सदा मृत्यु प्रकरण : प्रदेशसभालाई बुझाइयो अध्ययन प्रतिवेदन  

सदा मृत्यु प्रकरण : प्रदेशसभालाई बुझाइयो अध्ययन प्रतिवेदन  
फाइल तस्बिर।

प्रतिवेदनमा प्रादेशिक अस्पताल जनकपुर, क्वारेन्टिन स्थल र सामाजिक विकास मन्त्रालयको लापरबाहीका कारण राजु सदाको मृत्यु भएको ठहर गरिएको छ। 

प्रतिवेदनमा सामाजिक विकास मन्त्रालयसँग निरन्तर सम्पर्क गर्न खोज्दा फोन नउठेको र पत्र लेखी घटनाको सम्बन्धमा जानकारी माग गरिएकोमा सो सम्बन्धमा समेत कुनै जवाफ प्राप्त नभएको उल्लेख छ। साथै कोरोना भाइरस (कोभिड-१९) संक्रमणको महामारीबीच स्थापना गरिएको कोभिड अस्पतालको व्यवस्थापकीय पक्ष बलियो हुनुपर्ने र मानव स्वास्थ्य संवेदनशीलताप्रति गम्भीररूपमा प्रस्तुत हुनुपर्नेमा मन्त्रालय सशक्तरूपमा प्रस्तुत हुन नसकेको प्रतिवेदनमा औंल्याइएको छ। 

यस्तै, बिरामी आइसोलेसन बेडबाट झरेको घण्टौंपछि मात्रै स्वास्थ्यकर्मी पुगेको आरोप लागेकोमा सिसिटिभी क्यामेरा खराब भएकाले यकिन गर्न नसकिएको प्रतिवेदनमा उल्लेख छ। साथै प्रयोगशालाले बेलैमा पिसिआर रिपोर्ट उपलब्ध गराए बिरामीको स्वास्थ्य उपचार थप प्रभावकारी हुनसक्ने ठहरसमेत गरिएको छ। झाडापखाला लागेका बिरामीलाई बेलैमा औषधोपचार गराउनुपर्नेमा सो नभएको पाइएको प्रतिवेदनमा उल्लेख छ। 

कोभिडका बिरामीलाई लक्षित गरी बनाइएको अस्पतालमा रहँदा बिरामीका लागि प्रयोगशाला, एक्सरे, सीटी स्क्यान, भेन्टिलेटरको व्यवस्था नरहेको र अस्पतालका अनुसार सामाजिक विकास मन्त्रालयले सो सम्बन्धमा आवश्यक पहल नगरेकोले समग्रमा व्यवस्थापकीय पक्ष कमजोर रहेको देखिएको प्रतिवेदनमा औँल्याइएको छ।

कोरोना महामारीका कारण मुलुकबाहिरबाट आउने व्यक्तिहरूलाई यथोचित बासस्थानको व्यवस्था हुनुपर्नेमा सो सन्दर्भमा व्यवस्थापकीय पक्ष कमजोर रहेको प्रतिवेदनमा उल्लेख छ।

प्रदेशसभाको असार १४ गतेको बैठकले प्रादेशिक अस्पताल जनकपुरधाममा उपचारको क्रममा मृत्यु भएका धनुषाको हंसपुर नगरपालिका–७ का राजु सदाको घटनाबारे अध्ययन गरि प्रतिवेदन पेश गर्न विशेष समिति गठन गरेको थियो।

प्रदेशसभा कार्य सञ्चालन नियमावली २०७५ को नियम १५२ को उपनियम २ बमोजिम प्रदेश २ को प्रदेशसभाले प्रदेशसभा सदस्य रवीन्द्र बैठा धोबीको संयोजकत्वमा अध्ययन विशेष समिति गठन गरेको थियो। समितिको सदस्यमा प्रदेशसभा सदस्यहरू चमेलीदेवी दास, सरिताकुमारी साह, नरेश यादव र सावित्रीदेवी साह थिए।
 

४ कात्तिक, २०७७, १२:२०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।