ओलीको विरोधमा शुक्रवार सडक भरिएला ?

ओलीको विरोधमा शुक्रवार सडक भरिएला ?
माइतीघरको प्रदर्शनमा दाहाल र नेपाल

काठमाडौँ : बिहीबार प्रतिपक्षी दल नेपाली काँग्रेसले देशभरका वडामा सरकारविरुद्ध सभा गर्यो। भोलि शुक्रवार प्रधानमन्त्री केपी शर्मा ओलीलाई शक्ति देखाइदिने तयारीमा छ नेकपाको दाहाल–नेपाल समूह।

उसको दाबी सत्य भयो भने शुक्रवार भृकुटीमण्डप क्षेत्रमा एक लाख जनता उत्रिने छन् प्रधानमन्त्री ओलीको संसद् विघटनको विरुद्धमा। त्यसको रिहर्सल बिहीबार बेलुका देखायो दाहाल–नेपाल समर्थकले। उनीहरूले प्रहरीलाई छक्क्याउँदै राँके जुलुस निकालिछाडे।

पुष्प कमल दाहाल अनि माधव नेपालले विरोध प्रदर्शनमा सभ्य नारा लगाउन कार्यकर्तालाई निर्देशन दिएपछि उनीहरूले राँके जुलुसमा नाराको राँको ओकल्दै बयल गाडा होसियारसँगै उल्लेख गर्न नि सङ्कोच लाग्ने नारा लगाएका थिए।

उनीहरूले काठमाडौँको विजुलीबजारबाट राँको निकालेर नयाँ बानेश्वरसम्म दौडिएका थिए। गाडीको जाम खुलाउँदै गरेका ट्राफिक प्रहरी अलमलमा परेका थिए राँको बलेको देखेर। बानेश्वरबाट हुइँकिँदै आएका गाडीमा झ्याप्प झ्याप्प ब्रेक लाग्यो। 

आन्दोलितप्रति छैन चासो

शुक्रवार दाहाल–नेपाल समूहले भृकुटीमण्डप क्षेत्र कब्जाको तयारी गरिरहेका छन्। उनीहरू दिनरात‘प्रतिगमन विरुद्ध भेेेेलामा जाउँ भन्दै माइकिङ गरिरहेका छन्। तर आम नागरिकले न दाहाल–नेपालको आन्दोलनमा चासो राखेको देखियो न काँग्रेसको नै।

प्रधानमन्त्री ओलीले पुस ५ मा संसद् विघटन गराउँदै मध्यावधि निर्वाचनको घोषणा गराएको रुचाएका छैनन् आम नागरिकले। तर त्यसैविरूद्ध सुरु भएको आन्दोलनले गति लिन भने सकेको छैन। 

नेपाल–दाहाल पक्षकी सांसद सरला यादव सर्वोच्चले संसद् पुनर्स्थापना गर्ने विश्वास गर्छिन्। पार्टी भित्रको विवाद प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेर छताछुल्ल पारेको बताउँदै सांसद यादवले भनिन्,‘ ५ वर्षका लागि भोट दिएका जनता माझ अब चुनाव भयो भने के अजेण्डा लिएर जाने?’

राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा भण्डारी ओलीको अहिलेको कदम असंवैधानिक मान्छिन्। उनी आफ्नो पार्टी आन्दोलनमा रहेको बताउँछिन्। 

काँग्रेसको हालत पनि उस्तै

सँगै आन्दोलनमा होमिन दाहाल–नेपाल समूहले गरेको आग्रह अस्वीकार गर्दै एक्लै आन्दोलन गरिरहेको प्रमुख प्रतिपक्षी दल काँग्रेसको कार्यक्रम पनि रित्तो देखिन्छ। बिहीबार वडा स्तरमा गरेको आन्दोलन टिठ लाग्दो देखिएको थियो।

नेपाली काँग्रेसकी केन्द्रीय सदस्य एवं सांसद पार्वती डिसी चौधरीले भनिन् ‘पार्टीले सर्वोच्चले दिने आदेश मान्छ। चुनावमा जानबाट पार्टी पछाडि हट्दैन र लोकतान्त्रिक पार्टी चुनावमा जान डराउँदैन।’

नागरिक समाजले चलाएको अभियानमा केही जनचासो देखिन्छ। तर ओलीको कदमविरुद्धमा रहेका दललाई पत्याइहाल्ने मुडमा देखिएका छैनन् आम नागरिक।

तुच्छ आरोप–प्रत्यारोप, विभाजित शक्ति

प्रधानमन्त्री ओली सार्वजनिक कार्यक्रमबाटै दाहाल–नेपाल समूहको सत्तोसराप गरिरहेका छन्। दाहाल–नेपाल पनि ओठे जवाफ दिन सक्रिय छन्। दुवै एक अर्का विरुद्ध शक्ति प्रदर्शनमा छन्।

एउटाले अनेरास्ववियुको कार्यक्रम गरे अर्को समूह पनि सक्रिय भइहाल्छ। पत्रकार, महिला सबै सङ्गठनहरू विभाजित छन्। त्यसको असर संसद् विघटनको समर्थनमा हुने कार्यक्रम र विरोधमा हुने कार्यक्रम दुबैतिर देखिएको छ।

प्रमुख प्रतिपक्षी दल काँग्रेस संसद् विघटनको विपक्षमा भए पनि नेताहरूको बोलीको लय मिलेको छैन। पार्टी सभापति शेरबहादुर देउवा नरम छन्। वरिष्ठ नेता रामचन्द्र पौडेल संसद् विघटनप्रति अलि गरम छन्। त्यसको असर पार्टीले आयोजना गर्ने विरोध प्रदर्शनमा देखिँदै आएको छ।

संसद् विघटनको विषय सर्वोच्च अदालतको संवैधानिक इजलासमा छ। दैनिक बहस चलिरहेको छ। बहसमा देखिएका दृश्य संसद् पूर्नस्थापनाको पक्षमा देखिएको छैन। यस्तो अवस्थामा संसद् विघटनको मुद्दाको विपक्षमा भएकाहरू पनि एक मुख हुन नसक्दा आम नागरिकको मन आन्दोलित हुन सकेको देखिएन।

शुक्रवारको प्रदर्शनलाई नेकपा दाहाल–नेपाल समूहले आगामी आन्दोलनको कार्यक्रम घोषणाका लागि मानक मान्ने रणनीतिमा रहेको देखिन्छ।

८ माघ, २०७७, २१:१२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।