धान उत्पादन बढ्यो 

धान उत्पादन बढ्यो 
विराटनगर १९, बैजनाथपुरमा धान थन्क्याउँदै किसान। 

निर्देशनालयकी सूचना अधिकारी सरस्वती श्रेष्ठका अनुसार आर्थिक वर्ष ०७७÷७८ मा प्रदेश १ मा १३ लाख ११ हजार २४५ मेट्रिक टन धान उत्पादन भएको छ।

गत वर्ष ११ लाख ९८ हजार ७४० मेट्रिक टन धान उत्पादन भएको थियो। समयमै वर्षा भएकाले धान उत्पादनको क्षेत्रफल बढेको, मौसम अनुकूल भएको र रोग किराको प्रकोप पनि कम भएकाले धान उत्पादन बढेको हो।

‘मौसम अनुकुल भएकाले यो वर्ष प्रदेश १ मा  ९ प्रतिशतले धान उत्पादन बढेको अनुमान गरिएको छ,’ श्रेष्ठले भनिन्।

उनका अनुसार गत वर्ष ३ लाख २० हजार ६३४ हेक्टर क्षेत्रफलमा धान रोपाइँ गरिएकोमा यो वर्ष ३ लाख ३२ हजार ९१७ हेक्टरमा धान रोपाइँ गरिएको थियो।

प्रदेश १ मा कूल ३ लाख ४० हजार ८२९ हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको निर्देशनालयले जनाएको छ। 

कुन जिल्लामा कति उत्पादन ? 

प्रदेश १ को तराईका तीन जिल्लामा मात्रै यो वर्ष ९ लाख ९५ हजार ३७७ मेट्रिक टन धान उत्पादन भएको छ। झापामा ४ लाख १५ हजार ६२५, मोरङमा ३ लाख ४९ हजार ६० र सुनसरीमा २ लाख ३० हजार ६९२ मेट्रिक टन धान उत्पादन भएको छ।

मध्य पहाडका ८ जिल्लामा २ लाख ५५ हजार १५२ मेट्रिक टन धान उत्पादन भएको छ, जसमा पाँचथरमा २२ हजार ३१८, इलाममा ५१ हजार ५१६, भोजपुरमा ३९ हजार ११७, तेह्रथुममा २१ हजार १८७, धनकुटामा २३ हजार ४२९, उदयपुरमा ५४ हजार ८५८ ओखलढुंगामा १३ हजार २०९ र खोटाङमा २९ हजार ३४२ मेट्रिक टन धान उत्पादन भएको छ। 

यस्तै, उच्च पहाडी ३ जिल्लामा ६० हजार ७१४ मेट्रिक टन धान उत्पादन भएको छ, जसमा ताप्लेजुङमा २१ हजार ८२, संखुवासभामा ३६ हजार १२ र सोलुखुम्बुमा ३ हजार ६२० मेट्रिक टन धान उत्पादन भएको छ। 

प्रदेश १ को तराईका जिल्लामा उत्पादकत्व प्रतिहेक्टर ४.५२ मेट्रिक टन छ। यस्तै, मध्य पहाडी जिल्लामा २.८७ र उच्च पहाडी जिल्लामा २.५६ मेट्रिक टन  रहेको निर्देशनलायले जनाएको छ। 

२२ मंसिर, २०७७, ०६:३०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।