श्रममन्त्री नै सन्तुष्ट छैनन् प्रधानमन्त्री रोजगार कार्यक्रमप्रति !

श्रममन्त्री नै सन्तुष्ट छैनन् प्रधानमन्त्री रोजगार कार्यक्रमप्रति !

काठमाडौं : श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले प्रधानमन्त्री रोजगार कार्यक्रमले रोजगार सिर्जना नगरेको बताएका छन्। 

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा भएको बैठकमा उनले राष्ट्रिय गौरवका आयोजनाका कार्यमा भन्दा चौतारो र सिँढी बन्नमा मात्र प्रधानमन्त्री रोजगार कार्यक्रम केन्द्रित रहेको भन्दै यसले स्वरोजगारको संख्या नबढेको बताए। 

उनले भने, ‘प्रधानमन्त्री रोजगार कार्यक्रमले चौतारो, सिँढी बनाउनभन्दा बाहेक राष्ट्रिय गौरवका आयोजनाहरू, सडक, घर, पोल निर्माण जस्ता काममा लगाई दिएको थियो भने राम्रो हुने थियो। अथवा त्यही कार्यक्रमलाई तालिममा लगाएका थियौं भने स्वरोजगारको संख्या बढ्ने थियो। तर हामीले चौतारो, सिँढी बनाउन सिक्यौ यो समाजको लागि आवश्यक भएपनि यो रोजगार सिर्जना गरेको होइन।’

उनले विदेशीले दिएको सहयोग भन्दैमा औचित्यहीन कार्यमा खर्च गर्न नहुने भन्दै त्यसको सहि सदुपयोग गर्नुपर्ने बताए।

उनले भने, ‘यसमा तरिका परिवर्तन गरौं। विदेशीले दिएको सहयोग हो भन्दैमा हामीले छर्ने काम नगरौँ। जसको औचित्य नै पुष्टि हुँदैन, जसले परिणाम नै निकाल्दैन त्यो स्थानमा खर्च नगरौँ। किनभने त्यो ऋण भएपनि अनुदान भएपनि हामीले नै लिएको हो। यसको सदुपयोग गर्नुपर्छ।’
 
मन्त्रालयले गरेको कारवाहीको आधारमा सफल र असफलको प्रश्न उठ्ने कुरा गलत भएको भन्दै आफूले म्यानपावर व्यवसायीहरूलाई कारबाही गर्नुपर्ने वातावरण सिर्जना नगर्न अनुरोध गरेका बताए।
  
विदेशमा रहेका उद्धारको पर्खाइमा बसेका, जेलमा रहेका, शव ल्याउन बाँकी रहेका सबै नेपालीहरूको अवस्थाको डाटा बोर्डमार्फत माग गरेको भन्दै यसको समाधानको लागि बोर्ड र मन्त्रालयले काम गरिरहेका उनको भनाइ छ। 

१३ बैशाख, २०८१, १८:३८:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।