मिथिलामा मखानाको माग

मिथिलामा मखानाको माग

जनकपुरधाम : जनकपुरधाम-४ की मेनकाले बजारबाट दुई किलो मखाना किनिसकेकी छन्। कोजाग्रत पूर्णिमाका दिन जानकी मातालाई चढाउन र घरमा खिर खानका लागि मखाना किनेको उनले बताइन्। 

उनकी छिमेकी शोभा पनि एक किलो मखाना किन्न जनकपुरधामको जानकी चोकमा पुगेकी थिइन्। 

यी त उदाहरण मात्र हुन्, पछिल्लो समय मिथिलामा मखानाको माग बढेको छ। 

कोजाग्रत पूर्णिमाका बेला मखानाले पूजा गर्नुका साथै खिर बनाएर खाने मिथिलामा परम्परा छ। यसलाई हिन्दू धर्मशास्त्रमा देवताको खाना पनि भनिएको छ। 

राष्ट्रिय जनता पार्टीका महासचिव राजीव झाले आफू दसैंअघि नै मखाना किनिसकेको बताए। दसैं बेला यसले पूजा गरेको साथै कोजागराका लागि पनि राखेको उनले बताए।

मिथिलाको पहिचानको विषयमा भनिन्छ- ‘पग-पग पोखरी, माछ मखान’ अर्थात यस क्षेत्रको पहिचान पोखरी, माछा र मखानासँग जोडिएको छ। 

जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले मिथिलामा कुनै पूजा हुँदा मखाना अनिवार्य रूपमै राख्नुपर्ने बताए। 

परबाट हेर्दा फूल उठेको मकैजस्तो देखिन्छ मखाना। मखाना पोखरी वा तालको शान्त पानीमा उम्रने गर्छ।

पोषकतत्वले भरिपूर्ण यो तराई क्षेत्रमै बढी उत्पादन हुने गरेको छ। स्थानीय उत्पादन भएकाले पनि पूजामा यसको वढी प्रयोग हुने गरेको जानकी मन्दिरका उत्तराधिकारी महन्थ दासले बताए।

कोजाग्रात पूर्णिमाका दिन महोत्तरीको रतौलीवाट रामजनकीका लागि पाहुर आउने परम्परा रहेको छ, त्यसमा पनि मखाना अनिवार्य राखिन्छ। कोजाग्रात पूर्णिमामा मिथिलामा नवविवाहित युवकहरूको घरमा उत्सव नै हुने गर्छ। 

युवकको ससुराबाट पाहुर आउने गर्छन्, त्यसमा पान र मखाना अनिवार्य राख्ने गरिएको मैथिल ब्राह्मण समाजका अध्यक्ष भगवान झाले बताए। त्यसकारण मखानाको महत्त्व रहेको उनको भनाइ छ। 

मखानाको माग वढेकाले जनकपुरधाम विभिन्न स्थानमा यसको पसल नै खोलिएको छ। मखानाको माग वर्षभरी हुने गर्छ। तर, कोजाग्रात पूर्णिमाका दिन बढी हुने भएकाले सडक छेउमै बजार लगाइएको जनकपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष जितेन्द्रप्रसाद साहले वताए।

स्वास्थ्यका लागि लाभदायक 

मखाना नियमित रूपमा खाने गरे मुटु र मृगौलालाई फाइदा गर्ने आयुर्वेदका जानकार बताउँछन्। 

यसमा प्रोटिन, भिटामिन, फाइबर, म्याग्नेसियम, फोस्फोरस, आइरन, जिंकजस्ता खनिज र पोषक पदार्थ हुने गरेको पतञ्जली योगपीठका आचार्य वालकृष्णको पुस्तकमा उल्लेख छ। मखानामा ९.७ प्रतिशत प्रोटिन, ७६ प्रतिशत कार्बोहाइड्रेट, १२.८ प्रतिशत मोइस्चर, ०.१ प्रतिशत बोसो, ०.५ प्रतिशत खनिज, लवण, ०.९ प्रतिशत फोस्फोरस र प्रति १०० ग्राम १.४ मिलिग्राम आइरन पाइन्छ। 

