कस्तो होला विराट राजाको दरबार ?

कस्तो होला विराट राजाको दरबार ?
विराटनगरस्थित विराट राजाको दरबार क्षेत्र । 

विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले विराट राजाको दरबार निर्माण गर्ने विषयमा अध्ययन सुरू गरिएको जानकारी दिए। उनका अनुसार ओझेलमा पर्दै आएको पुरातात्त्विक महत्त्वको विराट राजाको दरबार क्षेत्रको अध्ययन, संरक्षण र दरबार पुनःर्निमाणका लागि पुरातत्त्व विभागले अध्ययन थालेको छ। पुरातत्वविदहरूको टोलीले विराट राजाको दरबार क्षेत्रको अध्ययन गरिरहेको पराजुलीले जानकारी दिए। 

विराटनगर–१८ भेडियारीस्थित विराट राजाको दरबारमा महाभारत कालमा पाण्डवहरू गुप्तबास बसेको किम्बदन्ती छ। 

दरबार क्षेत्रमा पुराना माटाका सामग्रीहरू भेटिएका छन्। थप खोज र अनुसन्धान नभए पनि यस स्थानलाई स्थानीयहरूले वर्षौंदेखि संरक्षण गर्दै आएका छन्।

राज्यले पूर्णरूपमा बेवास्ता गरेको दरबार क्षेत्रलाई स्थानीय र प्रदेश सरकारले संरक्षणका लागि पहल गरिरहेका छन्। महानगरपालिकाले दरबार पुनःनिर्माणका लागि काम अघि बढाइसकेको छ। प्रदेश सरकारले पनि विराट राजाको दरबार क्षेत्र संरक्षणका लागि बजेट विनियोजन गरेको छ। 

महानगरपालिकाको पहलमा पुरातत्त्व विभागले हाल विराट राजाको दरबार क्षेत्रको अध्ययन गरिरहेको अध्ययन टोलीमा संलग्न महानगरपालिकाका इन्जिनियर अर्जुन थापाले बताए। उनका अनुसार पुरातत्त्व विभागबाट पुरातत्त्वविदहरूको समूहले तीन पटक स्थलगतरूपमा नै अध्ययन गरिसकेको छ। पुरातत्व विभागबाट पुरातत्वविद् प्रकाश दर्नाल, उनममान प्रधान, पुरुषोत्तम डंगोल लगायतले विराट राजाको दरबार क्षेत्रको अध्ययन गरिरहेको थापाले बताए। 

कस्तो होला दरबार ?

धेरै जनाको मनमा कौतुहलता होला– विराट राजाको दरबार कस्तो होला ? विराटनगरमा विराट राजाको दरबार हेर्न जो पनि उत्सुक हुन्छन् । तर, त्यहाँ पुगेपछि राजाको दरबारको हालत देखेर मन खिन्न पारेर फर्किनु पर्ने बाध्यता छ। 

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रदेश १ को प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले विराट राजको दरबार कस्तो होला भनेर हेर्न जाँदा दरबार त के भग्नावशेष पनि नभेटिएको गुनासो गरे। विराट राजाको दरबार हेरर फर्केपछि तत्काल दरबार बनाउन संसद बैठकदेखि सरकारले आयोजना गर्ने अन्य कार्यक्रमहरूमा उनी माग गर्दै आएका छन्। 

उद्योग, पर्यटन वन तथा वातावरण समितिको बैठकमा समेत राजभण्डारीले  तत्काल दरबार बनाउने प्रक्रिया थाल्न दबाब दिँदै आएका छन्। 

राजभण्डारीले मात्रै हैन, पर्यटनको विषयमा विराटनगरमा आयोजना हुने अधिकांश छलफलमा विराट राजाको दरबारको विषयले महत्त्व पाउँछ। 

विराट राजाको दरबार संरक्षण गर्न र दरबार बनाउन स्थानीयले वर्षौंदेखि माग गर्दै आएका छन्। महानगरपालिकाले विराट राजाको दरबार बनाउने अग्रसरता देखाए पनि दरबार कस्तो बन्ने भन्ने अझै निक्यौल भइसकेको छैन। दरबार बनाउने विषयमा पुरातत्त्व विभागले नै स्वीकृति दिनुपर्ने हुन्छ।

विभागको पुरातत्त्वविदको टोलीले दरबार कस्तो थियो भन्ने ठहर गरेपछि मात्रै दरबारको नक्सा बनाउने लगायतका काम सुरू गर्ने महानगरपालिकाका इन्जिनियर अर्जुन थापाले बताए। उनले भने, ‘पुरातत्त्वविदहरूले दरबारको बनोटका विषयमा निर्णय गरेपछि  मात्रै हामी दरबारको डिजाइन र नक्सा बनाउन सुरू गर्छाैं।’ 

हाल विराट राजाको दरबार कस्तो थियो भन्ने विषयमा पनि छलफल भइरहेको उनले बताए। विराट राजाको दरबार क्षेत्रको संरक्षणका लागि गुरुयोजना निर्माणको तयारी पनि भइरहेको थापाले जानकारी दिए। विराट राजाको दरबार पुनःनिर्माण गर्ने मात्रै हैन,  विराट राजाको दरबार क्षेत्रलाई विश्व सम्पदा संरक्षण सूचीमा सूचीकृत गराउनसमेत पहल भइरहेको महानगरपालिकाका मेयर पराजुलीले बताए। 
 

२३ मंसिर, २०७७, ०६:४५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।