परशुराम तलाउ सौन्दर्यीकरण अभियान 

परशुराम तलाउ सौन्दर्यीकरण अभियान 

धनुषाको सदरमुकाम जनकपुरको पूर्व–दक्षिण क्षेत्रस्थित पुरनदाहा गाउँमा रहेको तलाउ सुन्दर बनाउन संघीय र प्रदेश सरकारले अभियान थालेका हुन्। यसका लागि संघीय सरकारले १० करोडभन्दा बढी रूपैयाँको डिपिआर बनाएको छ।

यस्तै, प्रदेश २ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव डा. रामचन्द्र कँडेलले परशुराम तलाउ संरक्षणका लागि प्रदेश सरकारले २० लाख रूपैयाँ छुट्याएको बताए। यसमा रकम थप गरिने उनले जानकारी दिए। 

तलाउ क्षेत्रमा स्थानीय युवाहरूले प्रत्येक हप्ता सरसफाइ गर्छन्। परशुराम संरक्षण समितिका संयोजक झगरु मण्डलले १७२ सप्ताहदेखि प्रत्येक हप्ताको शनिबार सरसफाइ गर्ने गरेको बताए। 

सरसफाइसँगै त्यस क्षेत्रमा वृक्षरोपण पनि गर्ने गरिएको छ। तलाउ क्षेत्रमा वृक्षरोपण गर्न पुगेका प्रदेश २ का मुख्यसचिव अर्जुनप्रसाद पोखरेलले यसलाई नमुना स्थलको रूपमा विकास गर्ने तयारी भइरहेको बताए। 

तलाउ अवलोकन गर्न पर्यटक आउने गरेको स्थानीय बताउँछन्। तालको सुन्दरता जोगाउन सके पर्यटक बढ्न सक्ने  उनीहरुको भनाइ छ। 

ताल क्षेत्रमा भगवान परशुरामको मूर्ति स्थापनासमेत भइरहेको छ।

परशुरामबारे किंवदन्ती 

हिन्दू धर्मग्रन्थ अनुसार परशुरामलाई भगवान् विष्णुका १० मुख्य अवतारहरूमध्ये छैठौं अवतार मानिएको छ।

परशुरामको मुख्य हतियार परशु (बञ्चरो) भएकाले उनको नाम परशुराम रहेको मानिन्छ। परशुरामले २१ पटक पृथ्वीका क्षत्रियहरूको संहार गरेको धार्मिक ग्रन्थहरूमा उल्लेख छ। 

भगवान परशुरामको मिथिलासँग नजिकको सम्बन्ध रहेको विभिन्न ग्रन्थहरूमा लेखिएको छ। मिथिलाका राजा जनकसँग उनको अत्यन्त नजिकको सम्बन्ध रहेको थियो। सीता स्वयंवरको बेला पनि भगवान परशुराम जनकपुरधाम आएको रामायणमा उल्लेख छ। त्यसबेला भगवान परशुराम र भगवान राम बीच संवाद भएको थियो। 

त्रेतायुगमा भगवान रामसँगको मिलनपछि परशुरामको तेज रामले आफूमा लगेर परशुरामलाई सामान्य ऋषिको रूपमा राखेको ग्रन्थहरूमा उल्लेख रहेको संस्कृतिविद चन्द्रमोहन झा पड़वाले बताउँछन्।

हिन्दू धर्मग्रन्थ अनुसार रामचन्द्रद्वारा शिवको धनुष भाँचेकोमा परशुराम क्रुद्ध भएर आएका थिए। उनले परीक्षाको लागि शिव–धनुष रामचन्द्रलाई दिए। जब रामले धनुषमा ताँदो चढाए तब परशुरामले रामचन्द्र विष्णुको अवतार रहेको थाहा पाए। त्यसपछि परशुराम रामको वन्दना गरेर तपस्या गर्न गए। भगवान परशुराम महेन्द्र पर्वतमै विश्राम गर्ने गरेको धार्मिक ग्रन्थहरूमा उल्लेख छ। 

परशुरामले आफ्नो जीवनकालमा अनेक यज्ञ गरेका थिए। यज्ञ गर्नको लागि उनले ३२ हाथ अग्लो सुनको वेदी बनाएका थिए। 

महर्षि कश्यपले दक्षिणामा पृथ्वीसहित त्यो वेदी लिए। र, परशुरामसँग पृथ्वी छोडेर जान भने। त्यहीकारण परशुरामले समुद्रलाई पछाडि हटाएर गिरिश्रेष्ठ महेन्द्र गिरिमा निवास गरेकोे धार्मिक ग्रन्थमा उल्लेख छ।

११ कात्तिक, २०७७, ००:२९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।