मखानालाई ‘अर्गािर्नक हर्बल’ भनिन्छ। किनभने यसलाई रासायनिक मल वा कीटनाशकको उपयोगबिनै उमारिन्छ।

यसलाई आफ्नो आहारामा नियमितरूपमा उपयोग गर्न सके थुप्रै फाइदा हुने चिकित्सक बताउँछन्। यस्तै,  मखानाको नियमित सेवनले रक्तचाप नियन्त्रणमा हुन्छ। शरीरमा कोलेस्ट्रोलसमेत बढ्न पाउँदैन। 

यस्तै, मखानाको नियमित सेवानबाट वीर्यको गुणस्तर र मात्रा बढ्दै जान्छ, शीघ्रपतनलाई रोक्छ। कामेच्छा बढाउँछ। महिलाको बाँझोपन हटाउन पनि यो सहयोगी मानिन्छ। मखानामा क्याल्सियम प्रशस्त मात्रामा हुन्छ। यसैले यो खाने गरे जोर्नीको दुखाइ, गठियाजस्ता रोग नलाग्ने चिकित्सक बताउँछन्। यसमा प्रशस्त एन्टिअक्सिडेन्ट हुन्छ, जुन सबै उमेर समूहका लागि सजिलै पच्ने खालको हुन्छ। यसको सेवनले पाचन प्रणालीसमेत सुध्रिँदै जान्छ।

चिकित्सकका अनुसार मखानाले हाम्रो विषाक्तता घटाउने काम गर्छ। यसमा गुलियोपना निकै कम हुन्छ। यसले मृगौलालाई बलियो बनाउँछ। रगतलाई सफा पार्न सघाउँछ। मखाना खाइरहे तनावको समस्या पनि हुन पाउँदैन। निद्रा राम्ररी लाग्छ। यसले कपाललाई समेत बाक्लो र कालो राख्न सघाउँछ।

मखानाको उत्पादन प्रसंग

मखाना पोखरी वा तालको शान्त पानीमा उम्रने गर्छ। धनुषा, महोत्तरी, सिरहा, सप्तरी, सुनसरी,मोरंग, वारा, पर्सा लगायत तराईको अधिकांश जिल्लामा उत्पादन हुन्छ। तर, उत्पादन पहिलेभन्दा घटेको छ।

 

मखाना उत्पादनका लागि सरकारको कुनै योजना नहुँदा किसान यसतर्फ आकर्षण हुन नसकेको महोत्तरीको मटिहानी नगरपालिकाका मेयर हरिप्रसाद मण्डलले बताए। 

मखाना अनुसन्धान केन्द्र, भारतका निर्देशक डा. राजवीर शर्माले नयाँ तरिकाबाट मखानाको उत्पादन बढेको बताउँछन्। 

मखानाको खेती पारम्परिक रूपले पोखरीमा हुने गर्छ। तर, अनुसन्धान केन्द्रका वैज्ञानिकहरूले नयाँ जात ‘स्वर्ण वैदेही’ विकसित गरेका छन्, जसको जमिनमा पनि खेती गर्न सकिन्छ।

मखाना अनुसन्धान केन्द्रका निर्देशक डा. शर्माले अब खेतमा पनि एक फिट पानी राखेर पनि मखाना उत्पादन गर्न सकिने बताए। सामान्यतया मखानाको फसल तयार हुन ८ महिना लाग्छ। तर, यस जातको मखाना त्योभन्दा कम समयमै उत्पादन गर्न सकिन्छ। र, यसबाट उत्पादनमा पनि वृद्धि हुन्छ। 

नेपाली किसानलाई पनि आधुनिक रूपले उत्पादन गराउनतर्फ सरकारले योजना ल्याउनु पर्ने आवश्यक छ। 

१५ कात्तिक, २०७७, ०७:३५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।