कामदार अभावमा इँटा उद्योग प्रभावित

कामदार अभावमा इँटा उद्योग प्रभावित

जनकपुरधाम : दक्ष कामदार (पथेरी) अभावमा प्रदेश २ का इँटा उद्योग अलपत्र परेका छन्। लामो समयको बन्दाबन्दीले थलिएको इँटा उद्योग अहिले कामदार अभावमा बन्द हुने अवस्थामा पुगेको व्यवसायीहरूले गुनासो गरेका छन्।

इँटा उत्पादन गर्ने सिजन सुरू भइसके पनि भारतीय मजदुर नेपाल आउने अवस्था नभएपछि प्रदेश २ का अधिकांश इँटा उद्योगले उत्पादनलाई सीमित पारिएको जनकपुर अञ्चल इँटा व्यवसायी संघका अध्यक्ष विनय यादवले बताए। ‘कामदार नपाएपछि व्यवसायीहरू ऋण थेग्न नसकेर बन्द गर्ने सुरसारमा छन्,’ उनले भने, ‘कतिपय उद्योगमा कामदार भए पनि न्यून संख्यामा रहेकाले उत्पादन क्षमता घटाइएको छ।’

देशमा इँटा उद्योग आत्मनिर्भर रहे पनि त्यसमा काम गर्ने जनशक्तिको लागि भारतकै भर पर्नुपरेको उनको भनाइ छ। भारतीय मजदुरमा निर्भर यहाँका ईटा उद्योग भारतबाट मजदुर आउने अवस्था नभएपछि सञ्चालन एवं उत्पादन गर्न कठिनाई भएको उनले जानकारी दिए।

यादवका अनुसार प्रदेश २ मा करिव ६ सय इँटा उद्योग छन्। ९० प्रतिशतभन्दा बढी उद्योगमा भारतीय मजदुर काम गर्छन्। प्रदेश २ को ४० प्रतिशत इँटा उद्योग कामदार अभावमै बन्द हुने स्थितिमा छ भने ६० प्रतिशत उद्योगले उत्पादन क्षमता घटाएका छन्।

सरकारलाई सीमा नाका खुला गर्न ताकेता गर्दा श्रम स्वीकृत गरेर कामदार भारतबाट ल्याउनु सर्त राखेको जनाए। ‘भारतबाट श्रम स्वीकृति लिएर कामदार ल्याउन सम्भव नै छैन,’ उनले भने, ‘श्रम स्वीकृति गराउन प्रतिव्यक्ति १५ हजार रूपैयाँको दरले खर्च हुन्छ। त्यो पैसा व्यवसायीले लगानी गर्नुपर्छ। कामदार पैसा तिरेर नेपाल आउन चाहेको छैन।’ देशमा सरकारले व्यवसायीलाई प्रोत्साहन नगरी हतोत्साहित गरी रहेको उनले तर्क गरे।

प्रदेश २ मा इँटा उद्योगको लागि वर्षेनी ६० हजार कामदार भारतबाट आउने गरे पनि लुकिछिपि चालु सिजनमा अनुमानित १२ हजार कामदार आएको उनको आँकलन छ।

काठमाडौंलगायत अन्य क्षेत्रको इँटा उद्योग बन्द काम गर्ने मजदुरहरू प्रदेश २ मा काम गरिरहेको छ। सञ्चालनमा रहेको अधिकांश उद्योगमा स्वदेशी कामदारहरूले काम गरिरहेको उनले बताए।  

इँटा उद्योगले हिउँदको सिजनमा मात्रै इँटा बनाउने गर्छन्। इँटा उद्योगमा दक्ष र अदक्ष दुवै किसिमका मजदुर भारतको विहार राज्यबाट आउने गर्छन्। इँटा उद्योगीले पहिले नै एक सिजनको रकम भुक्तानी गरेपछि उनीहरू स–परिवार आवासीयरूपमा उद्योगमा काम गर्न आउने गरेको अर्का व्यवसायी बिर्जु यादवले बताए।

उनका अनुसार विगत वर्षमा भदौ अन्तिमदेखि असोज भित्रमा उनीहरू उद्योगमा आएर काम गर्ने र वैशाखमा घर फर्कने गर्थे। तर, यो वर्ष भारतीय मजदुर उद्योगमा काम गर्न मंसिर दोस्रो सातासम्म पनि आएका छैनन्।

‘मजदुर ल्याउन घरमै सवारी पठाउनुपर्छ। तर, सरकारले सीमानाका बन्द गरेको छ,’ उनले भने, ‘भारतबाट सरकारले कामदार ल्याउने विकल्प दिन सरकारलाई पटक–पटक ताकेता गर्दा पनि सुनवाई भएको छैन।’

कामदार अभावलाई पूर्ति गर्न ४ लाख रूपैयाँमा माटो मुछ्ने मेसिन खरिद गरेको उनले सुनाए। गत वर्ष उनको उद्योगमा ९० जना कामदार थिए। अहिले १७ जना मात्रै रहेको उनले बताए।

कामदार अभावमा आवश्यकता अनुसार इँटा उत्पादन गर्न नसकेको उनले जानकारी गराए। कोरोना महामारीले वैदेशिक रोजगारीमा गएकाहरू घर फर्किएपछि इँटाको बिक्री पनि कम भएको उनले बताए।

निर्माण व्यवसायी संघ, धनुषाका सदस्य नवनित झा अहिलेसम्म इँटा अभाव नदेखिए पनि उद्योग बन्द भएपछि अभाव हुने बताए। विगतभन्दा इँटाको मूल्य बढेको भन्दै इँटा अभावको गुनासो कतैबाट नआएको उनले जानकारी दिए। इँटा उद्योगलाई सरकारले विकल्प दिनुपर्ने उनको माग छ। समयमै सीमा नाका खुकुलो नपारिए भविष्यमा इँटा अभावकै कारण विकास निर्माणसमेत प्रभावित हुने उनले बताए। 

१६ मंसिर, २०७७, १२:५८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।