प्लाज्मा चाहियो, मोवाइल एप्समा खोज्नुस्

प्लाज्मा चाहियो, मोवाइल एप्समा खोज्नुस्
फोटो : मोवाइल एप्सको उद्घाटन गर्दै विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीलगायत।

विराटनगर : कोरोना संक्रमितको उपचारका लागि प्लाज्मा चाहिए मोवाइलबाटै खोज्न सकिने भएको छ। विराटनगर महानगरपालिकाले प्लाज्मा आवश्यक भए तत्कालै पाउन मोवाइल एप्सको व्यवस्था गरेसँगै मोवाइलबाटै आवश्यक प्लाज्मा खोज्न सकिने भएको हो।

विराटनगर महानगरपालिकाले मंगलबार सार्वजनिक गरेको ‘प्लाज्मा बैंक विराटनगर’ नामक एप्सको माध्ययमबाट आवश्यक प्जाज्माको बन्दोवस्त गर्न सकिने विराटनगर महानगरपालिकाले जनाएको छ।

मोवाइलको प्लेस्टोरबाट डाउनलोड गरेर वा विराटनगर महानगरपालिकाको वेवसाईट खोलेर एप्स डाउनलोड गर्न सकिने छ।
एप्स निर्माता पाश्चर घिमिरेले कोरोना संक्रमित विरामीको उपचारका लागि सहज रुपमा प्लाज्मा उपलब्ध गराउन सकियोस् भन्ने उद्देश्यले एप्स निर्माण गरिएको जानकारी दिए।

उनका अनुसार एप्समा प्लाज्मा दान गर्न चाहनेले आफ्नो विवरण भरेर प्लाज्मा दिन सक्ने छन्। दान गर्न चाहनेले एप्स खोलेर प्राप्त हुने फारममा आफ्नो नाम, ठेगाना, कोरोना नेगेटिभ आएको मिति, व्लड ग्रुप, उमेर, फोन नम्बर स्वाव टेष्ट गरेको मितिलगायतका विवरण भर्नु पर्ने छ।

यस्तै प्लाज्मा चाहिनेले आफ्नो, नाम ठेगाना, व्लडग्रुपलगायतका विवरण भर्नु पर्नै हुन्छ। कोरोना नेगेटिभ आएको ३० दिन भित्र प्लाज्मा दान गर्न सकिने विराटनगर महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिए।कार्कीका अनुसार कोरोना नेगेटिभ आएको ३० दिन पछि प्लाज्मा दान गर्न मिल्दैन।

कोरोना नेगेटिभ आएका व्यक्तीहरूको विवरण मोवाइल एप्समा राखिने र ३० दिन पछि उनिहरूको विवरण एप्सबाट स्वत हट्ने व्यवस्था गरिएको उनले जानकारी दिए। कोरोना नेगेटिभ आएको २२ दिन पुगेका व्यक्तिहरूलाई महानगरपालिकाले नै वोलाएर रक्त दान गर्न अनुरोध गर्ने तयारी पनि गरेको छ।

यसरी रक्तदानबाट संकलन भएको प्लाज्मा नेपाल रेडक्रस सोसाईटीको व्लडबैंकका राखिने कार्कीले बताए।
‘संक्रमित व्यक्तीले रिपोर्ट नेगेटिभ आएको ३० दिन भित्र प्लाज्मा दान दिन सक्ने र यसरी दान दिएको प्लाज्मा ब्लड बैंकका राखेर २ महिनासम्म प्रयोग गर्न सकिने छ ’कार्कीले भने।

उनका अनुसार महानगरपालिकाले मोवाइल एप्समा दाताहरूको विवरण राखिसकेपछि वेल वेलामा रक्तदान कार्यक्रमको आयोजना गरी प्लाज्मासमेत संकलन गरिने छ।

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले कोरोना संक्रमितको उपचाका लागि प्लाज्माको अभाव भएको गुनासो आएकाले प्लाज्मा अभाव हुन नदिन मोवाइलबाटै खोज्न सकिने गरी मोवाइल एप्स निर्माण गरिएको बताए।

एप्समा कोरोना संक्रमणबाट मुक्त भएका व्यक्तिहरू र प्लाज्मा दान गर्न चाहनेको बिबरण राखिने भएकाले कसैलाई आबश्यक परे तत्कालै एप्स खोलेर व्यक्तिगत रुपमै पनि फोन गरेर प्लाज्मा माग्न सक्नेछन्।

यदि व्यक्तिगत सम्पर्कबाट प्लाज्मा नपाईए विराटनगर महानगरपालिकाले नै व्लड बैंक वा अन्य व्यक्तिहरूबाट प्लाज्माको व्यवस्था गरिदिने पराजुलीले बताए । प्लाज्माको अभाव हुन नदिन महानगरपालिकाले वेला वेलामा रक्तदान कार्यक्रमको आयोजना गरेर प्लाज्मा संकलन गर्ने र ब्लड बैंकमा राख्ने योजान पनि बनाएको उनले बताए।

उनका अनुसार प्लाज्मा रगत संकलनका लागि यसै साता भित्रमा महानगरपालिकाले रक्तदान कार्यक्रमको आयोजना गर्दैछ।
 

१६ मंसिर, २०७७, १९:३३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।