कर्णालीमा ओली समूहलाई धक्का, प्रदेश सरकार जोगिने पक्का

कर्णालीमा ओली समूहलाई धक्का, प्रदेश सरकार जोगिने पक्का

सामाजिक विकास मन्त्री दल रावल र उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा तथार सांसद पदमबहादुर रोकायले ओलीको साथ छोडेका हुन्।

दुई मन्त्री र एक सांसदले ओली समूहको साथ छोडेपछि अहिले मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकार सुरक्षित भएको छ।
कर्णाली प्रदेशसभामा नेकपाको ३३ सदस्यीय संसदीय दलमा ओली पक्षमा सभामुख राजबहादुर शाहीसहित ११ जना तथा दाहाल–नेपाल समूहमा २२ जना छन्।

यस्तो छ जिल्लागत विभाजन 

१० जिल्ला रहेको कर्णालीमा नेकपा विभाजन अघिको तीन जिल्लामा ओली समूह, ६ जिल्लामा दाहाल–नेपाल समूहको बलियो छ। 

एक जिल्लामा लगभग बराबरी अवस्थामा छ। सुर्खेत, डोल्पा र हुम्लामा ओली समूह बलियो हुँदा सल्यान, रुकुमपश्चिम, जाजरकोट, जुम्ला, कालिकोट र मुगुमा दाहाल–नेपाल समूह बलियो देखिन्छ। दैलेखमा भने लगभग बराबरीको अवस्थामा छन्।

प्रदेशभर राष्ट्रिय, संघीय र प्रदेश संसद गरी दाहाल–नेपाल समूहमा ३१ जना र ओली समूहमा २१ जना सांसदहरु छन्। 

रामबहादुर थापा समूहका कर्णाली प्रदेशमा आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारी र सांसद कृष्णा शाह विभाजनपछि दाहाल–नेपाल समूहमा लागेका छन्। 

सुर्खेत : स्वास्थ्य राज्यमन्त्री नवराज रावत, राष्ट्रिय सभा सांसद सुमित्रा विसी, प्रदेश सांसद एवम् केन्द्रीय सदस्य यामलाल कँडेल, प्रदेश सांसदहरु ठम्मर विष्ट, खड्क खत्री, राजु नेपाली लगायतका नेताहरु ओली समूहमा छन्। 

दाहाल–नेपाल समूहमा प्रतिनिधिसभा सदस्य ध्रुवकुमार शाही, राष्ट्रिय सभा सदस्य नन्दा शर्मा, प्रदेश सांसद पद्मा खड्का र विन्दमान विष्ट छन्। 

दाहाल–नेपाल समूहकै विन्दमान विष्ट र झकबहादुर मल्ल केन्द्रीय सदस्य र जिल्ला नेतृत्वमा ध्रुवकुमार शाही अध्यक्ष र कृष्ण जिसी सचिव जिम्मेवारीमा छन्। तर सुर्खेतमा सुरुदेखि नै ओली समूहको बलियो पकड छ।

दैलेख : ओली समूहमा प्रतिनिधिसभा सांसद एवम् जिल्ला अध्यक्ष रविन्द्रराज शर्मा, प्रदेश सांसदहरु धर्मराज रेग्मी, सभामुख राजबहादुर शाही र केन्द्रीय सदस्यमा लक्ष्मीप्रसाद पोखरेल छन्। 

दाहाल–नेपाल समूहमा केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य राजबहादुर बुढा र पार्वति विसुंखे, प्रदेश सांसदहरु अम्मरबहादुर थापा, सशीलकुमार थापा, केन्द्रीय सदस्य विष्णु रिजाल र जिल्ला सचिवमा प्रेम कटुवाल छन्। 

डोल्पा : ओली समूहमा केन्द्रीय सदस्य हंसबहादुर शाही, संघीय सांसद धनबहादुर बुढा, प्रदेश सांसद बद्मीक्वारी बोहोरा र जिल्ला अध्यक्ष दत्तबहादुर रोकाय छन्।

दाहाल–नेपाल समूहमा केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य सत्या पहाडी, प्रदेश सांसद विरबहादुर शाही र जिल्ला सचिव मालबहादुर रोकाया छन्। डोल्पामा ओली समूहकै बाहुल्यता छ।

हुम्ला : ओली समूहमा राष्ट्रियसभा सांसद कविता बोगटी, केन्द्रीय सदस्य एवम् कर्णाली प्रदेश अध्यक्ष गोरख बोगटी छन् । 

