लहठी बालामा मिथिला चित्रकला

लहठी बालामा मिथिला चित्रकला

जनकपुरधाम : फेसन संसार पनि विचित्रको छ। कहिले कस्तो फेसन चल्छ पत्तै हुँदैन।

जनकपुरधाममा भने अहिले महिलाहरूबीच मिथिला चित्रकला कोरिएका लहठी बाला लगाउने फेसन चलेको छ। त्यहाँकी एक महिलाले लहठी बालामा मिथिला चित्रकला बनाएपछि यस क्षेत्रका महिलाबीच लहठी बालामा आकर्षण बढेको हो। 

जनकपुरधाम ५ कि रञ्जिता मण्डलले मिथिला चित्रकला भएको दुई जोडा लहठी किनेको बताइन्। मण्डलसँगै छिमेकी रतियादेवीले पनि मिथिला चित्रकला भएको लहठी बाला किनेकी छन्। 

उनले लहठी लगाउँदा अरुभन्दा फरक मात्रै होइन, आकर्षक देखिने गरिएको उनले बताइन्। 

अहिले बजारमा आउने अधिकांश महिलाले मिथिला चित्रकला कोरिएको लहठी र बाला लगाएको देख्न सकिन्छ। 

लहठी बालामा मिथिला चित्रकला बनाउने महिला हुन्, जनकपुरधाम २१, कुर्थाकी दीपा कर्ण। लहठीमा मिथिला चित्रकला बनाउन थालेपछि कारोवार ह्वात्तै बढेको उनले बताइन्। उनी १७ वर्षदेखि मिथिला चित्रकला बनाउन संलग्न छिन्।

उनकी आमा र हजुरआमा पनि चित्रकार थिइन्। उनकी हजुरआमालाई भारतको विहार सरकारले केही वर्षअघि सम्मानितसमेत गरेको थियो। 

उनी पेपर, कपडा, केनवास, कुट, माटाका भाडो, कुर्ती, सल (दोपट्टा), गमछी, भेस्ट, बेडसीटलगायतमा पनि आफ्नो चित्रकला देखाउँछिन्। लहठी बालामा चित्रकला बनाएपछि यसले छुटटै पहिचान दिइरहेको दीपाले बताइन्। 

दीपाका श्रीमान हिमांशु कर्णले मिथिला चित्रकला कोरिएका सामानको माग विदेश उच्च रहेको बताए। आफूहरूले यस्ता सामग्री विदेश पठाउन चाहेको उनको भनाइ छ। 

संस्कृतिविद् अशोक दत्तले मिथिला चित्रकलाको फाइदा कलाकारले लिन नसकेको बताए। उनले यस्ता सामग्रीको बजार व्यवस्थापनमा सहयोग गर्न सरकारसँग माग गरे। 

संस्कृतिविद् अशोक दत्तसँगै कलाकार दीपा कर्ण। 

नेपाल उद्योग वाणिज्य संघ, प्रदेश २ का अध्यक्ष शिवशंकर साह हिराले पनि हस्तकला व्यवसायलाई बढाउन सरकारको नीति नभएको बताए। 

जनकपुरधाममा लहठी बाला बिक्री भइरहे पनि त्योभन्दा बाहिर पठाउन नसकिरहेको दीपा बताउँछिन्। ‘यसमा सरकारले सहयोगको अपेक्षा गरेका छौं,’ उनले भनिन्। 

११ कात्तिक, २०७७, ०७:०१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।