शहीद स्मृति पार्कको सुरक्षा र संरक्षणबारे अन्यौल 

शहीद स्मृति पार्कको सुरक्षा र संरक्षणबारे अन्यौल 

सुर्खेत : कर्णाली प्रदेश सरकारले प्रदेश प्राप्तिका लागि शहीद भएकाहरुको सम्झनामा वीरेन्द्रनगर नगरपालिका–४ मा निर्माण गरेको शहीद स्मृति पार्कको सुरक्षा र संरक्षण कसले गर्ने भन्ने अन्यौलता देखिएको छ। 
 

पार्कको पहिलो चरणको काम गत असोजमा सकिए पनि सुरक्षा र संरक्षण कसले गर्ने भन्नेमा अन्यौलता छाएको छ। 

वन तथा वातावरण निर्देशनालयले भ्याटबाहेक एक करोड १३ लाख ५१ हजारको लागतमा पार्क निर्माण गरेको हो। 

निर्देशनालयले निर्माण गरेको, प्राविधिक सहयोग वीरेन्द्रनगर नगरपालिकाले गरेको र स्थानीय भैरम सामुदायिक वनभित्र रहेको हुँदा कुन निकायले संरक्षण गर्ने भन्ने तोकिएको छैन। 

अभियान निर्माण सेवा कालीकोटले गत असोजमा पार्कको काम सकेको हो। त्यसपछि संरक्षण कसले गर्ने भन्ने अन्यौल छ।

निर्माण कम्पनीले दुई महिना रेखदेख गर्न भनी भैरम सामुदायिक वनलाई २२ हजार रुपैयाँ दिएको थियो। वनका अध्यक्ष अमरबहादुर कार्कीले निर्माण कम्पनीले दिएको रकमले कार्तिक र मंसिर महिनामा एक जना पाले राखेर रेखदेखको जिम्मा दिए पनि पुसदेखि के गर्ने भन्ने अन्यौल छाएको बताए। 

उनले संरक्षणका लागि बजेटको व्यवस्था गरिदिन निर्देशनालय, नगरपालिकासँग आग्रह गरिएकोसमेत बताए।  पार्कको उचित संरक्षण नभए भत्किने संभावना रहेको कार्कीले सुनाए।

संरक्षण र सुरक्षा हुन नसक्दा पार्कभित्र रहेको पानीको फोहोराहरुमा केटोकेटीहरु पौडी खेल्ने, गमलाहरु टुटफुट हुनसक्ने जोखिम छ। पार्क सुरक्षाका लागि वरिपरि पर्खाल लगाउन थालिए पनि पुरा भएको छैन। 

‘वनभित्र भएकोले जोकोही पनि सजिलै जान सक्ने र पाले नहुँदा सामानहरु चोरिने, तोडफोड हुनसक्ने जोखिम छ’ अध्यक्ष कार्कीले भने ।
प्रदेश वन तथा वातावरण निर्देशनालयले भने अर्को व्यवस्था र पार्क पूरा नभएसम्मको लागि पार्क निर्माण भएको क्षेत्र वन उपभोक्ता समितिले नै संरक्षण गर्नुपर्ने बताएको छ। 

निर्देशक शिवराम अधिकारीले वन समूहको कार्ययोजनामा नै पार्क स्वीकृति गरी पर्यटक भित्र्याउने भनिएकोले अर्को व्यवस्था नभएसम्मका लागि सामुदायिक वन समूहले नै सुरक्षा र संरक्षणको जिम्मा लिनुपर्ने बताए। 

उनले पाँच वर्षभित्र पूर्णरुपमा पार्क निर्माण गरिसक्ने भएकोले पहिलो चरणको काम सकिएको र अर्को चरणको लागि बजेट माग गरिएको जानकारी दिए। पहिलो चरणमा पार्क, स्तम्भ, बगैचा, पर्खाल निर्माणको काम भइरहेको छ। दोस्रो चरणमा बनस्पति उद्यानलगायत निर्माण गरिनेछ ।

निर्देशक अधिकारीले वन समूहको हाताभित्र भएकोले यसको सुरक्षा र संरक्षणको पाटो पनि वन समूहकै भएको जिकिर गरे। 
 

२२ पुस, २०७७, १४:१४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।