर्जा १० लाख रुपैयाँसम्म पाइन्छ। उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा कर्जा ५ लाख रुपैयाँसम्म पाइने व्यवस्था छ। भूकम्प पीडितहरूको निजी आवास कर्जा ३ लाख रुपैयाँसम्म पाइन्छ।

कपडा उद्योग सञ्चालनका लागि ५ करोड रुपैयाँसम्म पाइन्छ भने प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदबाट मान्यता प्राप्त संस्थाबाट दिइने तालिम आदिका लागि २ लाखसम्म कर्जा दिने व्यवस्था छ। युवा वर्ग स्वरोजगार कर्जा ५ लाख रुपैयाँसम्म दिने व्यवस्था कार्यविधिमा छ। 

कुन शीर्षकमा कसले कति ऋण लिए ? 

व्यावसायिक कृषि तथा पशुपन्छी कर्जा यो कर्जा योजनाअन्तर्गत ३० हजार ८ सय ७ जना लाभान्वित भएका छन्। 

अघिल्लो वर्षको असारसम्म २४ हजार ७६३ जनाले यो कर्जा लिएकोमा चालु आर्थिक वर्षको मंसिरसम्म ६ हजारभन्दा बढीले कर्जा प्राप्त गरेका हुन्। व्यावसायिक कृषि तथा पशुपन्छी कर्जा अन्तर्गत ६८ अर्ब ६९ करोड ऋण प्रवाह गरिएको राष्ट्र बैङ्कले जनाएको छ। 

शिक्षित युवा स्वरोजगार कर्जा शैक्षिक योग्यताको प्रमाणपत्र धितो राखेर ७ लाख रुपैयाँसम्म ऋण पाउने यो शीर्षक अन्तर्गत हालसम्म ८५ जना लाभान्वित भएका छन्। राष्ट्र बैङ्कको तथ्यांकअनुसार मंसिरसम्म ४ करोड ५० लाख रुपैयाँ शिक्षित युवा स्वरोजगार कर्जा अन्तर्गत प्रवाह भएको छ। 

विदेशबाट फर्किएका युवा परियोजना कर्जा  सरकारले विदेशमा आर्जन गरेको सीप स्वदेशमा उपयोग गर्न यो कर्जा ल्याएको छ। विदेशबाट फर्किएका युवा परियोजना कर्जा अन्तर्गत १० लाखसम्म ऋण प्रवाह गर्ने व्यवस्था छ। यो कर्जा मंसिरसम्म ४६० जनाले प्राप्त गरेका छन्।

विदेशबाट फर्किएका ठुलो सङ्ख्यामा युवाहरू यो कर्जाप्रति आकर्षित भए पनि थोरै सङ्ख्यामा मात्रै कर्जा प्रवाह भएको देखिन्छ। यो शीर्षकअन्तर्गत ३३ करोड ३० लाख रुपैयाँ लगानी भएको राष्ट्र बैङ्कले जनाएको छ। 

महिला उद्यमशीलता कर्जा महिलामा उद्यमशीलता विकास गर्ने उद्देश्यले अघि सारिएको यो योजना अन्तर्गत १५ लाख रुपैयाँसम्म कर्जा दिने व्यवस्था गरिएको छ। यो कर्जा मंसिरसम्म १९ हजार ६ सय ३५ जनाले लिएका छन्। मंसिरसम्म १५ अर्ब ८९ करोड रुपैयाँ महिला उद्यमशीलता विकासका लागि कर्जा प्रवाह भएको राष्ट्र बैङ्कको तथ्याङ्कले देखाएको छ। 

दलित समुदाय व्यवसाय विकास कर्जा दलित समुदायको परम्परागत पेसालाई व्यावसायिक बनाउने उद्देश्यले अघि सारिएको यो कर्जा लिनेको सङ्ख्या ५ सय ६६ पुगेको छ। यो शीर्षक अन्तर्गत ३२ करोड २९ लाख कर्जा प्रवाह भएको छ। 

उच्च प्राविधिक तथा व्यावसायिक शिक्षा कर्जा उच्च प्राविधिक तथा व्यावसायिक शिक्षा कर्जाका लागि माध्यमिक शिक्षा पुरा गरेको हुनुपर्छ। माध्यमिक शिक्षा पुरा गरी २५ वर्ष ननाघेको व्यक्तिले उच्च प्राविधिक तथा व्यावसायिक शिक्षा कर्जा अन्तर्गत ५ लाख रुपैयाँ पाउँछन्। मंसिरसम्म ८७ जनाले यो कर्जा लिएका छन्। त्यस्तै २ करोड ६९ लाख रुपैयाँ यो शीर्षकको कर्जा प्रवाह भएको छ। 

भूकम्प पीडितका लागि आवास कर्जा भूकम्प पीडितहरूले निजी आवास निर्माणका लागि यो कर्जा लिन सक्छन्। यस्तो कर्जा मंसिरसम्म २ सय ३६ जनाले लिएका छन्। ५ करोड ६२ लाख रुपैयाँ भूकम्प पीडितका लागि आवास कर्जा अन्तर्गत लगानी भइसकेको छ। 

कपडा उद्योग सञ्चालनका लागि कर्जा यस अन्तर्गत १७१ जना लाभान्वित भएका छन्। विभिन्न बैङ्कहरूले ९२ करोड २५ लाख कपडा उद्योग सञ्चालनका लागि ऋण प्रवाह गरेका छन्। 

प्राविधिक शिक्षा तथा व्यवसायी तालिम यस शीर्षक अन्तर्गत २ लाख कर्जा पाउने व्यवस्था छ। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्बाट मान्यता प्राप्त संस्थाबाट तालिम लिन यो कर्जा उपलब्ध गराइन्छ। यो कर्जा १ जनाले मात्रै प्राप्त गरेका छन्। १ जनालाई २ लाख ऋण प्रवाह गरिएको छ। 

युवा वर्ग स्वरोजगार कर्जा यो कर्जा प्राप्त गर्न माध्यमिक तहको शिक्षा पुरा गरी मान्यताप्राप्त संस्थाबाट ७ दिनको प्राविधिक तथा व्यावसायिक तालिम लिएको हुनुपर्दछ। यो कर्जा ५ लाखसम्म पाउने व्यवस्था छ। तर हालसम्म यो कर्जा एक जनाले पनि लिन सकेका छैनन्।

पछिल्लो समय सबै प्रकारका कर्जा प्रवाहमा जोड दिइएको राष्ट्र बैङ्कका प्रवक्ता गुणाकर भट्ट बताउँछन्। ‘पछिल्लो समय कर्जा प्रवाह थप बढेको छ। त्यसबारे हामी तथ्याङ्क सङ्कलन गरिरहेका छौँ,’ प्रवक्ता भट्टले भने।  

२७ माघ, २०७७, १०:२३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।