दाहाल–नेपाल समूहमा प्रतिनिधिसभा सांसद छक्कबहादुर लामा, जिल्ला अध्यक्ष लालकेशर जैसी, केन्द्रीय सदस्य विजय भण्डारी र कर्णाली प्रदेशमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा छन्।

सल्यान : ओली समूहमा केन्द्रीय सदस्य एवम् प्रदेश सांसद गुलावजंग शाह र पार्टी अध्यक्ष गोविन्द पुन छन्।

दाहाल–नेपाल समूहमा केन्द्रीय सदस्य एवम् प्रतिनिधिसभा सदस्य टेकबहादुर बस्नेत, केन्द्रीय सदस्य, प्रदेश सह–इञ्चार्ज एवम् कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला र पार्टी सचिवमा कर्णबहादुर बुढाथोकी छन्। सल्यानमा दाहाल–नेपाल समूह बलियो छ।

रुकुपश्चिम : ओली समूहमा राष्ट्रिय सभा सदस्य ठगेन्द्रप्रसाद पुरी मात्रै छन्। त्यहाँ दाहाल–नेपाल समूहमा प्रतिनिधिसभा सदस्य, स्थायी समिति सदस्य एवम् प्रदेश इन्चार्ज जनार्दन शर्मा, केन्द्रीय सदस्यहरु राजकुमार शर्मा, बशन्त शर्मा, शेरबहादुर केसी, जिल्ला अध्यक्ष एवम् प्रदेश सांसद गोपाल शर्मा, कर्णाली प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसी, सांसदहरु रातो कामी, देवी ओली र जिल्ला सविच विमल पुन छन्।

जाजरकोट : ओली समूहमा नेकपाका केन्द्रिय सदस्य एवं राष्ट्रिय सभा सदस्य भैरवसुन्दर श्रेष्ठ, प्रदेश सांसद कौशिलावती खत्री छन्। 

दाहाल–नेपाल समूहमा स्थायी समिति सदस्य शक्तिबहादुर बस्नेत, केन्द्रीय सदस्य, प्रदेश सचिव एवम् राष्ट्रिय सभा सदस्य मायाप्रसाद शर्मा, केन्द्रीय सदस्यहरु कालिबहादुर मल्ल, रामदिप आचार्य, निरज आचार्य, प्रदेश सांसद एवम् जिल्ला सचिव करविर शाही, प्रदेश सांसदहरु गणेशप्रसाद सिंह र जिल्ला अध्यक्ष ढकविर राना छन्।

रामबहादुर थापा समूहकी प्रदेश सांसद कृष्णा शाह पनि दाहाल–नेपाल समूहमा फर्किएकी छिन्।

कालिकोट : ओली समूहमा जिल्ला सचिव नागिन्द्र शाही र राष्ट्रिय सभा सदस्य नरपति लुहार छन्। 

दाहाल–नेपाल समूहमा केन्द्रीय सदस्य एवम् कर्णाली प्रदेशमा मुख्यमन्त्री महेन्द्रबहादुर शाही, प्रतिनिधिसभा सांसद दुर्गबहादुर रावत, प्रदेश सांसद कुर्मराज शाही र जिल्ला अध्यक्ष धनजित शाही छन्।

मुगु : ओली समूहका केन्द्रीय सदस्य मोहन बानिया र प्रदेश सांसद दानसिंह परिवार छन्। 

दाहाल–नेपाल समूहमा केन्द्रीय सदस्य एवम् प्रदेश सभा सांसद चन्द्रबहादुर शाही, प्रतिनिधि सभा सदस्य गोपाल बम, जिल्ला अध्यक्ष सुरविर बुढा छन्। 

नेपाल समूहका जिल्ला सचिव धर्मजित शाहीलाई ओली समूहले केन्द्रीय सदस्यमा मनोनय गरे पनि उनी कुनै पनि समूहमा खुलेका छैनन्।

जुम्ला : जुम्लामा ओली समूहमा रहेका प्रदेश सांसद पदम रोकाय पनि दाहाल–नेपाल समूहमा लागेपछि ओली समूह निल बनेको छ। 

प्रतिनिधि सभा सांसद गजेन्द्र महत, जिल्ला अध्यक्ष विरबहादुर कुँवर र सचिव तिर्थबहादुर बुढा, केन्द्रीय सदस्य एवम् कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारी दाहाल–नेपाल समूहमा छन्। 
 

१९ पुस, २०७७, १८:४५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।