मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी विधेयक सर्वसहमतिले पारित

मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी विधेयक सर्वसहमतिले पारित

जनकपुरधाम : प्रदेश २ को प्रदेशसभाबाट बहुप्रतिक्षित मानिएको मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी विधेयक सर्वसहमतिले पारित भएको छ।
 

सामाजिक विकासमन्त्री नवलकिशोर साहद्वारा पेश गरिएको उक्त प्रस्ताव सभाबाट सर्वसहमतिले पारित भएको हो। प्रस्ताव पारित भएसँगै प्रदेश २ सरकारले मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने बाटो खुलेको बताइएको छ।

हालको प्रादेशिक अस्पताल जनकपुरधामलाई यस प्रतिष्ठानअन्तर्गत राखि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान जस्तै अवधारणामा प्रदेश सरकारले मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान, जनकपुरधामको गठन गरेको छ।

जनकपुरधामस्थित प्रादेशिक अस्पताललाई विस्तार गरी सो अवधारणा लागू गरिने बताइएको छ। सामाजिक विकासमन्त्री साहको पहलमा ल्याइएको प्रस्तावमा प्रदेशसभा सदस्यहरूले सहमति जनाएपछि मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान बन्ने छाँटकाँट देखिएको छ।

प्रादेशिक अस्पताल जनकपुरधामलाई गाभ्ने गरि पारित गरिएको विधेयकले यस प्रदेशको स्वास्थ्य सेवामा ठूलो फड्को मार्ने विश्वास लिइएको छ।

३ कात्तिक, २०७७, १४:४१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।