छाडा चौपायालाई टल्किने स्टिकर 

छाडा चौपायालाई टल्किने स्टिकर 
विराटनगरका सडकमा छाडिएका चौपायालाई घाँटीमा स्टिकर लगाउँदै ट्राफिक प्रहरी। 

विराटनगर : ट्राफिक प्रहरी कार्यालय, मोरङले धेरैजसो दुर्घटना हुने स्थान विराटनगरदेखि दुहवी खोलाको पुलसम्मको सडकमा छाडिएका छाडा चौपायालाई स्टिकर टाँस्न थालेको छ।

छाडा चौपाया नियन्त्रण गर्न नसकेर हैरान बनेको ट्राफिकले अन्ततः सडकका चौपायाको घाँटीमा स्टिकर टाँस्न थालेको हो। जिल्ला ट्राफिक प्रहरी कार्यालय, मोरङका प्रमुख राकेश पौद्दारले छाडा चौपाया पनि दुर्घटनाको कारण भएकाले चौपायाको  घाँटीमा स्टिकर टाँस्न थालिएको जानकारी दिए।

बत्तीको उज्यालो परेपछि स्टिकर टल्कने भएकोले दुर्घटना कम गर्न सहयोगी हुने विश्वास ट्राफिक प्रहरीको छ। सडकका छाडा चौपाया, साइकल, ट्याक्टर र सडक डिभाइडरमा समेत टल्कने स्टिकर टाँस्ने अभियान चलाएको पौद्दारले बताए। 

ट्राफिक प्रहरीले चालकलाई प्रशिक्षण, टिपरलाई टाइमकार्ड लागू गरे पनि दुर्घटना कम भएको छैन। विराटनगर–धरान ६ लेन सडक विस्तार भएसँगै यो सडकमा सवारी दुर्घटना बढेको छ। सडक फराकिलो भएसँगै सडकमा सवारीका साधनले गति तीव्र पार्न थालेपछि  दुर्घटना बढेको हो।

विगतमा साँघुरो सडकका कारण सवारी चापले गति कम हुने गरेको थियो। तर, यतिवेला सडक फराकिलो भएको छ। सडकका खाल्डाखुल्डी पुरिएका छन्। त्यही कारण यो सडक खण्डमा गुड्ने सवारीका साधनहरूले गति तीव्र पारेका छन्।

लामो दूरीका सवारी र ठूला सवारी साधनहरूले समेत गति बढाउन थालेपछि स्थानीयसमेत त्रसित छन्। ‘सवारी साधनले यतिधेरै गति बढाउन थालेका छन् की कतिवेला गाडी घरतिर छिर्ने हो भन्ने त्रास हुन थालेको छ,’ विराटनगर–३, का शिव ठकुरीले भने। 

दिनहुँ दुर्घटनाका दृश्य देखेर र सुनेर स्थानीयसमेत हैरान भइसकेका छन्। सडक बिस्तार भएसँगै बाटो काट्ने क्रममा धेरै दुर्घटना हुने गरेको छ।

बाटो काट्न जेब्रा क्रस समेत नभएकाले कतिबेला गाडीले हान्ने हो टुंगो नभएको विराटनगर–३ कै गीता भट्टराई बताउँछिन्। उनले भनिन्, ‘अत्यधिक गतिमा गाडी हुइँकिने गरेकाले कतिबेला गाडीले हान्ने हो टुंगो छैन।’ 

सानादेखि ठूला मालबाहक सवारी साधनले समेत गति बढाएका छन्। साना अटो ट्याम्पुदेखि ठूला, बस, ट्रक र लरीहरूसमेत तीव्र गतिमा हुइँकिने गरेका छन्।

सडक दुर्घटना कम गर्न ट्राफिक प्रहरीले अनेक उपाय लगाउँदासमेत पार लागेको छैन। ट्राफिक प्रहरी कर्यालय, मोरङका अनुसार विराटनगरदेखि दुहवी पुलसम्मको १४ किलोमिटर सडकमा मात्रै ५ जनाको मृत्यु भएको छ। ३० वटाभन्दा बढी सवारी दुर्घटना भइसकेका छन्। दुर्घटनामा परेर ४५ जना मानिस घाइते भएका छन्। 

पालना हुँदैन मापदण्ड

सहरी क्षेत्रमा २० किलोमिटर प्रतिघण्टाका दरले सवारी साधन सञ्चालन गर्नुपर्ने मापदण्ड तोकिएको भए पनि विराटनगरमा सवारी चालकहरूले मापदण्डको ख्याल राख्ने गरेका छैनन्। सुनसरीको दुहवी खोला कटेर मोरङ प्रवेश गरेलगत्तै सवारी चालकहरूले गति बढाउने गरेका छन्। 

ट्राफिक प्रहरीले मापदण्ड पालना गराउन विभिन्न किसिमका अभियान सञ्चालन गरिरहेको छ। ट्राफिकले नम्बर प्लेट मेटिएका सवारी साधनलाई सडकमै नयाँ नम्बर लेख्ने अभियान चलाएको छ। यस्तै, अन टेस्ट लेखेर नयाँ सवारी चलाउन पनि  रोक लगाएको छ।

यति मात्रै हैन, राडर गनको माध्यमबाट सवारीको गतिसमेत पत्ता लगाउने र तीव्र गतिमा सवारी चलाएको पाइए कारबाही गर्दै आएको ट्राफिक प्रहरी कार्यालय, मोरङले जनाएको छ। तर, ट्राफिकको आँखा छलेर सवारी चलाउने क्रम नरोकिँदा ट्राफिक प्रहरीको प्रयास सफल बन्न सकेको छैन। 

१६ मंसिर, २०७७, ०६:२६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।