ग्राण्डी भिला घटनामा प्रहरी निष्कर्ष ः श्रीमानको हत्या, श्रीमतीको आत्महत्या

ग्राण्डी भिला घटनामा प्रहरी निष्कर्ष ः श्रीमानको हत्या, श्रीमतीको आत्महत्या

अमेरिका फर्कने तयारीमा रहेका उमेश र उनको श्रीमती सुदीक्षा गत शुक्रबार मृत अवस्थामा कोठामा फेला परेका थिए। अनुसन्धानमा संलग्न प्रहरी स्रोतका अनुसार पोस्टमार्टम रिपोर्टमा उमेशको मृत्युको कारण टाउकोमा गम्भीर चोट लाग्नु हो भने सुदीक्षाको मृत्युको कारण पासो लाग्नु हो। 

घटनाको अनुसन्धान गरिरहेका महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एवं एसएसपी दीपक थापाका अनुसार पोस्टमार्टम रिपोर्टमा उमेशको टाउकोमा लागेको चोटका कारण रगत जमेर निधन भएको खुलेको छ।

सुतेकै बेलामा सिलौटा हानियो

प्रहरी उनीहरूको कोठामा पुग्दा उमेशको शव खाटमा थियो। शव कोल्टो सुतेको अवस्थामा थियो भने उनको बायाँ टाउकोमा चोट लागेकाले उनी निदाएको बेलामा प्रहार भएको प्रहरीको निष्कर्ष छ। प्रहरीले घटनास्थलमा बरामद गरेको सिलौटामा रगत र कपालको रौँ अड्किएको फेला परेको छ। सिलौटाको फेला परेको रगत र कपाल उमेशको हो वा हैन भन्ने पहिल्याउन फरेन्सिक परीक्षण भइरहेको छ।

‘घटनास्थलको अवस्था हेर्दा दुई पक्षबीच झगडा भएको वा धकेलाधकेलको कुनै संकेत नभएकाले अपराध हुँदा दुवै पक्षबीच संघर्ष भएको देखिएन,’ एसएसपी थापाले उकेरासँग भने।

सुदीक्षाको शव भर्याङको रेलिङमा झुन्डिएको अवस्थामा फेला परेको थियो। शव फेला पर्दाको अवस्था र पोस्टमार्टमको प्रारम्भिक रिपोर्ट अनुसार मृत्युको कारण पासो लाग्नु खुलेकाले उनले आत्महत्या गरेको हो भन्नेमा थप शंका गरिरहनुपर्ने प्रहरीको निष्कर्ष देखियो।

तेस्रो व्यक्तिको सम्भावना कम

शिक्षण अस्पताल, महाराजगञ्जमा गरिएको पोस्टमार्टम रिपोर्ट अनुसार उमेश र सुदीक्षाको मृत्युको समय करिव १० घण्टाको फरक देखिएकाले घर झगडाको कारण श्रीमतीले सिलौटाले हानेर हत्यापछि आत्महत्या गरेको हुनसक्ने भन्दै प्रहरीले सोही कोणबाट अनुसन्धान गरिरहेको छ।

सबैभन्दा पहिला घटनाबारे सुदीक्षाकी दिदीले चाल पाएर पनि प्रहरीलाई खवर नगरेकाले उनी शंकाको घेरामा परेकी छन्। उनले बिहान ६ बजे नै घटना थाहा पाए पनि धेरै ढिला प्रहरीलाई खबर गरेकी थिइन्।

‘अहिलेसम्मको अवस्थामा घटनामा तेस्रो व्यक्तिको संलग्नताको त्यस्तो प्रमाण केही देखिएको छैन। प्रहरीलाई किन ढिला खबर भयो भन्ने प्रश्न भने छ। हामी अनुसन्धानमा छौं,’ एसएसपी थापाले भने।

अमेरिका फर्कन पाएनन् उमेश

उमेश र सुदीक्षाको ७ वर्षअगाडि विवाह भएको थियो। विवाहपछि उनी श्रीमतीको घरतिरै बस्ने गरेका थिए। सूचना प्रविधि अध्ययन गरेका उनको अमेरिकाको भिसा लागेपछि विवाह गरेको केही समयमै उनी अमेरिका गए भने श्रीमती यतै रहिन्। 

उनी बेलाबखत नेपाल आउने–जाने गरिरहेका थिए। विद्यार्थी भिषामा अमेरिकामा रहेका उमेश दसैं मनाउन नेपाल फर्किएका थिए। माघ १ गते अमेरिका फर्कदै थिए। 

किन भयो यस्तो ?

सुदीक्षाको आफन्तसँग लेनदेख भए पनि श्रीमान्–श्रीमतीबीच देखिने गरी मतभिन्नता रहेको प्रहरी अनुसन्धानमा खुलेको छैन। हालसम्मको अनुसन्धान र घटनाको प्रकृति आवेशप्रेरित देखिएकाले व्यक्तिगत सम्बन्धमा आएको तीतोपनाका कारण अपराध भएको हुनसक्ने सम्भावना बढी  छ। प्रहरीले समेत सोही कोणबाट अनुसन्धान गरिरहेको देखियो।

‘एक जनाको हत्या भएको र अर्कोले आत्महत्या गरेकोमा शंका गर्नुपर्ने कारण देखिएन। अब यस्तो किन भयो भन्ने कोणबाट अनुसन्धान अगाडि बढ्छ। त्यसपछि मात्र घटनाको कारण खुल्ला,’ एसएसपी थापाले भने। 

 

२७ पुस, २०७७, १५:०२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।